Logo

नेपालमा फाइभजी परिक्षण : के मा रुमलियो टेलिकम ?

नेपालमा फाइभजी परिक्षण : के मा रुमलियो टेलिकम ?



काठमाडौं । नेपाल टेलिकमले अनुमति पाएको फाइभजी परिक्षण प्रक्रिया पछिल्लो ४ महिनादेखि रुमल्लिरहेको छ । गत कात्तिकमा नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले मन्त्रालयको पत्राचारमा टेलिकमलाई फाइभजी परिक्षणको अनुमति दिएको थियो । त्यसयता टेलिकमले पूर्वतयारी भन्दै हालसम्म उपकरण ल्याउने प्रक्रिया अघि बढाएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमलाई फाइभजी परिक्षणको अनुमति दिएपछि प्राधिकरणले यसको कार्यविधि बनाएको थियो । उक्त कार्यविधि अनुसार टेलिकमलाई फाइभजी परिक्षणका लागि २६ सय मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराईएको छ ।
यसरी अनुमति र फ्रिक्वेन्सीसमेत उपलब्ध गराएको ४ महिना वितिसक्दा पनि टेलिकमले उपकरण आयात प्रक्रिया मात्रै अघि बढाएको टेलिकम स्रोतले जानकारी दिएको छ ।

नेपाल टेलिकमले विभिन्न प्रक्रियाहरु पुरा गरेर फाइभजी परिक्षणमा आवश्यक उपकरण आयातको अर्डर गरिसकेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए । उनका अनुसार यसअघि फोरजी सेवा विस्तार गरिरहेका जेडटीई र हुवावेले नै फाइभजी परिक्षणका उपकरण ल्याउनेछन् । त्यसका लागि अझै करिव २ देखि ३ महिना लाग्नेछ ।

प्राधिकरणले जारी गरेको फाइभजी परिक्षणसम्बन्धी कार्यविधिमा अनुमति पाएको ३ महिनाभित्र उपकरण आयात गरी परिक्षण गरिसक्नुपर्ने उल्लेख छ । तर, टेलिकमले परिक्षणको अनुमति पाएको ४ महिना वितिसक्दा भर्खर उपकरण आयातको प्रक्रिया अघि बढेको हो । यसबीचमा प्राधिकरणले पनि कार्यविधि अनुसार काम भएनभएको जानकारीसमेत लिने वा ताकेता गर्ने कामसम्म गरेको छैन ।

कार्यविधिमा ३ महिनामा कार्य सूचारु गर्नुपर्ने उल्लेख भएपनि सोहीअनुसार हालसम्म कुनै ताकेता नगरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल बताउँछन् ।

कार्यविधि अनुसार कुनै पनि सेवाप्रदायकले फाइभजी परिक्षण अनुमति पाएको ३ महिनामा उपकरण आयातदेखि जडान कार्य सुरु नगरे अनुमति नै रद्ध गर्न सकिने व्यवस्था छ ।

फाइभजी परीक्षणका लागि आवश्यक कार्यविधि जारी भएको करिव ४ महिनापछि नेपाल टेलिकमले २६ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीमा फाइभजी परीक्षण अनुमति पाएको थियो । टेलिकमले यसअघि नै फोरजी विस्तारलगत्तै देशका प्रमुख ४ शहरमा फाइभजी परीक्षणको काम पनि अघि बढाउने घोषणा गरेको थियो ।

टेलिकमले परीक्षणका लागि प्राधिकरणबाट अनुमति पाएपनि आवश्यक उपकरणसमेत आपुर्ति गर्न नसक्दा हालसम्म काम अन्यौलमै रहेको देखिन्छ ।

हाल नेपालभर तोकिएकामध्ये ९५ प्रतिशत स्थानसम्म फोरजी सेवा पुर्याईसकेको टेलिकमले फाइभजीको परिक्षणका लागि एक बर्ष अघि नै अनुमति मागेको थियो ।

टेलिकमले फाइभ जी परीक्षणका लागि काठमाडौं, पोखरा, विराटनगर र नेपालगंजलाई तोकेको छ । यस्तै काठमाडौं आसपासका केही गाउँहरुमा पनि यसको परीक्षण गरिने र सोहीअनुसार एप्लिकेसनमा यसको प्रयोग गर्न सकिने नसकीने, हालको बजारको मागलगायत विश्लेषण गरिने योजना छ । तर, टेलिकमले पहिलो चरणमा काठमाडौं, दोस्रो चरणमा पोखरामा परिक्षण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्