काठमाडौं । कोरोना महामारीताका लकडाउनका बेला फाइवर टु दी होम (एफटीटीएच) सेवा विस्तारमा तीव्रता दिएको नेपाल टेलिकम अहिले भने सेलाएको छ । त्यसबेला टेलिकमले छोटो समयमै करिव डेढ लाख ग्राहकसम्म आफ्नो एफटीटीएच सेवा विस्तार गर्न सफल भएको थियो । तामाको तार विस्थापन गरी अप्टिकल फाईवरमार्फत इन्टरनेट र भ्वाइससँगै भिडियो सेवा पनि पुर्याउन सकिने कम्पनीको एफटीटीएच सेवाको विस्तार पछिल्लो समय भने घटेको छ । गत बर्षको असार साउनमै १ लाख ५१ हजार ग्राहकसम्म पुगिसकेको उक्त सेवा हालसम्म पनि त्यही संख्याकै वरपर घुमिरहेको छ ।
नेपाल टेलिकमका अनुसार गएको असार मसान्तसम्म १ लाख ८७ हजार घरधुरीसम्ममात्रै एफटीटीएचको डाटा सेवा पुगेको छ भने २ लाख १३ हजार घरधुरीसम्म एफटीटीएचमार्फत भ्वाइस सेवा पुगेको छ । यस्तै टेलिकमले एफटीटीए मार्फत नै असार मसान्तसम्म १० हजार ५ सय घरधुरीसम्म भिडियो सेवा पुर्याएको छ ।
टेलिकमको एफटीटीएचमार्फत डाटा सेवा प्रयोग गर्ने घरधुरी सँख्या गत बर्षको असार मसान्तसम्म १ लाख ५१ हजार पुगिसकेको थियो । त्यसबेलासम्म टेलिकमले काठमाडौंमा एफटीटीएचको विस्तारलाई भरपुर तीव्रता दिएपनि त्यसपछि भने विस्तारमा तीब्रता दिन नसक्दा १ बर्षको अवधिमा जम्मा ३० देखि ३५ हजार मात्रै एफटीटीएचका घरायसी ग्राहक थपिएका छन् ।
टेलिकमले एउटैमा ३ अर्थात भ्वाइस, भिडियो र डाटा दिनेगरी एफटीटीएच सेवाको विस्तार सुरु गरेको थियो । टेलिकमले अन्य इन्टरनेट सेवाप्रदायकहरुको तुलनामा चाँडै फाईबरमार्फत इन्टरनेट दिन सुरु गरेपनि ग्राहक संख्यामा भने ज्यादै न्यून रहेको थियो । तर, इन्टरनेटको भविष्य नै अप्टिकल फाईबरमा भएपछि टेलिकमले यसको विस्तारलाई तीव्रता दिएको थियो । तर, हाल उक्त तीव्रतामा ब्रेक लागेको टेलिकमकै अधिकारीहरु बताउँछन् ।
विश्वभर कोरोना महामारी फैलिएर नेपालमा लकडाउन हुँदा टेलिकमको एफटीटीएच विस्तार केहि तीव्र भयो । कमजोर बजारीकरणका कारण ग्राहक बढाउन नसकेको टेलिकमको एफटीटीएचको विस्तार लकडाउनले भने ह्वात्तै बढेको थियो । तर, कोरोना महामारीपछि विश्व व्यापारचक्रमा परिवर्तन आई कन्टेनर नआउँदा उपकरण अभाव भएपछि हाल यसको विस्तारमा सुस्तता आएको टेलिकमका सहप्रवक्ता रञ्जित लोहिया बताउँछन् । उनका अनुसार विदेशबाट एफटीटीएचका लागि आवश्यक उपकरण आयात गर्न नपाउँदा बजार विस्तारमा समस्या आएको थियो तर, हाल समस्या समाधान भएको र अब विस्तारले तीव्रता पाउने उनले बताए ।
एफटीटीएचमार्फत ग्राहकहरुले टेलिकमले उपलब्ध गराएको अप्टिकल फाईबरमार्फत डाटा, भ्वाईस र भिडियोको सेवा लिन सक्छन् । हाल यसै प्रविधिमार्फत टेलिकमको टेलिभिजन् प्रयोगकर्ताको संख्या पनि १० हजार पुगेको बताइएको छ । तर, टेलिकमले भनेबमोजिमका स्थानहरुमा आफ्नो सेवा विस्तार गर्न नसक्दा फाइबरमार्फत इन्टरनेट दिने कम्पनीको सूचिमा पछि नै देखिन्छ ।
टेलिकमले गत बर्ष नै काठमाडौं उपत्यकाका हरेक स्थानमा आफ्नो एफटीटीएच सेवा विस्तार गरिसक्ने बताएपनि हालसम्म उक्त योजना पुरा गर्न सकेको छैन । हाल काठमाडौंका भित्रि केही क्षेत्रमा टेलिकमको फाईबर इन्टरनेट पाइने गरेको भएपनि चक्रपथ बाहिरका धेरैजसो स्थानमा टेलिकमको फाइबर इन्टरनेट सेवा पाउन अप्ठ्यारो हुने गरेको छ ।