Logo

१ महिनामै १ लाख ४४ हजार जना घटे फोरजी सेवाग्राही, कुन कम्पनीका कति घटे ?

१ महिनामै १ लाख ४४ हजार जना घटे फोरजी सेवाग्राही, कुन कम्पनीका कति घटे ?



काठमाडौं । गएको मंसिर महिनामा नेपालमा फोरजी सेवा उपभोग गर्ने सेवाग्राहीको संख्या घटेको पाईएको छ । नेपाल दूरसंचार प्राधिकरणका अनुसार गएको कार्तिकको तुलनामा मंसिरमा फोरजी चलाउने ग्राहक १ लाख ४४ हजार २ सय ५१ जनाले घटेको पाईएको हो । प्राधिकरणको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआइएस) प्रतिवेदन अनुसार गत कार्तिकमा नेपालमा फोरजी सेवा उपभोग गर्ने सेवाग्राहीको संख्या १ करोड ८६ लाख २८ हजार ३ सय ४५ जना थियो । त्यसको एक महिना अर्थात मंसिरमा उक्त सेवा चलाउने सेवाग्राहीको संख्यामा गिरावट आएर १ करोड ८४ लाख ८४ हजार ९४ जना पुगेको देखिन्छ ।
यसरी घटेका सेवाग्राहीहरुमध्ये सबैभन्दा बढी ग्राही निजी क्षेत्रको सेवाप्रदायक एनसेलका ग्राहक घटेको देखिएको छ । प्राधिकरणका तथ्यांक अनुसार यस अवधिमा एनसेलका १ लाख ३० हजार ९ सय ९० जना ग्राहक घटेको भेटिएको हो । प्राधिकरणको तथ्यांक अनुसार गएको कार्तिकमा एनसेलको फोरजी सेवा चलाउने ग्राहकको संख्या ६९ लाख ५० हजार ६ सय १३ थियो । तर, मंसिर महिनासम्म पुग्दा कम्पनीको फोरजी सेवा चलाउनेको संख्या घटेर ६८ लाख १९ हजार ६ सय २३ पुगेको हो ।
यता यस अवधिमा सरकारी स्वामित्वको दूरसंचार कम्पनी नेपाल टेलिकमका सेवाग्राहीमा भने कुनै घटबढ नभएको देखिएको छ । गएको कार्तिकमा नेपाल टेलिकमको फोरजी सेवा चलाउनेको संख्या १ करोड १५ लाख ५० हजार १ सय ८१ थियो । मंसिरमा पनि सोही अनुसार फोरजी सेवाग्राही छन् ।

तर, यस अवधिमा अर्काे सेवाप्रदायक स्मार्ट टेलिकमका फोरजी सेवाग्राही भने घटेका छन् । दूरसंचार प्राधिकरणको एमआइएस प्रतिवेदन अनुसार १ महिनाको अवधिमा स्मार्ट टेलिकमका सेवाग्राहीहरु १३ हजार २ सय ६१ जना घटेका छन् । गएको कार्तिकमा १ लाख २७ हजार ५ सय ५१ जना रहेका स्मार्ट टेलिकमका फोरजी ग्राहक मंसिरमा घटेर १ लाख १४ हजार २ सय ९० जना पुगेका हुन् ।

नेपालमा संचालित २ ठुला दूरसंचार सेवाप्रदायक नेपाल टेलिकम र एनसेल दुबैले नेपालभर फोरजी सेवा विस्तार गरिसकेको घोषणा गरिसकेका छन् । तर, प्राधिकरणको तथ्यांकमा भने एक महिनाकै अवधिमा फोरजी सेवा उपयोग गर्ने सेवाग्राहीको संख्यामा ठुलो गिरावट आएको देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL