Logo

जहाज व्यवसायीको गुनासो एक दिनमै सम्बोधन गरेको सरकारले यातायात व्यवसायीको गुनासो सुनेन् ? तनावमा यातायात व्यवसायी

जहाज व्यवसायीको गुनासो एक दिनमै सम्बोधन गरेको सरकारले यातायात व्यवसायीको गुनासो सुनेन् ? तनावमा यातायात व्यवसायी



काठमाडौं । सरकारले असोज १ देखि आधा यात्रुमात्र राखेर आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गर्यो । तर, व्यवस्थापनका लागि भन्दै असोज ५ देखि उडान सञ्चालन गर्न तयार भएका एयरलाइन्स व्यवसायीहरुले त्यसलगत्तै आधामात्र यात्रु बोकेर उडान नगर्ने अडान राखेर सरकारलाई दबाब दिए । व्यवसायीको दबाबपछि सरकारले सबै सिटमा यात्रु राख्न पाउने गरि आन्तरिक उडानलाई अनुमति दियो र असोज ५ यता आन्तरिक उडान सहजतापूर्वक सञ्चालन भइरहेको छ ।

तर, असोज १ देखि नै सञ्चालनमा आएका सार्वजनिक यातायातका व्यवसायीहरु भने आधामात्र यात्रु राखेर सञ्चालन गर्नुपर्ने प्रावधानका कारण समस्यामा परेको भन्दै दिनहुँ गुनासो गरिरहेका छन् । सार्वजनिक यातायातका साधन र उडानको नीतिमा विभेद गर्दा यातायात व्यवसायी मर्कामा परेको भन्दै व्यवसायीहरुले असन्तुष्टि पोखिरेका छन् ।

असोज १ गतेदेखि संचालनमा आएको भएपनि लामो रुटका सार्वजनिक यातायात अहिले यात्रु नपाउँदा ठूलो मर्कामा परेको भन्दै व्यवसायीहरुसरकारले आफ्नो गुनासो सम्बोधन नगरे खर्च धान्नै मुश्किल हुने भएका कारण सवारी बन्द गर्नुपर्ने अवस्था आउन सकने बताइरहेका छन् । पहिले ३ देखि ४ दिनसम्म रामै संख्यामा यात्रु पाएका यातायात व्यवसायीले हाल एक गाडीमा ९ देखि १५ जनासम्म मात्रै यात्रु बोकिरहेका बताउँछन् ।

असोज ५ गतेदेखि संचालनमा आएको आन्तरिक हवाई उडानका कारण सार्वजनिक यातायातका यात्रु घटेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् । सरकारले जहाजमा शतप्रतिशत मान्छे राखेर पहिलेकै भाडादरमा उडान अनुुमति दिनु र सार्वजनिक यातायातमा भने पहिलेको भाडामा ५० प्रतिशत थपेर आधा यात्रु राख्ने नियमले यस्तो अवस्था सिर्जना भएको उनको भनाई छ ।

गत भदौ २८ गते बसेको मन्त्रिपरिषदको बैठकले लामो दुरीका सार्वजनिक सवारीसाधन र आन्तरिक हवाई उडान असोज १ गतेदेखि नै संचालनमा ल्याउने निर्णय गरेको थियो । तर आन्तरिक हवाई उडान र लामो दुरीका सार्वजनिक सवारीसाधनले पहिलेको भाडामा ५० प्रतिशत थप भाडा लिने र आधा मात्रै यात्रु बोक्ने निर्णय भएको थियो ।

सोहीअनुसार सार्वजनिक यातायात व्यवसायीले आफ्ना सार्वजनिक सवारीसाधन सरकारको निर्णयअनुरुप नै संचालनमा ल्याएपनि वायुसेवा संचालकहरुले भने आधामात्रै यात्रु राखेर उडान भर्न नसकिने अडान राखे । उनिहरुले बरु भाडा पहिलेकै लिने तर यात्रु शतप्रतिशत नै राख्ने माग राख्दै असोज १ गतेदेखि उडान नै भरेनन् । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असोज ४ गते पुरानै भाडादरमा शतप्रतिशत यात्रु राखेर जहाज उडाउन पाईनेगरी निर्णय गर्यो र त्यसको स्वागत गर्दै वायुसेवा संचालकले असोज ५ गतेदेखि नै आन्तरिक उडान सुरु गरे ।

यता पहिल्यै सरकारले गरेको निर्णयलाई पालना गर्दै सार्वजनिक यातायात संचालन गरेका व्यवसायीले भने त्यसको मूल्य चुकाउनुपर्यो । असोज ५ गतेदेखि आन्तरिक हवाई उडान पुरानै भाडादरमा संचालनमा आएपछि सार्वजनिक यातायात चढ्ने प्रायजसो यात्रुहरु जहाज चढेर गन्तव्यमा जान थाले । यसको प्रत्यक्ष असर सार्वजनिक सवारीसाधनमा पर्यो ।

आन्तरिक हवाई उडानमा यात्रुको चाप बढिरहँदा आजैदेखि पुनः उडान कोटासमेत थपिएको छ । सरकारले पहिलो चरणमा लकडाउन अगाडिको तुलनामा ५० प्रतिशत मात्रै उडान गर्ने निर्णय गरेको थियो । तर, यात्रुको चाप बढ्दै जाँदा आजैदेखि सबै वायुसेवा संचालकहरुले थप गन्तव्यमा समेत उडान अनुमति पाएका छन् ।

तर, सार्वजनिक यातायातमा आवतजावत गर्ने यात्रुको संख्यामा गिरावट आईरहँदा लामो रुटमा सार्वजनिक सवारीसाधन संचालन गर्ने व्यवसायीहरु भने तनावमा छन् । हाल सार्वजनिक यातायात धनीहरुले पनि बसमा सिटभरी यात्रु राखेर पुरानै भाडादरमा सेवा सुचारु गर्ने माग राखिरहेका छन् । तर हालसम्म उनीहरुको मागको कसैले सुनुवाई नगरेको महासंघका महासचिव सिटौला बताउँछन् । उनका अनुसार यातायात व्यवस्था विभागलगायत मन्त्रालयमा पनि कुरा राखिसकिएको छ । तर सिटभरी यात्रु राखेर पुरानै भाडादरमा यात्रु बोक्न पाईने टुङगो छैन । जसका कारण ६ महिना ग्यारेजमा थन्किएर सञ्चालनमा आएका सार्वजनिक यातायातका सवारी अब कसरी निरन्तर सञ्चालन हुन्छन भन्ने प्रशन पनि उठेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL