काठमाडौं । टेलियासोनेराले एनसेल बिक्रि सम्बन्धी सबै प्रक्रिया पुरा भएको दाबी गरेको अर्को दिन खरिदकर्ता मलेसियन कम्पनी एक्जिएटा गु्रप बरहदले एनसेल खरिद प्रक्रियालाई सफलतासँग पुरा गरेको बताएको छ । नेपालको समय अनुसार सोमबार टेलियासोनेराले एक विज्ञप्ति जारी गर्दै एनसेल बिक्रि सफल भएको र यसबाट कम्पनी पूर्ण रूपमा दायित्वबाट अलग भएको घोषणा गरेको थियो ।
मङ्गलबारनै एक्जिएटाले टेलियासोनेराको विज्ञप्तिलाई पुष्टि गर्दै खरिदमा कम्पनी सफल भएको बताएको हो । खरिद प्रक्रिया सफल भएसँगै एक्जिएटाले एनसेलको आधिकारीक वेबसाईटमा आफ्नो लोगो सहितको नवबर्ष शुभकामना सन्देश नेपाली भाषामै सम्पे्रषण गरेर नेपाल भित्रिएको सङ्केत दिएको छ ।
एनसेल खरिद बिक्रि प्रक्रियामा नेपालले लाभ कर प्राप्त गर्न सक्ने अथवा नसक्ने विषयको अन्तिम टुङ्गो नलागेपनि एक्जिएटाले पूर्ण जिम्मेवारी बहन गरेकै भाषामा एनसेल सञ्चालनको नयाँ ‘प्लान’ समेत सार्वजनिक गरिसकेको छ । कम्पनीले तत्कालनै नेपालमा भोइस र रोमिङ् तर्फ दुई विशेष सुविधा सार्वजनिक गर्ने योजना रहेको आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । गु्रप रोमिङ्को अवधारणा अनुसार कम्पनीले ‘एक्जिएटा रोम’ नामको नयाँ ‘प्रडक्ट’ एनसेल ग्राहकलाई छिटै उपलब्ध गराउने समेत बताएको छ । एक्जिएटाले विभिन्न देशमा सञ्चालनमा रहेका आफ्ना लगानीका दुरसञ्चार कम्पनीमा रोमिङ् सुविधा लिन सक्ने बताएको छ ।
वैदेशिक रोजगारीका लागि मलेसिया नेपालको प्रमुख गन्तव्य रहेको र एक्जिएटाले सार्वजनिक गरेको रोमिङ् सुविधा त्यसै तर्फ केन्द्रित भएको देखिन्छ । मलेसियाबाट नेपाल भित्रने अधिकांश टेलिफोन कल आफ्नै कम्पनीमार्फत भित्राउने रणनीतिमा कम्पनीको यो नयाँ योजना लक्षित देखिन्छ ।