Logo

गुणस्तर खस्किएसँगै टेलिकमको नाफामा उच्च गिरावट, ९ महिनामा २२ प्रतिशतले खस्कियो

गुणस्तर खस्किएसँगै टेलिकमको नाफामा उच्च गिरावट, ९ महिनामा २२ प्रतिशतले खस्कियो



काठमाडौं । नेपाल टेलिकमको खुद मुनाफा २२ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रेमासको प्रतिवेदनमा गत बर्षको सोही अवधिको तुलनामा खुद मुनाफा २२ प्रतिशतले घटेको उल्लेख छ । जसअनुसार कम्पनीले तेस्रो त्रैमाससम्म ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार खुद मुनाफा आर्जन गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार खुद मुनाफा आर्जन गरेको थियो ।

पछिल्लो समय नेपाल टेलिकमको सेवा प्रवाह दिनप्रतिदिन खस्किदो छ । जसका कारण टेलिकमका विरुद्ध उजुरीहरु पनि सोही अनुसार बढेका छन् । जसको प्रत्यक्ष असर कम्पनीको खुद मुनाफामा परेको देखिन्छ । पछिल्लो समय निषेधाज्ञाकै समयमा पनि टेलिकमको सेवामा पटकपटक नेटवर्क नआउने समस्या देखिँदै आएको छ । टेलिकमले आफ्ना सेवाग्राहीहरु भ्वाईस देखि डाटामा रुपान्तरण भएकाले नाफामा कमी आएको बताउँदै आएको छ ।

यस्तै कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३१ अर्ब ६७ करोड ३७ लाख रुपैयाँ बढि कुल आम्दान गरेको छ । तर गत बर्ष यस्तो कुल आम्दानी कम्पनीले ३२ अर्ब २७ करोड २३ लाखभन्दा बढी गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी १५ अर्ब रहेको छ भने जगेडा कोषमा ८२ अर्ब ९६ करोड ४९ लाख १४ हजार रुपैयाँ पुगेको छ । यसरी हेर्दा कम्पनीको जगेडा कोष रकम करिब ८ प्रतिशतले बढेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम ७६ अर्ब ८४ करोड २१ लाख ८६ हजार रुपैयाँ थियो ।

कम्पनीको कुल चालू सम्पत्ति ६२ अर्ब ६ करोड २६ लाख र कुल चालू दायित्व रकम ३१ अर्ब ८६ करोड २४ लाख ७४ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५२ दशमलव ३१ र प्रतिसेयर नेटवर्थ ६ सय ५३ दशमलव १० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्