Logo

आयात वृद्धिदर घट्दा पनि १० बस्तुको आयात दोब्बरले बढ्यो, तेलजन्य सामग्रीको आयात उच्च

आयात वृद्धिदर घट्दा पनि १० बस्तुको आयात दोब्बरले बढ्यो, तेलजन्य सामग्रीको आयात उच्च



काठमाडौं । पछिल्लो केही बर्षयता नेपालको वैदेशिक व्यापारमा केही सुधार देखिएको छ । आयातमुखी अर्थतन्त्र रहेको नेपालले केही बस्तुको आयातमा गरेको कडाई र कोरोना संक्रमणका कारण जारी बन्दाबन्दीका कारण गत आवको वैदेशिक व्यापारमा सुधार देखिएको छ ।

हुन त पछिल्ला केही बर्ष यता नेपालले गर्ने आयात निरन्तर ओरालो लागिरहेको र निर्यात व्यापारमा पनि सुधार भने आइरहेको देखिन्छ । २ बर्ष अघिसम्म नेपालको बजेटको आकारजत्तिकै हुने व्यापार घाटाको खाडल २ बर्षयता घट्दो छ ।

गत आर्थिक बर्ष नेपालले गर्ने आयातको व्यापारमा १५ दशमलव ६० प्रतिशतको गिरावट आउँदा निर्यातको व्यापारमा सामान्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गत आर्थिक बर्षको तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी आयात हुने २० बस्तुहरुले मात्रै आयातको ५६ प्रतिशत हिस्सा ओगटेको देखिन्छ ।

जसमध्ये पेट्रोलियम पदार्थदेखि सुनसम्म रहेका छन् । गत आर्थिक बर्षभरी १ खर्ब ६३ अर्ब ७० करोड रुपैयाँ बराबरको पेट्रोेलियम पदार्थमात्रै आयात भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो बर्ष २ खर्ब १५ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएकोमा यो बर्ष भने यसको आयातमा २४ प्रतिशतको गिरावट आएको हो ।

तर, अघिल्ला बर्षहरुको तुलनामा नेपालमा कच्चा तेलको आयातमा भने ठुलो वृद्धि भएको पाईएको छ । धेरै आयात हुने वस्तुको १४ औं स्थानमा रहेको कच्चा सोयाविन तेलको आयात गत अघिल्लो बर्षको तुलनामा झण्डै ३९ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार गत बर्षभरी मात्रै कच्चा सोयाविन तेल १८ अर्ब ७४ करोड रुपैयाँ बराबरको आयात भएको छ ।


यस्तै कच्चा पाम तेलको आयात पनि गत आर्थिक बर्ष १७ अर्ब ९९ करोड रुपैयाँ बराबरको भएको छ । केहीबर्ष यता कच्चा पाम तेलको आयातमा वृद्धि हुनुका साथै रिफाईन पाम तेलको निर्यातमा पनि सोही अनुसारको वृद्धि जारी छ ।

गत बर्ष कच्चा पाम तेलको आयात अघिल्लो बर्षको तुलनामा ५२ प्रतिशतले बढेको छ । यसरी तेलजन्य २ बस्तुले मात्रै नेपालको कुल आयात व्यापारको ३ प्रतिशत हिस्सा ओगटेका छन् । यी २ बस्तुको आयात वृद्धिदर पनि अन्यको तुलनामा ५० प्रतिशतमाथि रहेको तथ्यांकमा उल्लेख छ ।

तर, अघिल्ला बर्षहरुमा लगातार आयातमा वृद्धि भईरहने यातायातका साधन र पार्टपुर्जा, मेशिनरी बस्तु एमएस विलेटको आयातमा क्रमशः ३०, १४ र ३६ प्रतिशतको गिरावट आएको छ । गत बर्ष कृषि उत्पादनमा केही कमी आउँदा चामलको आयात ३ दशमलव ५ प्रतिशतले बढेको छ । यसरी धेरै आयात हुने बस्तुको आयात वृद्धिदरमा संकुचन आएका कारण व्यापार घाटाको खाडल पुरिँदो अवस्थामा पुगेको छ ।

तर, अझै सरकारी तवरबाट र निजी स्रोतबाट नेपालमा खपत हुने बढीभन्दा बढी बस्तुको उत्पादन स्वदेशमै गर्न सकियो भने अझै आयातमा कटौतिसँगै निर्यात पनि बढाउन सकिनेछ । दिगो आर्थिक विकासका लागि आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्र बनाउनु जरुरी रहेको सरोकारवालाहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL