Logo

यातायात व्यवसायीको दुखेसो : न यात्रु छन् न आम्दानी छ, भाडाका कारण बसका यात्रु जहाज चढन थाले

यातायात व्यवसायीको दुखेसो : न यात्रु छन् न आम्दानी छ, भाडाका कारण बसका यात्रु जहाज चढन थाले



काठमाडौं । पछिल्लो केहीदिनयता लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधनमा यात्रुको चाप ज्यादै न्यून छ । करिव ६ महिना थन्किएर असोज १ गतेदेखि संचालनमा आएको लामो रुटको सार्वजनिक यातायात सेवा हाल विभिन्न सर्तहरुसहित संचालनमा छ ।

सरकारले विभिन्न मापदण्ड तोकेर संचालनमा ल्याएको सार्वजनिक यातायात सेवामा हाल सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्नुपर्ने र भाडा थप ५० प्रतिशत थपेर चलाउन सरकारले निर्देशन दिएको छ । जसका कारण यात्रुहरुको संख्या न्यून छ भने भने सार्वजनिक यातायात व्यवसायीहरुले दैनिक खर्च पनि उठाउन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् ।

सरकारले ५० प्रतिशत भाडा थपेर लिने सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राख्नुपर्ने बाध्यकारी नियमका कारण हाल घाटामा सार्वजनिक यातायात चलाउनु परेको सिटौलाको दाबी छ । गाडीको भाडा बढेसँगै गाडीको र हवाईजहाजको भाडा उस्तै–उस्तै परेको छ भाडा उस्तै परेपछि गाडीमा हिँड्ने प्राय यात्रुले हवाईजहाजलाई विकल्पको रुपमा प्रयोग गर्दा गाडीको यात्रु घटेको उनको भनाई छ । ‘सरकारले हामीलाई विभेदकारी नियम लाद्यो र गाडीको भाडा बढ्यो,’ उनले भने, ‘तर हवाईजहाजमा भने शतप्रतिशत यात्रु राख्दा भाडा पुरानै हुँदा हाम्रा यात्रुहरु पनि जहाजले बोक्न थाले ।’

यता वायुसेवा कम्पनीहरुका लागि पनि सरकारले ५० प्रतिशत यात्रु राखेर ५० प्रतिशत भाडा थपेर जहाज संचालन गर्न निर्देशन दिएको थियो । तर वायुसेवा संचालकहरुले भाडा नबढाउने, स्वास्थ्य सुरक्षा मापदण्डलाई ध्यानमा राखी शतप्रतिशत यात्रु चढाउन नपाए जहाज सञ्चालन नगर्ने भन्दै सरकारलाई दबाब दिएपछि सरकारले शतप्रतिशत यात्रु राखेर जहाज संचालनको अनुमति दिएको थियो ।

सोहीअनुसार एयरलाइन्सहरुले पूर्ण क्षमतामा यात्रु राखेर पुरानै भाडामा यात्रु ओसारपसार गर्दा यसको प्रत्यक्ष असर सार्वजनिक बसहरुमा परेको काठमाडौंस्थित गोंगबु बसपार्कको व्यवस्थापन जिम्मेवारी पाएको ल्होत्से वहुउद्देसिय कम्पीका महाप्रबन्धक सुनिक कुँवर बताउँछन् । उनका अनुसार जहाजका कारण बसका यात्रुमा प्रत्यक्ष असर परेको छ भने एकातिर पहिलेको तुलनामा गाडीहरु बढेपछि पनि यात्रुको केही कमीको महसुस गरिएको छ ।

गाडी खुलेको केही दिनसम्म गाडीहरु एकजुट हुनै केही समय लाग्दा प्रतिदिन काठमाडौंबाट १५ देखि २० गाडी मात्रै छुटे । सोहीअनुसार यात्रुको चाप बढीजस्तो देखिएपनि हाल काठमाडौंबाट मात्रै प्रतिदित सयौं गाडीहरु छुट्ने भएपछि यात्रु कमजस्तो देखिएको उनको भनाई छ । ‘हाल काठमाडौंबाट बाहिरिँदा प्रतिगाडी जम्मा १० देखि १२ जना मात्रै जान्छन्,’ उनले भने, ‘तर बाहिरबाट आउनेको संख्यामा भने केही वृद्धि भईरहेको छ ।’

भारतीय नाका खुल्दा काठमाडौं प्रवेश गर्ने यात्रुको चाप भने जानेको तुलनामा बढी भएको महासंघका महासचिव सरोज सिटौला बताउँछन् । तर, काठमाडौंबाट ५० प्रतिशतभन्दा पनि कम यात्रु बाहिररिए पनि काठमाडौं भित्रिदा भने ५० प्रतिशत बढी हुनेगरेको ल्होत्सेका कुँवर बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL