काठमाडौं । पछिल्लो समय नेपालमा इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरु इन्टरनेट विस्तारमा निकै आक्रामक ढंगले लागिरहेका छन् । जसका कारण बजारमा स्पिड, मूल्य र प्याकेजमा चर्को प्रतिस्पर्धा देखिन्छ । पछिल्लो समय वर्ल्डलिंक, डिसहोम, भायानेट, सिजी नेट, क्लासिक टेक तथा सुबिसुसँगै बजारमा नेपाल टेलिकम पनि प्रतिस्पर्धामा उत्रेको देखिन्छ । टेलिकमको ‘फाइबर टु दि होम’ सेवाको माग पनि पछिल्लो समय निकै बढेको टेलिकमले दाबी गर्दै आएको छ ।
तर, नेपाल टेलिकमले विस्तार गरिरहेको ‘फाइबर टु दि होम’ (एफटीटीएच) सेवाको विस्तार भने निकै सुस्त गतिमा हुँदा अन्य सेवा प्रदायकले टेलिकमलाई पछि पार्दै गएको देखिन्छ । टेलिकमले एफटीटीएच विस्तार तीव्र रुपमा भइरहेको बताएपनि तथ्यांकमा भनेबमोजिमको तीव्रता भने देखिँदैन । नेपाल टेलिकमका अनुसार हालसम्म टेलिकमको फाइबरमार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या जम्मा १ लाख ६६ हजार जना मात्रै छ । यो गत जेठ महिनाको तुलनामा ५२ हजारले मात्रै बढी हो । अर्थात टेलिकमले ७ महिनामा जम्मा ५२ हजार ग्राहक मात्रै एफटीटीएच सेवामा थपेको छ ।
टेलिकमले एउटैमा ३ अर्थात भ्वाईस, भिडियो र डाटा दिनेगरी एफटीटीएच सेवाको विस्तार सुरु गरेको थियो । टेलिकमले अन्य इन्टरनेट सेवाप्रदायकहरुको तुलनामा चाँडै फाइबरमार्फत इन्टरनेट दिन सुरु गरेपनि ग्राहक संख्यामा भने ज्यादै न्यून नै देखिन्थ्यो । तर, इन्टरनेटको भविष्य नै अप्टिकल फाइबरमा देखिएपछि टेलिकमले यसको विस्तारलाई तीव्रता दिएको थियो ।
विश्वभर कोरोना महामारी फैलिएर नेपालमा लकडाउन हुँदा टेलिकमको एफटीटीएच विस्तार केही तीव्र भयो । मार्केटिङ वृद्धिका वावजुद पनि बढ्न नसकेको एफटीटीएचको विस्तार लकडाउनले भने ह्वात्तै बढाईदिएपनि गत पुषसम्म जम्मा १ लाख ६६ हजार ग्राहकसम्म यो सेवा पुगेको टेलिकमले जानकारी दिएको छ ।
नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकलाई केलाउँदा पछिल्लो समय एफटीटीएच विस्तारको वृद्धिदर ज्यादै न्युन देखिन्छ । चालु आर्थिक बर्षकै कुरा गर्दा पनि गत साउन मसान्तयता मात्रै एफटीटीएचका ३४ हजार ४ सय ग्राहक थपिएका छन् । नेपालभरी फाइबर मार्फत इन्टरनेट दिने योजना टेलिकमको भएपनि पछिल्लो समय निम्तिएका विभिन्न परिस्थितिले त्यो सम्भव नभएको टेलिकमका प्रवक्ता सोभन अधिकारी बताउँछन् ।
एफटीटीएच विस्तारका लागि आवश्यक उपकरणदेखि सामग्रीहरु धेरैजसो चीनबाट आयात हुने हो । पछिल्लो समय चीनबाट यस्ता उपकरणहरु न्युन आयात भएका कारण टेलिकमले भनेबमोजिमका स्थानहरुमा सेवा पुर्याउन सकिरहेको छैन । अर्थात चीनमा देखिएको उर्जा संकटले दूरसंचार उपकरणहरुको उत्पादन लागत उच्च भयो र उत्पादन पनि कम भयो । जसका कारण चीनले नेपालका लागि आवश्यक उपकरणसम्म पुर्याउन सकेन । यसको प्रत्यक्ष असर टेलिकमको एफटीटीएचको विस्तारमा देखिन्छ ।
यस्तै विश्वभर फैलिएको कोरोना महामारी, चिप अभाव, कन्टेनर अभाव, पेट्रोलियमको मूल्य वृद्धिको असर पनि टेलिकम सेक्टरमा देखिएको प्रवक्ता सोभन अधिकारी बताउँछन् । नेपालका लागि उपकरण र अन्य सामान प्राय चीनबाट आउने भएपनि उपकरण ल्याउन आवश्यक कन्टेनरको अभाव छ । यसरी कन्टेनरकै अभाव हुँदा र चीनमा उत्पादन पनि कम हुँदा दूरसंचारका उपकरणको आयात प्राथमिकतामा नपरेको उनको भनाई छ ।
यी सबै असरहरु हाल नेपाल टेलिकमको एफटीटीएच सेवामा देखापरेको उनी बताउँछन् । ‘पछिल्लो समय निम्तिएका विविध कारण जस्तै, कोरोना महामारी, कन्टेनर अभाव, चीपसेटको अभावलगायतको प्रभावले उपकरण आयात हुन सकिरहेका छैनन्,’ उनले भने, ‘जसको प्रत्यक्ष असर हाम्रो सेवा विस्तारमा देखिएको छ ।’
गत असोजसम्म नेपाल टेलिकमको फाइबर दु दि होम सेवा नेपालभर १ लाख ४५ हजार ६ सय ५५ जनासम्म पुगेको थियो । यस्तै त्यसको पछिल्लो महिना कात्तिकमा भने सो संख्या केही बढेर १ लाख ५१ हजारसम्म पुग्यो र त्यसपछिका दिनमा पनि प्रतिमहिना जम्मा ४ देखि ८ हजारले एफटीटीएचका प्रयोगकर्ता बढिरहेको देख्न सकिन्छ । जुन ज्यादै न्युन हो ।
एउटैमा ३ नामक एफटीटीएचमार्फत ग्राहकहरुले टेलिकमले उपलब्ध गराएको अप्टिकल फाइबरमार्फत डाटा, भ्वाईस र भिडियोको सेवा लिन सक्छन् । हाल यसै प्रविधिमार्फत टेलिकमको टेलिभिजन प्रयोगकर्ताको संख्या पनि ६ देखि ७ हजार पुगेको बताईएको छ । तर, टेलिकमले भनेबमोजिमका स्थानहरुमा आफ्नो सेवा विस्तार गर्न नसक्दा फाइबरमार्फत इन्टरनेट सेवा दिने कम्पनीको सूचीमा पछि नै देखिन्छ ।
नेपाल दूरसंचार प्राधिकरणको एमआईएस प्रतिवेदनअनुसार गत मंसिर महिनासम्म इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकको फाइबरमार्फत इन्टरनेट चलाउनेको संख्या सबैभन्दा बढी ५ लाख ६२ हजार बढी छ । यस अवधिसम्म नेपाल टेलिकमको फाइबर र केबलबाट इन्टरनेट चलाउनेको संख्या ७ लाख ७६ हजार ६ सय बढी भएपनि अप्टिकल फाइबरका ग्राहकको हिस्सा भने ज्यादै न्युन छ ।