Logo

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा नीतिगत स्पष्टता आवश्यक, प्रक्रियागत झन्झटले कार्यान्वयनमा चुनौती

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा नीतिगत स्पष्टता आवश्यक, प्रक्रियागत झन्झटले कार्यान्वयनमा चुनौती



काठमाडौं । डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनका लागि नीतिगत स्पष्टता आवश्यक भएको जानकारहरुले बताएका छन् । सोमबार प्रविधि पत्रकार मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जानकारहरुले प्रक्रियागत सहजता, नीतिगत स्पष्टता र उचित ध्यान दिए मात्रै फ्रेमवर्क कार्यान्वयन हुने बताएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले २०७६ सालमा बनाएको डिजिटल नेपालको फ्रेमवर्क समयसापेक्ष परिमार्जन गर्न सकिने बताएका छन् । उनले पछिल्लो समय यहि फ्रेमवर्कमा आधारित रहेको धेरै क्षेत्र डिजिटाईज युगमा प्रवेश गरिरहेको बताए । संचार मन्त्रालयबाट हुने ९० प्रतिशत काम डिजिटल प्रविधिमार्फत हुने व्यवस्था मिलाएको उनले बताएका छन् । यसैगरी अन्य सबै मन्त्रालय र मातहतका निकायहरुलाई पनि डिजिटाईज प्रविधि अंगाल्नेगरी नीतिगत व्यवस्था गरिने उनले बताएका छन् छ ।

कार्यक्रममा कम्प्युटर एशोसीएसन अफ नेपाल (क्यान) महासंघकी पूर्व अध्यक्ष सुनयना पाण्डेले पछिल्लो समय डाटाको भोल्युम र प्रयोग पनि बढेकाले फ्रेमवर्कमा भएका केहि कुराहरुलाई परिमार्जन गर्नुपर्ने बताएकी छन् । उनले अन्तरक्रिया कार्यक्रममा बोल्दै सरकारले नीतिमात्रै बनाएर नहुने त्यसका लागि ग्राउन्ड जिरोदेखि काम गर्नुपर्ने बताईन् ।

सूचना प्रविधि विज्ञ विवेक राणाले सरकारले फ्रेमवर्क ल्याएर त्यसको कार्यान्वयनको पाटोमा उचित ध्यान नदिएको बताएका छन् । उनले सरकारले फ्रेमवर्क ल्याउनुभन्दा अघि नै विकसित राष्ट्रबाट सिक्नुपर्ने बताएका छन् । तर, सरकारले हचुवाका तालमा फ्रेमवर्क ल्याएको र कार्यान्वयनको पाटो ज्यादै कमजोर रहेको बताए । उनले यस्ता फ्रेमवर्क ल्याउनुपूर्व ग्राउन्ड जिरोमा गई त्यहाँका समस्या, समाधानका उपायलगायतको जानकारी लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुवास ढकालले सरकार र निजी क्षेत्रको सहकार्यमा डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन हुनसक्ने बताएका छन् । यस्तै, नेपाल दूरसंचार प्राधिकरणका उपनिर्देशक विनोद श्रेष्ठले कोरोना महामारीलगायतका समस्याका कारण भनेको समयमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न नसकिएको बताएका छन् । उनका अनुसार प्रक्रियागत असहजता, अन्तरविभागिय समन्वयमा कमीका कारण पनि यस्ता फ्रेमवर्कहरु कार्यान्वयन हुन नपाउँदै हराउँछन् ।

डिजिटल नेपाल निर्माणको लक्ष्यसहित सरकारले २०७६ कात्तिक ५ गते फ्रेमवर्क स्वीकृत गरी कार्यान्वयनमा ल्याएको थियो । फ्रेमवर्कमा ८ क्षेत्रमा विभिन्न ८० वटा पहलमार्फत डिजिटल नेपालको आधार तयार गर्ने विषय उल्लेख छ ।

डिजिटल फाउन्डेसन, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त, सहरी पूर्वाधारलाई डिजिटल नेपालको क्षेत्रका रूपमा पहिचान गरिएको छ । यी क्षेत्रअन्तर्गत पहिचान गरिएका पहल कार्यान्वयनको समय र निकायसमेत फ्रेमेवर्कमा स्पष्ट किटान गरिएको छ ।

प्रविधि पत्रकार मञ्चले सोमबार सूचना प्रविधि दिवसको अवसर पारी आफ्नो पहिलो स्मारिका (प्रविधि) पनि विमोचन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL