Logo

नेपालमा कोरोनाबाट ३३ हजार बढीको मृत्यु हुन सक्ने प्रक्षेपण, सबैले मास्क लगाए ८ हजार हाराहारीमा रोक्न सकिने

नेपालमा कोरोनाबाट ३३ हजार बढीको मृत्यु हुन सक्ने प्रक्षेपण, सबैले मास्क लगाए ८ हजार हाराहारीमा रोक्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस(कोभिड–१९) को बढ्दो संक्रमणसँगै सबैमा चिन्ता र त्रास पनि बढेको छ । संक्रमतिको संख्या वृद्धिसँगै हरेक दिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।

विश्वमा ७ लाख बढीको ज्यान लिइसकेको यो महामारीका कारण नेपालमा अहिलेसम्म २३ हजार बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ८५ को हाराहारीमा छ ।
कोरोना संक्रमणको अवस्था नेपालमा कस्तो रहला भन्ने विषयमा सरकारले पनि अहिलेसम्म स्पष्ट आँकलन गर्न नसकेको अवस्था छ । तर, नेपालमा कोरोना संक्रमणको वर्तमान अवस्था र फैलावटलाई हेर्दा नेपालमा कोरोना संक्रमणबाट आगामी डिसेम्बरसम्म ३३ हजार बढीको मृत्यु हुनसक्ने आँकलन बाहिरिएको छ ।

विश्वका सबै देशको कोरोना संक्रमणबारे अध्ययन गरिरहेको अमेरिकाको ‘युनिभर्सिटी अफ वाशिंगटन’का अनुसार सन् २०२० डिसेम्बर १ सम्म नेपालमा अहिलेकै अवस्था रहे ३३ हजार ४ सय ९३ जनाको ज्यान जान सक्ने छ । तर, यो अवस्था सबै कुरा पूर्ण रुपमा खुला गरे वा नियन्त्रण नगरे आउन सक्ने आँकलन गरिएको हो । सो अध्ययनका अनुसार सरकारले लकडाउनलगायतका विभिन्न संक्रमण नियन्त्रणका लागि कडाई र प्रतिबन्धहरु जारी गरेमा भने डिसेम्बरसम्म नेपालमा १७ हजार २ सय १९ को मात्र ज्यान जाने छ । यस्तै सबैले मास्कलगायतका सुरक्षा व्यवस्था अपनाए कोरोना संक्रमणबाट हुने मृत्यु ८ हजार ८७ मात्र रहने पनि आँकलन गरिएको छ ।

वाशिंगटन विश्वविधालयका अनुसार नेपालमा आगामी महिना अर्थात सेप्टेम्बरबाट संक्रमितको मृत्युको दर बढदैं गएर अक्टोबर मध्यदेखि नोभेम्बरमा उचाई लिनसकने आँकलन गरिएको छ । सो विश्वविद्यालका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्युको दर अक्टोबरदेखि नोभेम्बरसम्म उचाईमा पुग्नेछ । सेप्टेम्बरमा दैनिक ४ बाट बढेर ३४ सम्म पुग्न सक्ने संक्रमितको मृत्यु दर अक्टोबर अन्तिमसम्म ४७०, नोभेम्बर मध्यमा ९००, नाभेम्बर अन्त्यमा ११०० हाराहारीसम्म पुग्न सक्नेछ । यो पूर्ण खुला रहिरहेको अवस्थामा हुनसक्ने आँकलन हो ।

यसैगरी अक्टोबर मध्यसम्म नेपालमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार, अन्त्यसम्म २ लाख ८५ हजार र नोभेम्बर १० सम्म सबैभन्दा उचाईमा पुग्ने आँकलन गरिएको छ । नोभेम्बर पहिलो हप्ता सबैभन्दा बढी संक्रमित बढने आँकलन गर्दैं नोभेम्बर १० सम्म नेपालमा कुल संक्रमित ३ लाख २० हजारको हाराहारीमा पुग्ने विश्वविद्यालयले उल्लेख गरेको छ । सो आँकलनमा नोभेम्बर दोश्रो हप्ताबाट संक्रमितको संख्या क्रमशः ओरोलो लाग्दै नोभेम्बर अन्तिमसम्म २ लाख ३ लाख ६५ हजारमा झर्ने छ ।

यस्तै सो विश्वविद्यालयले कोरोना संक्रमितलाई नेपालमा उपलब्ध अस्पतालको सुविधा र बेड, आइसियु, भेन्टिलेटर जस्ता विषयमा पनि उल्लेख गरेको छ । सो अनुसार नेपालमा संक्रमणको सबैभन्दा उच्च समय आँकलन गरिएको नोभेम्बर पहिलो हप्ताको समयमा संक्रमितका लागि कुल ३८ हजार बेडको आवश्यकता पर्ने उल्लेख छ । जसमा ८ हजार १ सय आइसियु र ७ हजार हाराहारीमा भेन्टिलेटर आवश्यक पर्ने आँकलन गरिएको छ । जसमध्ये ११ सय कुल बेड उपलब्ध रहेको र ११५ आइसियु बेड उपलब्ध रहेको उल्लेख छ । तर, यो अवस्था नेपालले सबै नियन्त्रण हटाएको अवस्थामा आउन सक्ने सो विश्वविद्यालयले आँकलन गरेको हो ।

‘युनिभर्सिटी अफ वाशिंगटन’ले कोरोना संक्रमणका सम्बन्धमा सम्बन्धित देशका सरकारहरुले अपनाउने पूर्ण रुपमा खुला, नियन्त्रण जस्ता अवस्था, सामजिक दूरी तथा मास्कको उपयोगले आँकलन गरिएका संख्यामा फेरबदल आउन सक्ने उल्लेख गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण यतिबेला विश्व नै आक्रान्त छ । बिहिबार बिहानसम्म विश्वमा ७ लाख ४८ हजार १ सय २८ जनाको मृत्यु भएको छ भने २ करोड ६ लाख २८ हजार १ सय १८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ३५ लाख २६ हजार ६ सय ४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६४ हजार ६ सय ६७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । नेपाल कोरोना संक्रमितको हिसावले विश्वको ६६ औँ स्थानमा रहेको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ९१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ७२८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्