Logo

नागढुंगा सुरुङमार्गको काम निषेधाज्ञामा धमाधम चल्दै, जापानमा अड्किएका प्राविधिक आउँदैं

नागढुंगा सुरुङमार्गको काम निषेधाज्ञामा धमाधम चल्दै, जापानमा अड्किएका प्राविधिक आउँदैं



काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाकाका रुपमा रहेको नागढुंगा–नौबिसे खण्डमा बन्दै गरेको सुरुङमार्गको काम निषेधाज्ञामा पनि धमाधम चलिरहेको छ ।

गत वर्षदेखि नै सुरु गर्ने भनिएको उक्त सुरुङमार्गको काम यही जेठदेखि सुरु भएकोमा अहिले भने तीव्र रुपमा भइरहेको हो ।

३ महिना लामो लकडाउनको अवधिमा केही अवरोध भएपनि हाल भने काम तीव्र रुपमा चलिरहेको सडक विभाग बहुपक्षीय विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । उनका अनुसार लकडाउनमा सुरुङमार्गको काम यसरी अघि बढ्न सकेको थिएन ।

गत कार्तिक ७ गते शिलान्यास भएको उक्त सुरुङमार्गमा जग्गा मुआब्जालगायतको विवादका कारण काम अघि बढ्न सकेको थिएन । तर, जेठ महिनामा जग्गा मुआब्जाको टुंगो लागेपछि काम धमाधम भईरहेको उनले बताए ।

हाल उक्त सुरुङमार्गको प्रवेशद्वार धादिङतर्फ सिस्नेखोला र काठमाडौंतर्फ सतुंगलमा सुरुङमार्गको मुख खोल्ने काम भईरहेको छ । प्रतिदिन करिव २ सय जना कामदार तथा प्राविधिकहरुले काम गरिरहेका छन् । थापाका अनुसार हाल ९ जना प्राविधिकहरु भने जापानमै अड्किएका छन् ।

नेपालमा सुरुङमार्गको मुख खोलिसकेपछिको कामका लागि भने ती प्राविधिक आवश्यक पर्ने भएकाले अड्किएका प्राविधिकहरु ल्याउने प्रक्रिया अघि बढिसकेको उनले बताए । उनका अनुसार कोरोना संक्रमण्का कारण हवाइसेवा ठप्प हुँदा ती ९ जना प्राविधिक आउन नसकेका हुन् ।

जसका लागि सडक विभागले परराष्ट्र मन्त्रालयमा पत्राचार गरिरहेको छ । जापानी कम्पनी हाज्मा आन्दो कर्पाेरेशनले निर्माण गरिरहेको उक्त सुरुङमार्गमा हाल १० जना जापानीबाहेक सबै नेपाली कामदारहरुले काम गरिरहेका छन् ।

काठमाडौंपट्टीको द्वारमा समस्या

सुरुङमार्गको काम धमाधम भईरहेको भएपनि काठमाडौंपट्टिको सुरुङमार्गको द्वारमा भने काम गर्न अप्ठ्यारो भएको छ । महाशाखा प्रमुख थापाका अनुसार सतुंगल क्षेत्रमा माटो गिलो अर्थात हेभी भएकाले काम गर्न केही असहज स्थिति पैदा भएको छ । जसका कारण कामको गति पनि घटाउनु परेको छ ।

जापान सरकारको सहुलियत ऋणमा बन्न लागेको उक्त सुरुङमार्ग २ दशमलव ७ किलोमिटरको हुनेछ । २२ अर्ब लागतमा बन्न लागेको सुरुङमार्गमा १६ अर्ब जापानले सहुलियत ऋण उपलब्ध गराएको छ ।

यस्तै नेपालले ६ अर्ब रुपैयाँ आन्तरिक स्रोतबाट जुटाउनेछ । सुरुङमार्गको काठमाडौंतर्फको मुखमा दुईवटा एप्रोच फ्लाईओभर बनाउने योजना छ । जसका लागि जग्गा अधिग्रहण पनि भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL