Logo

सुन्दर यातायातले साढे २२ करोडका १२ विद्युतीय बस अर्को महिना नेपाल भित्र्याउने, आयातका लागि ‘लोकेसन सिफ्ट’

सुन्दर यातायातले साढे २२ करोडका १२ विद्युतीय बस अर्को महिना नेपाल भित्र्याउने, आयातका लागि ‘लोकेसन सिफ्ट’



काठमाडौं । नेपालमा विद्युतिय सार्वजनिक यातायात सञ्चालन गरिरहेको सुन्दर यातायातले थप बसहरु आयातका लागि कोलकाताबाट रसुवागढी लोकेसन सिफ्ट गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) पछि जारी लकडाउनका कारण भारतको कोलकाता नाकाबाट बस आयातमा चुनौती आएको भन्दै कम्पनीले आगामी महिना भित्र्याउने तयारी गरेका १२ वटा बसका लागि लोकेसन सिफ्ट गरेको हो । यी बसको मूल्य करीब साढे २२ करोड पर्नेछ ।

हालसम्म भारतको कोलकातबाट गाडीहरु भित्र्याउँदै आएको कम्पनीले अब ल्याउने गाडीहरु भने उत्तरी नाकाबाट भित्र्याउने तयारी गरेको हो । कम्पनीले हालसम्म कोलकत्ता नाकाबाट १३ ओटा विद्युतीय बसहरु भित्र्याईसकेको छ ।

गत आर्थिक बर्षभित्रै नेपालमा २५ ओटा विद्युतीय बसहरु भित्र्याउने घोषणा गरेको कम्पनीले लामोसमयको लकडाउनका कारण बाँकी बसहरु भित्र्याउन नसकेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । उनका अनुसार लकडाउनका कारण आउन नसकेका बसहरु तथा अन्य एसेम्बल गर्न मिल्ने उपकरणहरु पनि अब रसुवागढी नाकाबाट भित्रिनेछन् ।

यसअघि कम्पनीका गाडीहरुका लागि चीनतर्फको बाटोमा मोड नपुग्ने र नेपालतर्फ पनि बाटोको अवस्था त्यस्तै रहेकाले हालसम्म विद्युतीय बसहरु ल्याउन अप्ठ्यारो भईरहेको थियो ।

तर, कम्पनीले चीनतर्फ तथा नेपालतर्फका अधिकारीहरुसँगको समन्वयपछि उक्त सडकमा पर्ने अफठ्यारो बाटोलाई बनाउने पहल गरेको थियो । चीनतर्फ पहिरो पन्छाउन र बाटो सहजीकरणपछि कम्पनीले आफ्ना गाडी ल्याउने लोकेसन सिफ्ट गरेको हो ।

यसअघि कम्पनीले कोलकात्ता नाकाबाट गाडी ल्याउँदा धेरै चुनौती खेपेको अध्यक्ष भेषबहादुर थापा बताउँछन् । कोलकात्ता नाकाबाट गाडी ल्याउँदा ब्याट्री ड्यामेज गरिदिने, गाडी नै काम नलाग्ने बनाउनेलगायतका चुनौतीहरु थिए । अर्थात कम्पनी त्यहाँका स्थानीयहरुसँगै डराउनुपर्ने अवस्था थियो ।

त्यसका लागि कम्पनीले काठमाडौंबाट एउटा गाडी ल्याउनका लागि २ जना थप मान्छे पठाउनुपर्ने अवस्था थियो । तर, अब उत्तरी नाका सहजीकरणको प्रक्रिया सुरु भएसँगै सबै समस्या र चुनौतीको अन्त्य भएको अध्यक्ष थापाले बिजखबरलाई जानकारी दिए ।

कम्पनीले चीनको विद्युतिय बस उत्पादक कम्पनी बीएके प्रणालीबाट गाडी ल्यााउने गरेको छ । अब आउने १२ विद्युतीय बसहरु आगामी महिनासम्म ल्याउने योजना रहेको तर, चीनमा अझै कोरोना महामारीका कारण कडाई गरियो भने त्यो समयावधि थपिनेसमेत सक्ने थापले बताए ।

सुन्दर यातायातले चिनियाँ कम्पनीबाट ल्याउने ४५ सिटे विद्युतीय बसको मूल्य १ करोड ८७ लाख रुपैयाँ पर्छ । बसमा सिसीटीभी क्यामरा, डिजिटल टिकेट सिस्टमलगायत जडान गरिएको छ ।

कम्पनीले लकडाउनअघि उपत्यकाको चक्रपथमा गुडाईरहेका बसहरु हाल रत्नपार्कदेखि सुर्यविनायकसम्म सञ्चालन गरिरहेको छ । कम्पनीले आफ्ना विद्युतीय बसहरु बुटवलमा पनि चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL