Logo

कृषिप्रधान देशमा उच्च आयातको टप टेनमा चामल र कच्चा तेल, यी हुन धेरै आयात भएका १० बस्तु

कृषिप्रधान देशमा उच्च आयातको टप टेनमा चामल र कच्चा तेल, यी हुन धेरै आयात भएका १० बस्तु



काठमाडौं । नेपाल कृषिप्रधान देश हो । अर्थात विसं २०६८ सालको जनगणना अनुसार नेपालका ६५ प्रतिशत जनता कृषि पेशामा संलग्न छन् । नेपालमा कुल भुभागको १७ दशमलव ९७ प्रतिशत जमिन कृषियोग्य भुभागमा पर्दछ । त्यसमध्ये ७० प्रतिशत भुभाग तराई क्षेत्रमा पर्दछ ।

नेपालमा तराई क्षेत्र खासगरी धानखेतिका लागि प्रसिद्ध मानिन्छ । नेपाल धान उत्पादनका हिसावले धेरै धान उत्पादन गर्ने देशको सूचिमा १७ औं स्थानमा पर्ने गरेको विभिन्न तथ्यांकहरुले दर्शाउँछन् । तर यहि देशमा धेरै आयात भएको सबैभन्दा बढी बस्तुको सूचिमा भने चामल परेको छ ।

चालु आर्थिक बर्षको पहिलो ४ महिना अर्थात साउनदेखि कात्तिक महिनासम्म मात्रै नेपालले १३ अर्ब ५७ करोड ६८ लाख रुपैयाँबराबरको चामल आयात गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा ६ अर्ब ३० करोड ३९ लाख रुपैयाँ बराबरको चामल आयात भएकोमा चालु आवको ४ महिनामा उक्त आयात ११५ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आवको पहिलो ४ महिनाको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी आयात हुने वस्तुको चौथो स्थानमा चामल परेको छ । गत बर्ष धान उत्पादनमा गिरावट आउँदा नेपालमा यो बर्ष चामलको आयातमा वृद्धि भएको विज्ञहरु बताउँछन् । तर मौसम अनुकुल खेति, रासायनिक मलको कमी, आधुनिकीकरणको कमीजस्ता कुराले चामलको आयातमा असर पारेको विज्ञहरुको भनाई छ ।

यस्तै नेपालमा चामलमात्रै नभएर तेल पनि धेरै आयात हुने मूख्य १० बस्तुको सातौं स्थानमा परेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउनदेखि कात्तिकसम्म मात्रै विभिन्न देशहरुबाट ११ अर्ब ३ करोड रुपैयाँबढीको कच्चा सोयाविन तेल आयात भएको छ । जुन गत बर्षको तुलनामा १ सय ११ प्रतिशतले बढी हो । गत आवको पहिलो ४ महिनामा नेपालमा ५ अर्ब २२ करोड रुपैयाँबराबरको कच्चा तेल आयात भएको थियो ।

राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकको महिनासम्म नेपालमा धेरै आयात भएको वस्तुको पहिलो स्थानमा भने यातायातका साधन र यसका पार्टपुर्जाहरु परेका छन् । यस्ता वस्तुहरु चालु आवको पहिलो ४ महिनामा ३५ अर्ब ७४ करोड रुपैयाँ बराबरको आयात भएको तथ्यांकमा उल्लेख छ । तर सवारीसाधन र पार्टपुर्जाको आयात गत बर्षको सोही अवधिको तुलनामा चालु आवमा साढे १४ प्रतिशतले घटेको छ । यस्तै धेरै आयात हुने दोस्रो र तेस्रो स्थानमा क्रमशः पेट्रोलियम उत्पादन र मेशिनरी सामानहरु परेका छन् । चालु आवको पहिलो ४ महिनामा यस्ता बस्तु क्रमशः ३५ अर्ब ७२ करोड र २० अर्ब ७८ करोड रुपैयाँ बराबरको आयात भएका थिए ।

साथै नेपालमा धेरै आयात हुने वस्तुको पाँचौं, छैठौं, आठौं र नवौं स्थानमा क्रमशः एमएस विलेट, दुरसंचारका उपकरणहरु, औषधि र तयारी पोशाक परेका छन् । यी बस्तुहरुले नेपालको कुल आयात व्यापारमा क्रमशः ३ दशमलव ४, ३ दशमलव ३, २ दशमलव ४ र २ दशमलव ३ प्रतिशत हिस्सा ओगट्छन् ।

यस्तै नेपालमा धेरै आयात हुने वस्तुहरुको १० औं स्थानमा भने विद्युतिय सामग्रीहरु परेका छन् । चालु आवको पहिलो ४ महिनामा मात्रै ८ अर्ब ५० करोड रुपैयाँ बराबरको विद्युतिय सामग्री आयात भएका छन् । जुन गत बर्षको तुलनामा ६ दशमलव ९ प्रतिशतले बढी हो । गत आवको पहिलो ४ महिनामा नेपालमा यस्तो वस्तु आयात ७ अर्ब ९६ करोड रुपैयाँ बराबरको भएको थियो । नेपालमा विद्युतिय सामग्रीको आयातले नेपालको कुल आयात बजारको २ दशमलव १ प्रतिशत हिस्सा ओगट्ने राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL