काठमाडौं । अर्थतन्त्रमा बढदो संकट र लगानीयोग्य पुँजी (तरलता) अभावको प्रत्यक्ष प्रभाव बजारमा देखिन थालेको छ । पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुहरुको मूल्य अत्यधिक बढेको छ भने बजारमा व्यापार पनि घटेको छ ।
बजारमा तरलता अभावकै कारण मोबाइलको विक्री वितरणमा ठूलो असर परेको व्यवसायी बताउँछन् । पछिल्लो ३–४ महिनायता मोबाइलको विक्री पहिलेको तुलनामा ५० प्रतिशतले घटेको मोबाइल व्यापार संघका अध्यक्ष जगत साउद बताउँछन् । व्यापारमा आएको मन्दीका कारण मोबाइल व्यापारीहरुलाई सटरको भाडा तिर्न पनि अप्ठ्यारो परिस्थिति उत्पन्न हुँदै गएको साउद बताउँछन् ।
मोबाइलको व्यापार राम्रो भएको अवस्थामा दिनमै ४० देखि ५० करोडको कारोबार हुने उनको अनुमान छ । कोरोना महामारीसँगै जारी भएको लकडाउनमा यो भोल्यूममा व्यापार भएको थियो भने हरेक वर्ष दशैंमा यस्तो व्यापार हुने गर्छ । दशैंको समयमा मोबाइल व्यापारीहरुले दिनमै कम्तीमा डेढ सय मोबाइल विक्री गर्ने गरेको उनी बताउँछन् । तर, हाल प्रतिदिन प्रतिपसल औषतमा जम्मा १० देखि १२ थान मोबाइल मात्रै विक्री भएको उनले बताए । ‘कुनै पसलले दिनमा ५ ओटा मात्रै बेच्छन भने कुनैले ३५ सम्म बेच्छन्,’ उनले भने, ‘हाम्रो संघमा मात्रै २ सय १२ सदस्य भएकाले सबैको व्यापारलाई औषतमा गणना गर्दा एउटा पसलबाट एक दिनमा जम्मा १० देखि १२ मोबाइल मात्रै विक्री भएको देखिन्छ ।’
‘बजारमा पैसाको कमी छ, पैसा भएकाले पनि अप्ठ्यारो अवस्था आईहाल्लाकि भनेर जोगाएर राख्ने गरेका छन्,’ उनले भने, ‘यस्तो बेलामा मोबाइललगायत विलासी वस्तुमा कसैले लगानी पनि गर्दैनन् ।’ यसरी कहिल्यै नघटेको मोबाइल व्यापार यसपल्ट अचाक्ली घटेको उनी बताउँछन् । ‘हालसम्म सबैभन्दा बढी मोबाइलको व्यापार कोभिडको बेला भएको थियो,’ उनले भने, ‘तर, मोबाइलको व्यापार यो दरमा घटेको भनेको पहिलोपल्ट हो ।’
खासगरी गत भदौ महिनादेखि बैंक तथा वित्तीय संस्थाहरुमा तरलता संकट चर्किँदै गएको थियो । त्यसयता उद्योगी व्यवसायीदेखि नेपाल राष्ट्र बैंकले नै तरलता संकट र गहिरिँदो अर्थव्यवस्थाको समस्यालाई तत्काल समाधान गर्नुपर्ने बताएका थिए । तर, हाल तरलता मात्रै नभई अर्थतन्त्रमै समस्या उत्पन्न भएको चर्चा बढ्दो छ । यसरी दिनानुदिन तरलता संकट चुलिँदै जाने र अर्थतन्त्रका सुचकहरु पनि अप्ठ्यारो अवस्थामा हुँदा सरकारले पुँजीगत खर्चसमेत सोहीअनुसार गर्न सकेको छैन ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे पनि सरकारको ढुकुटीमै पैसा नभएकाले पुँजीगत खर्च हुन नसकेको बताउँछन् । यस्तो हुँदा तरलता संकट झन भयावह अवस्थामा पुग्ने देखिन्छ । यसरी बैंकिङ सेक्टरमा देखिएको तरलता अभाव र बजारमा पैसाको कमी भएकै कारण मोबाइलको व्यापारमा उल्लेख्य गिरावट आएको व्यापारीहरु बताउँछन् ।
मोबाइल आयातका लागि एलसी नखुल्ने
लगातार बढ्दो व्यापारघाटा र घट्दो वैदेशिक मुद्रा संचितिका कारण वाणिज्य बैंकहरुले आईतबार मात्रै गाडी, मोबाइललगायतका विलासी वस्तुहरु आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेका छन् । यस्ता विलासिताका वस्तुले व्यापारघाटा बढाउन सहयोग पुर्याएको भन्दै नेपाल राष्ट्र बैंकले यसअघि वाणिज्य वैंकका सीईओहरुलाई एलसी नखोल्न निर्देशन दिएको थियो ।
भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्म नेपालले २ अर्ब ४० करोड रुपैयाँ बराबरका ३१ लाख ६८ हजार बढी थान मोबाइल आयात गरेको थियो । यही आयातलाई पनि शून्यमा पुर्याउन सकिए नेपालको वैदेशिम मुद्रा संचितिमा केही राहत हुने राष्ट्र बैंकको अनुमान छ ।
तर, यसरी मोबाइलको आयातमा एलसी नखोल्दा अर्काे महिनादेखि नै करिव ३० करोड रुपैयाँ नेपालमै बस्ने अनुमान गरिएको छ । यसले नेपाली बजारमा भने मोबाइला सेटको केही अभाव हुनेछ भने मूल्यमा पनि केही तलमाथि हुन सक्ने मोबाइल व्यापार संघका अध्यक्ष जगत साउद बताउँछन् । सरकारले एलसी नखोल्दा र शतप्रतिशत मार्जिन राखेर एलसी खोल्दा आयातमा केही संकुचन आउनेछ र बजारमा सेटको अभाव पनि हुने साउदले बताए ।