Logo

अर्थतन्त्र ठप्प हुँदा बढेको सुनको मूल्य अर्थतन्त्र चलायमान भएसँगै घट्दैं, दशैंसम्म प्रतितोला ८५ हजारसम्ममा झर्ने अनुमान

अर्थतन्त्र ठप्प हुँदा बढेको सुनको मूल्य अर्थतन्त्र चलायमान भएसँगै घट्दैं, दशैंसम्म प्रतितोला ८५ हजारसम्ममा झर्ने अनुमान



काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य घट्दो क्रममा छ । एक समय बढेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य घटेर हालसम्म आईपुग्दा प्रतितोला ९४ हजार ३ सय रुपैयाँ पुगेको छ ।

अन्तरराष्ट्रिय बजारमा सुनको विक्रीमा चाप आउँदा यसको मूल्य लगातार घढ्ने बाटोमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणि रत्न शाक्य बताउँछन् । उनका अनुसार अर्थतन्त्र ठप्प हुँदा एक्कासी बढेको सुनको मूल्य अर्थतन्त्र चलायमान भएसँगै घटेको हो ।

‘नेपाललगायत विश्वभर आर्थिक क्रियाकलापमा केही सहजीकरण भएसँगै यसको मूल्यमा समेत गिरावट आएको छ । तर नेपालमा भने अन्तरराष्ट्रिय स्तरमै सुनको मूल्य घटेका कारण असर परेको हो । अन्तररष्ट्रिय स्तरमै सुनको मूल्य घटेपछि यसको असर नेपाली बजारमा परेको छ,’ उनले भने, ‘तर नेपाली बजारकै कारण भने यसको मूल्यमा असर परेको देखिँदैन ।’ उनले यस्तै अवस्थाले सुनको मूल्य घट्दै जाँदा दशैंसम्ममा सुनको मूल्य ८५ हजार रुपैयाँ पुग्ने अनुमान लगाएका छन् ।

आर्थिक क्रियाकलापमा सहजीकरण र सुन विक्रीको चाप बढ्दा घटेको सुनको मूल्य घटबढ भएपनि दशैंसम्ममा भने प्रतितोला ८५ हजार रुपैयाँमा झर्ने उनको अनुमान छ ।

यस्तै सुनको मूल्य घटिरहँदा यसको मूल्य नेपालमा प्रतितोला १ लाख ५० हजारसम्म पुग्ने अनुमान गर्दै खरिद गर्नेले पनि भनेअनुसार मूल्य नपाउने अवस्था सिर्जना भएको छ । महासंघका निवर्तमान अध्यक्ष शाक्यका अनुसार बढी फाइदा कमाउने लोभले सुन खरिद गरेका सुनका लगानीकर्ताले पनि पुर्पुरोमा हात राख्ने बेला आईसक्यो ।

यसरी सुनको मूल्य घट्दा मूल्य बढेको बेला किनिएका गहनाहरु पनि घाटामा बेच्नुपर्ने अवस्था आएको व्यवसायीहरु बताउँछन् । हाल व्यवसायी तथा अन्य केही क्रेताहरुले समेत ठुलो मात्रामा सुन खरिद गरेर स्टक राखेकाले हाल सुनको मूल्य घट्दै गएपनि यसको विक्री चाप बढेको छ । यसरी नेपाललगायत अन्तरराष्ट्रिय स्तरमै पनि सुनको चाप बढेपछि मूल्यमा स्वतः कमी आएको हो ।

यस्तै पछिल्लो समय विश्वभर सुनका क्रेता तथा विक्रेताहरुले सुनमा नाफा बुक गर्ने प्रचलन बढेपछि यसको मूल्य घटेको महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य बताउँछन् । उनका अनुसार हाल विश्वभर सुनको नाफा बुक गर्ने प्रचलन बढेको छ, जसका कारण यसको विक्रीमा चाप आई मूल्यमा लगातार गिरावट आईरहेको छ ।

आज नेपालमा सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ पुगेको छ । पछिल्लो २ दिनमै करिव ३ हजारले घटेको सुनको मूल्य आज मात्रै १ हजार २ सय रुपैयाँले घटेको छ । यस्तै मंगलबार मात्रै सुनको मूल्यमा १ हजार ७ सय रुपैयाँको गिरावट आएको थियो । साथै अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्यमा १८ डलरको गिरावट आउँदै १ हजार ८ सय ८२ डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्