Logo

समन्वय नगरी युटिलिटी मर्मत गर्दा नेपाल टेलिकमलाई समस्या, दर्जन स्थानमा सेवा अवरुद्ध

समन्वय नगरी युटिलिटी मर्मत गर्दा नेपाल टेलिकमलाई समस्या, दर्जन स्थानमा सेवा अवरुद्ध



काठमाडौं । सडक, खानेपानी, ढललगायत युटिलिटी पूर्वाधार निर्माण तथा मर्मतका कारण केहि स्थानहरुमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । शुक्रबार एक सूचना जारी गर्दै टेलिकमले हाल काठमाडौ उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, किर्तिपुर लगायत स्थानमा भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुगेको बताएको हो ।

टेलिकमले हाल आफ्ना सेवाग्राहीहरुलाई अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका संरचनासँग विभिन्न उपकरणहरु आवद्ध गरी सेवा दिईरहेको छ । तर, विभिन्न निकायहरुले समन्वय नगरी सडक, खानेपानी, ढल, विद्युत, लगायत निर्माण, मर्मत गर्दा टेलिकमका यस्ता पूर्वाधारमा समस्या आउने टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए । उनका अनुसार टेलिकमसँग समन्वय नै नगरी युटिलिटी मर्मत तथा निर्माणका कार्य गर्दा हजारौ ग्राहकहरु दूरसञ्चार सेवाबाट बञ्चित हुनुपरेको छ ।

यस्तै अवस्थालाई मध्यनजर गरी संरचना निर्माण वा विस्तारको क्रममा सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता रहेको उनले बताए । हाल सेवा अवरुद्ध भएका केहि स्थानमा तत्काल मर्मत सुरु गरिएको र केहि स्थानमा मर्मतको प्रकृतिअनुसार समय लाग्ने टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्