काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोनको ‘पल्स रेट’ अध्ययनका लागि परामर्शदाता नियुक्त गर्ने तयारी गरेको छ । आगामी आर्थिक बर्षदेखि सवै टेलिफोन सेवा प्रदायकहरुको पल्स रेटमा एकरुपता ल्याउने उद्देश्य अनुरुप परामर्शदाता नियुक्त गर्न लागिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।
हाल नेपालमा संचालित दूरसञ्चार सेवा प्रदायकहरुले बढी पल्स रेट लागु गर्दै आएकोले त्यसलाई व्यवस्थित बनाउन लागिएको समेत उनले बताए । ‘सेवा प्रदायकले बढी पल्स रेट राखेका कारण सेवाग्राही ठगिइरहेका छन्,’ उनले भने ‘सेवाग्राहीलाई पर्न गएको समस्याको समाधानका लागि पनि पल्स रेट घटाउन लागेका हौं ।’
मोवाइल सेवा प्रदायकको पल्स रेट कति राख्ने भन्ने बारे भने निश्चित नभएको अर्यालले जानकारी दिए । ‘परामर्शदाताले पल्स रेट कति राख्दा उपयोगी हुन्छ भन्ने बारे अध्ययन गर्नेछन्,’ उनले भने, ‘हाल पल्स रेट १ वा ५ सेकेन्डको बनाउने बारे छलफल भइरहेको बताइएको छ ।’
नेपालमा सेवा प्रदायक अनुसार पल्स रेट फरक फरक छन् । नेपाल टेलिकमले मोवाइल सेवामा २० सेकेन्ड पल्स रेट राखेको छ । त्यस्तै लोकलमा फोन र एसटिडीमा २÷२ मिनेट राखेका टेलिकमका सहप्रवक्ता डिल्ली अधिकारीले जानकारी दिए ।
त्यस्तै एनसेलले पनि मोवाइल सेवामा २० सेकेन्डको पल्स रेट राखेको छ । तर, अन्तरराष्ट्रिय कलमा एनटीसि र एनसेलको पल्स रेट क्रमशः ६ सेकेन्ड र ६० सेकेन्ड रहेको बताइएको छ ।
सार्क मुलुक श्रीलंकमा १ र ६० सेकेन्डको पल्स रेट छ । त्यस्तै, पाकिस्तानमा १, ३० र ६० सेकेन्डको छ भने बंगलादेशमा १, ६० सेकेन्डको पल्स रेट रहेको छ । छिमेकी मुलुक भारतमा सवै सेवा प्रदायकको १ सेकेन्डको पल्स रेट छ । लामो पल्स रेट अपरेटरका लागि फाइदा र जति छोटो पल्स रेट भयो त्यती ग्राहकलाई फाइदा हुने बताइएको छ ।
के हो पल्स रेट ?
सामान्यतया कलको अवधि अनुसार लाग्ने शुल्कलाई पल्स रेटको रुपमा लिइन्छ । पल्स रेट सेवा प्रदायक, तथा देश अनुसार फरकफरक हुन्छ । अन्य राष्ट्रको तुलनामा नेपालको हाल विद्यमान पलस रेट बढी भएको विज्ञहरु बताउँछन् । कल शुरु हुने वित्तिकै एक पल्स कम्प्युटरमा पठाइन्छ । २० सेकेन्ड पुगेपछि दोश्रो पल्स थपिन्छ । त्यस्तै ४० सेकेन्ड पछि तेस्रो । कल नसकिएसम्म पल्स रेट जोडिइरहन्छ । काउन्टरमा जम्मा भएका पल्सललाई १ पल्सको महसुलले गुणान गर्नु पर्छ ।