Logo

ऋणीमाथि बैंकहरुको अनावश्यक दबाब : ब्याजको पनि ब्याज, किस्ता र ब्याज असुली गर्न ‘वर्किङ क्यापिटल’ थप

ऋणीमाथि बैंकहरुको अनावश्यक दबाब : ब्याजको पनि ब्याज, किस्ता र ब्याज असुली गर्न ‘वर्किङ क्यापिटल’ थप



काठमाडौं । कोरोनापछि उद्योग व्यवसायमा असर परेको भन्दै नेपाल राष्ट्र बैंकले त्यस्ता उद्योग व्यवसायले लिएको कर्जा तिर्ने समयको म्याद थप गरेपनि बैंक तथा वित्तीय संस्थाले भने ठिक त्यसको विपरित ऋणीलाई दबाब दिँदै असुली थालेका छन् ।

नेपाल राष्ट्र बैंकले उद्योग व्यवसायमा कोरोना असर अनुसार कर्जाको किस्ता र ब्याज भुक्तानी गर्ने समय ६ महिना, ९ महिना र १ बर्षका लागि समय दिएको छ । साथै होटललगायतका व्यवसायका लागि दुई बर्षसम्म पनि समय दिन सकिने मौद्रिक नीतिमार्फत उल्लेख गरेको थियो ।

तर ठिक त्यसको विपरित बैंक तथा वित्तीय संस्थाले भने जसरी पनि कर्जा असुली गर्ने नीति अनुरुप ब्याजलाई पूँजीकरण गरिदिने तथा कर्जाको किस्ता र ब्याज असुली गर्न वर्किङ क्यापिटलको नाममा थप कर्जा थपिदिने गरेको सम्बद्ध उद्योगी व्यवसायीहरु बताउँछन् । राष्ट्र बैंकको निर्देशनअनुसार तोकिएको समयसिमाभित्र कर्जाको ब्याज तिरेमाा त्यस्तो ब्याजमा बैंकहरुले हर्जना लगाउन मिल्दैन । तर त्यसरी छुट दिँदा बैंकहरुले ब्याज नपाउने भन्दै ब्याजलाई पनि पूँजीकरण गरेर त्यसमा पनि थप ब्याज असुली गर्न सुरु गरको एक उद्योगीले जानकारी दिए ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले उद्योग व्यवसाय विस्तार तथा कर्मचारीलाई तलब दिनका लागि थप वर्किङ क्यापिटल प्रदान गर्नुभन्दा पनि कर्जाको किस्ता र ब्याज असुली गर्नका लागि थप कर्जा दिन थालेका नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापति एवं लक्ष्मी ग्रूपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले जानकारी दिए ।

‘राष्ट्र बैंकको नीति अनुसार कर्जा नविकरण गर्दा बाणिज्य बैंकले ०.७५ प्रतिशतभन्दा बढी सेवाशुल्क लिन पाउँदैनन् तर कतिपय बैंकहरुले एक त्रैमासकै लागि नविकरण गर्न २ प्रतिशतसम्म सेवा शुल्क माग गरिरहेका छन्,’ उनले भने, ‘पछिल्लो समय कोरोनाको कारणले भन्दा पनि बैंक तथा वित्तीय संस्थाको अनावश्यक दबाब र ज्यादीका कारण उद्योगी व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन् ।’

पछिल्लो समय बैंकहरुले ब्याजलाई पूँजीकरण गर्न तथा कर्जाको किस्ता र ब्याज तिर्नका लागि थप कर्जा लिनका लागि दैनिक जसो दबाब दिने गरेको एक अर्का व्यवसायीले जानकारी दिए । ‘अहिले बैंकहरुले हामीले तपाईले कर्जाको किस्ता र ब्याज तिर्न सक्नहुन्न भने थप कर्जा दिएर मिलान गर्नका लागि फाइल रेडी गरेका छौं हस्ताक्षर गर्न आउनु भनेर समेत फोन गर्न थालेका छन्,’ ती व्यवसायीले भने, ‘साथै कतिपय बैंकहरुले ब्याजलाई पूँजीमा मिलान गरिदियौैं भनेर समेत फोन गर्न थालेका छन् ।’

साथै पछिल्लो समय सवारीसाधान खरिदका लागि कर्जा प्रबाह गर्दै आएका सम्बन्धित अटो बिक्रेता कम्पनीका इन्भेष्टमेन्ट कम्पनीले समेत कोरोनाका कारण किस्ता तिर्न नसकेका ग्राहकका उक्त किस्ता वापतको ड्यु रकमलाई पूँजीकरण गरिदिएर थप ब्याज असुल गर्न लागेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकले कोरोनाका कारण असोजसम्म असुल गरेको ब्याज रकमलाई समेत आर्थिक बर्ष २०७६ र ७७ को आम्दानीमा देखाउन पाउने व्यवस्था गरेको छ । सोहीअनुरुप बैंकहरुले जसरी पनि आफ्नो नाफा बढी देखाएर आफुलाई अब्बल देखाउन ग्राहकलाई दबाब दिन थालेको सम्बद्ध पक्षको भनाई छ ।

यसैगरी नेपाल राष्ट्र बैकले पनि अहिलेको अवस्थामा बैंकहरुले ऋणीहरुलाई अनावश्यक दबाब दिएर कर्जाको किस्ता तथा ब्याज असुली गर्न नमिल्ने बताएको छ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको गाईडलाईनभन्दा बाहिर गएर ऋणीलाई दबाब दिएर कर्जा असुली गर्न नपाईने राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्टले बताए । ‘यदि कुनै बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई दबाब दिएर ब्याजलाई पूँजीकरण गरेमा वा किस्ता र ब्याज उठाउन वर्किङ क्यापिटलको नाममा थप कर्जा थपेमा राष्ट्र बैंकको नियमन विभागको गुनासो सुनुवाई इकाईमा उजुरी गर्नुस हामी कारबाही गर्छौैं,’ उनले भने ।

साथै बैंकहरुले तत्कालका लागि कर्जा थप गरेर ऋणीहरुलाई एभर ग्रिनिङ गरेपनि त्यसले दीर्घकालमा भने झन ठूलो समस्या निम्त्याउने उनको भनाई थियो । कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु प्रुडेण्ट बैंकिङ भित्र रहेर काम गर्नुपर्ने बताउँदै यदि ऋणीहरुलाई अनावश्यक दबाब दिएको उजुरी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई कारबाही गरिने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL