Logo

आन्तरिक राजश्व विभागद्वारा नयाँ कर प्रणाली लागू, करदातालाई सम्मानजनक व्यवहार गर्न अर्थमन्त्रीको निर्देशन

आन्तरिक राजश्व विभागद्वारा नयाँ कर प्रणाली लागू, करदातालाई सम्मानजनक व्यवहार गर्न अर्थमन्त्रीको निर्देशन



काठमाडौं । आन्तरिक राजश्व विभागले २० लाख भन्दा कम कारोबार गर्ने र २ लाख सम्मको आम्दानी गर्ने करदाताका लागि बिहीबारदेखि सुरु गरेको नयाँ कर प्रणालीको शुरुवात गरेको छ । नयाँ प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न आन्तरिक राजश्व विभागका कर्मचारीहरुलाई निर्देशन दिए ।

अर्थमन्त्री खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिर्दै जबसम्म प्रविधि, कानून र सुशासनका कारणले करदाता मैत्री वातावरण निर्माण गर्न सकिदैन तबसम्म करदाताले अपमानित महसुस गर्ने भएकाले करदातालाई गरिने व्यवहारमा सुधार ल्याउन आग्रह गरे ।

उनले आजदेखि लागू भएको नयाँ कर प्रणालीमा करका अंक, ब्याज र जरिवाना सफ्टवेरले नै गणना गर्ने भएकाले कर अधिकृतले स्वविवेकले करका अंकहरु गणना गर्ने अवस्थाको अन्त्य भएको बताए । यस्तै करको रकम यकिन भइसकेपछि पनि कर बुझाउन निकै लामो झण्झटिलो प्रक्रियामा जानुपर्ने अवस्थाको पनि अन्त्य भएको अर्थमन्त्री खतिवडाले बताए ।

अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आजदेखि लागू भएको कर प्रणालीले साना करदाताको लागत घटाउन सहयोग पुग्ने बताए । नयाँ प्रणालीले करिब ५ लाख करदाता लाभान्वित हुने उनले बताए । यसबाट करदाताको सहभागिता बढाउन सहयोग पुग्ने विश्वास पुडासैनीले गरे ।

आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले आन्तरिक राजश्व विभागका सबै कारोबारलाई प्रविधि मैत्री बनाउने धेयका साथ काम गरिएको बताए । आजदेखि लागू भएको प्रणालीले करिब ५ लाख करदातालाई कर कार्यालय नगईकन कर बुझाउन सक्ने व्यवस्था भएको बताए । उनले चालु आर्थिक वर्षको बजेटले परिवर्तन गरेका आयकरका विषयहरुलाई समावेश गरी आयकर निर्देशिका आजैबाट लागू गरिएको पनि जानकारी गराए ।

बायोमेट्रिक प्रणाली र विभिन्न जिल्लामा १० वटा नयाँ करदाता कार्यालयको सञ्चालन पनि आजैदेखि सुरु गरिएको कुँवरले बताए । सबै व्यवसायीक कोडलाई व्यवस्थित गर्ने नेपाल स्टाण्डर्ड इन्ड्रष्ट्रियल क्लासिफिकेसन (एनएसआईसी) लागू भएको उनले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नागरिक एपसँग समन्वय गरि आजैका दिनदेखि विद्युतिय माध्यमबाट करदाता कार्यालयमा नगईकन व्यक्तिगत प्यान नम्बर लिन सकिने व्यवस्था मिलाईएको पनि कुँवरले बताए ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत २० लाख भन्दा कम कारोबार गर्ने र दुई लाखसम्म आय हुनेहरुका लागि कर चुक्ता गर्न नयाँ प्रणालीको विकास गरिने व्यवस्था गरिएको थियो । सोही व्यवस्था अनुसार आन्तरिक राजश्व विभागले आज देखि नै नयाँ कर प्रणालीलाई कार्यान्वयनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL