Logo

कोरोना भ्याक्सिनबारे भारतले तयार पार्यो ५ रणनीति, नेपालले निशुल्क भ्याक्सिन पाउने

कोरोना भ्याक्सिनबारे भारतले तयार पार्यो ५ रणनीति, नेपालले निशुल्क भ्याक्सिन पाउने



काठमाडौं । भारतले अक्सफोर्ड विश्वविद्यालय र भारतीय कम्पनीहरुले बनाउँदै गरेको कोरोना भाईरस विरुद्धको खोपबारे ५ रणनीति तयार गरेको छ । भारत विश्वकै सबैभन्दा ठुलो भ्याक्सिन उत्पादक देश भएकाले आफुले अक्सफोर्ड विश्विद्यालयसँगको समन्वयमा उत्पादन गर्ने भ्याक्सिनबारे रणनीति तयार पारेको हो ।

जसअनुसार भारतले उत्पादन गरेको भ्याक्सिन सार्कका राष्ट्रहरुलाई निःशुल्क उपलब्ध गराउनेदेखि पश्चिम एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरुलाई भ्याक्सिन पुर्याउनेसम्म छन् । भारतस्थ्ति केन्द्र सरकारका अधिकारीहरुका अनुसार उक्त योजनाले हाल अन्तिम रुप लिँदैछ ।

नीति आयोगका डा भीके पलको अध्यक्षतामा भ्याक्सिनका लागि बनाइएको विशेषज्ञ समूहको सल्लाह लिइँदैछ । यो योजनाले अन्तिम रुप दिएपछि सम्बन्धित लाभग्राहीसँग सम्झौताको प्रक्रिया सुरु हुनेछ र यसलाई अन्तिम रुप दिइनेछ ।

हिन्दूस्तान टाइम्सका अनुसार भारतको यो योजनामा भारतले नै विकास गरेका र अहिले ट्रायलको क्रममा रहेका २ भ्याक्सिन समावेश हुनेछन् । यसबाहेक बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिन पनि यसमा समावेश गर्ने तयारी भइरहेको छ । यो भ्याक्सिन एस्ट्राजेनेका कम्पनीले भारतको सीरम इन्स्टिच्युट अफ इण्डियासँग मिलेर बनाउँदैछ र भारतमा सिरमले नै यो भ्याक्सिन उत्पादन गर्दैछ ।

भ्याक्सिन कूटनीतिका ५ मोडलमध्ये पहिलो मोडलमा सार्क राष्ट्रका निकट छिमेकीहरुलाई निःशुल्क भ्याक्सीन उपलब्ध गराउने तयारी छ । अधिकारीहरुका अनुसार पाकिस्तानलाई यो योजनामा राख्नेबारे सोचिएको छैन किनकि इस्लामाबाद चीनले विकास गरिरहेको भ्याक्सिनमा निर्भर रहेको मानिएको छ ।

दोस्रो रणनीतिमा भारतको अन्तर्राष्ट्रिय सहयोगको रुपमा गरिब देशहरुलाई भ्याक्सिन दिने योजना छ । यसबाहेक सप्लाइ ग्यारेन्टीका साथ मार्केट प्राइज पर्चेज डील गर्ने, भारतीय भ्याक्सिनको ट्रायलको लागि अन्य देशहरुसँग समन्वय गर्ने, भ्याक्सीन स्वीकृत हुनासाथ भ्याक्सिन उत्पादनको लागि अन्य देशको सहयोग गर्नेलगायतका रणनीति तय गरिएको छ ।

यससँगै नेपालले पनि अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको भ्याक्सिन निशुल्क पाउने सम्भावना बढीरहेको छ । भारतको रणनीति अनुरुप नै नेपाल सार्क राष्ट्रमा पर्ने भएकाले सोही अुनसार नेपालले भ्याक्सिन निशुल्क पाउने बताईएको छ । उक्त रणनीतिहरु स्विकृत भएको खण्डमा नेपाललगायत सार्क राष्ट्रहरुले उक्त खोप निशुल्क पाउनेछन् । –हिन्दुस्तान टाईम्सबाट

प्रतिक्रिया दिनुहोस्
MBL