Logo

ठूला देशसँग नेपालको व्यापार नाफामा, अन्तरराष्ट्रिय व्यापारघाटा सुधारको बाटोमा

ठूला देशसँग नेपालको व्यापार नाफामा, अन्तरराष्ट्रिय व्यापारघाटा सुधारको बाटोमा



काठमाडौं । चालु आर्थिक बर्ष २०७७÷७८ को पहिलो २ महिनामा नेपालको अन्तरराष्ट्रिय व्यापारमा उल्लेख्य सुधार देखिएको छ । विश्वका आर्थिक रुपले शक्तिशाली भनिएका विभिन्न ७ देशसँग नेपालको व्यापार नाफामा रहेको छ । व्यापारघाटामा चलिरहेको नेपालको अर्थतन्त्रले नयाँ मोड लिँदै गर्दा ठूला देशहरुसँग हुने व्यापार नाफामा पुगेको हो ।

व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र (टीईपीसी) ले हालै सार्वजनिक गरेको पछिल्लो २ महिनाको तथ्यांकअनुसार नेपालको अन्तरराष्ट्रिय व्यापारमा अमेरिका, बेलायत, फ्रान्सलगायतका शक्ति राष्ट्रहरुसँगको व्यापारमा आयातभन्दा निर्यात व्यापार उच्च भएको हो । यो अवधिमा टर्की, स्विजरल्याण्ड, डेनमार्क र अष्ट्रियासँग पनि नेपालको व्यापार नाफामा छ । अर्थात उक्त ७ देशमा नेपालले पछिल्लो २ महिनामा आयातको तुलनामा निर्यात बढी गरेको थियो ।

टीईपीसीका अनुसार पछिल्लो २ महिनामा नेपालले अमेरिकासँग मात्रै २ अर्ब ३१ करोड रुपैयाँ बराबरको निर्यातको व्यापार गरेको छ । तर उक्त अवधिमा नेपालले अमेरिकाबाट १ अर्ब ६५ करोड रुपैयाँ बराबरको मालवस्तु आयात गरेको छ । यसरी नेपालले अमेरिकासँग पछिल्लो २ महिनामा ६५ करोड बढीको व्यापार नाफा कमाएको छ ।

यस्तै उक्त अवधिमा नेपालले बेलायतसँग २१ करोड २० लाख रुपैयाँ बराबरको व्यापारनाफा कमाउँदा अर्को देश फ्रान्ससँग भने ८ करोड ३१ लाख रुपैयाँ बराबरको व्यापारनाफा कमाएको हो ।

नेपालको यसअघिका बर्षहरुमा यी देशहरुसँग व्यापार घाटामा रहेको थियो । यो बर्षको उत्तराद्र्धमै कोरोना भाईरसको महामारीका कारण ती देशबाट आउने मालवस्तु नआउादा हुँदा आयात भन्दा निर्यात बढेको व्यवसायीहरु बताउँछन् ।

तर नेपालका नजिकका छिमेकी देश चीन र भारतसँग भने व्यापारघाटाको खाडल ठूलो छ । तर, पछिल्लो समय भारत र चीनसँग हुने व्यापारघाटामा पनि सुधार आएको टीईपीसीले जानकारी दिएको छ । टीईपीसीको तथ्यांकअनुसार भारतसँग हुने व्यापारघाटा गत बर्षको सोही अवधिको तुलनामा चालु आवको पहिलो २ महिनामा १६ प्रतिशतले कमी आएको छ । यस्तै चीनसँग हुने व्यापारघाटामा भने पोहोरको तुलनामा ४० प्रतिशतले घटेको छ ।

चालु आवको पछिल्लो २ महिनामा नेपालले विभिन्न देशहरुमा कृषिसम्बन्धी उत्पादनहरु मात्रै ६ अर्ब ६६ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । यस्तै नेपालले साना तथा मझौला उद्योगबाट उत्पादन हुने विभिन्न मालवस्तु ६ अर्ब २३ करोड रुपैयाँ बढीको निकासी गरेको टीईपीसीको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो २ महिनामा नेपालबाट सबैभन्दा बढी सोयाबिन तेलको निकासी गरेको । चालु आवको २ महिनामै नेपालले ३ करोड ९५ लाख किलो सोयाबिन तेलको नेपालबाट निकासी भएको छ । यस्तै नेपालले उक्त २ महिनामा ५३ लाख किलो बराबर चिया निकासी गरेको छ । यो बर्ष नेपालको चिया निकासी रेकर्ड दरमा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL