Logo

दुरसञ्चार कम्पनीले बाँड्यो ५० प्रतिशत लाभांस, प्रबन्ध निर्देशक नियुक्ति सरकारले तोके अनुसार

दुरसञ्चार कम्पनीले बाँड्यो ५० प्रतिशत लाभांस, प्रबन्ध निर्देशक नियुक्ति सरकारले तोके अनुसार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक बर्ष २०७१\७२ को आयकर पछिको रु. १४ अर्ब ५५ करोड ६३ लाख मुनाफा रकम मध्येबाट चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीको मंगलवार सम्पन्न आठौं वार्षिक साधारण सभाले यस्तो निणर्य गरेको हो ।

उक्त लाभांश रकम मिति बुधवारदेखि नै शेयरधनीहरुलाई वितरण गरिने भएको छ ।

उक्त साधारण सभाले आर्थिक वर्ष २०७१÷७२ को लागि अध्यक्ष एवं सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरेको छ । साधारण सभाले आ. व. २०७२÷७३ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट नरेन्द्र भट्टराईलाई लेखापरीक्षक नियुक्त गरेको छ ।

त्यसैगरीे कम्पनीको प्रबन्ध निर्देशक नियुक्ति र सेवा सुविधा सम्बन्धी शर्तहरु नेपाल सरकार, मन्त्रीपरिषदबाट स्वीकृत निर्देशिकामा उल्लेख गरे बमोजिम हुने व्यवस्थालाई समेत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले कम्पनीको आठौं वार्षिक प्रतिवेदन पेश गरे । सो अवसरमा उनले आर्थिक वर्ष २०७१।७२ देखि कम्पनीले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड लागू गरेको र नेपालको परिप्रेक्ष्यमा सर्वप्रथम कम्पनीका वित्तीय विवरणहरूलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सफल भएको बताए ।

थपलियाले ग्रामीण क्षेत्रमा अप्टिकल फाइवर सञ्जाल विस्तार गरी डाटा सेवाको बिक्री वितरणमा प्राथमिकता दिने लक्ष्य अनुरुप थ्रीजी सेवालाई विस्तार गरिएको बताए । साथै नेटवर्क क्षमतालाई विस्तार गरी आइपीसिडीएमए मा आधारित इभीडीयो उपलब्ध गराउने तथा वाइमयाक्स मार्फत सेवा मार्फत आकर्षक डाटा सेवा उपलब्ध गराउन प्रयास गरिने बताए ।
त्यस्तै नियामक निकायबाट स्वीकृति पाउना साथ फोरजी सेवा उपलब्ध गराउने गरी कम्पनीले सम्पूर्ण रुपमा तयारी गरेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL