Logo

देशको सबै स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, चार अर्ब २१ करोड रुपैयाँ खर्च

देशको सबै स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, चार अर्ब २१ करोड रुपैयाँ खर्च



काठमाडौं । देशभर हरेक स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुगेको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभरका ५ हजार ९ सय ३३ वडा कार्यालयहरुमध्ये ५ हजार ८ सय ९९ स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुगेको हो ।

प्राधिकरणका अनुसार हालसम्म ७४ जिल्लाका सबै वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयलगायतमा पुगेको ब्रोडब्याण्ड इन्टरनेट ३४ ओटा वडा कार्यालयमा मात्रै पुग्न बाँकी रहेको छ । यी वडा कार्यालयहरुमा पनि ब्रोडब्याण्ड इन्टरनेट जडानका पूर्व कार्य तथा तयारीहरु सबै अन्तिम चरणमा पुगेकाल आगामी २ महिनाभित्रै जडान सम्पन्न हुने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार हालसम्म गुल्मी, पाल्पा, प्युठान र अर्घाखाँचीका ३४ वटा वडामा मात्रै सेवा विस्तार गर्न बाँकी रहेको छ । यो संख्या कुल लक्ष्यको ०.२१ प्रतिशत मात्रै बाँकी हो । सरकारले तोकेका शतप्रतिशत स्थानीय तह, शतप्रतिशत सामुदायिक विद्यालय र शतप्रतिशत स्वास्थ्य केन्द्रमा ब्रोडब्याण्ड इन्टरनेट पुगिसकेको छ ।

प्राधिकरणले देशभरका स्थानीय तह र सार्वजनिक संस्थाहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउनका लागि नेपाली इन्टरनेट सेवाप्रदायक कम्पनीहरुलाई ठेक्का दिएको थियो । ग्रामिण दूरसंचार कोष (आरटीडीएफ)को परिचालन गरि अघि बढाईएको उक्त परियोजनालाई १८ प्याकेजमा भाग गरी काम अघि बढाईएको छ ।

प्राधिकरणले यो परियोजनाको जिम्मा नेपाल टेलिकम, सुबिसु, वर्ल्डलिंक, भायानेट, मर्कन्टाईल कम्युनीकेसन, टेकमाईन्डलाई दिएको थियो । जसको म्याद २ बर्षको हुन्छ । अर्थात यी सबै कम्पनीहरुले आफुले पाएको प्याकेजमा २ बर्षभित्र काम सम्पन्न गर्नुपर्ने हुन्छ । प्राधिकरणले यी प्याकेजको सम्झौता पनि पटकपटक गरी दिने गरेको छ ।

प्राधिकरणले १८ प्याकेजमा ७ सय २ ओटा स्थानीय निकायका कार्यालय, ५ हजार ९३३ ओटा वडा कार्यालय, ५ हजार ३ सय ३३ ओटा माध्यामिक विद्यालय र ४ हजार १ सय ८० स्वास्थ्य संस्थामा गरी कुल १६ हजार ४८ निकायमा ब्रोडब्याण्ड इन्टरनेट जोड्नेगरी योजना बनाएको थियो ।

हालसम्म अन्य सबै निकायमा जडान सम्पन्न हुँदा ३४ ओटा वडा कार्यालयमा प्रारम्भिक काम भईरहेको छ । यो योजना सरकारले ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ बढिमा अघि बढाएको हो । जसमा हालसम्म ७४ प्रतिशत प्रगति हुँदा ४ अर्ब २१ करोड ५१ लाख रुपैयाँ खर्च भईसकेको प्राधिकरणले जानकारी दिएको छ ।

सरकारले ब्रोडब्याण्ड इन्टरनेट विस्तारमा तदारुकता देखाउँदा नेपालमा इन्टरनेटको पहुँच जनसंख्याभन्दा बढी भएको देखिन्छ । प्राधिकरणको एमआईएस प्रतिवेदन अनुसार हालसम्म नेपालमा इन्टरनेटको पहुँचमा भएको जनसंख्या ३ करोड ६० लाख ४१ हजार बढी छ । जुन कुल जनसंख्याको ११९ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्
MBL