काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) अनौपचारिक रुपमा अझै कायम रहेको छ । सरकारले लकडाउन घोषणा गरेको आज १०६ औं दिनमा आइपुगेको छ । हाल जारी खुकुलो लकडाउनको मोडालिटीलाई नै सरकारले आगामी साउन ७ सम्म निरन्तरता दिने घोषणा गरिसकेको छ । साउन ७ सम्म हवाई उडान र अन्तराष्ट्रिय सीमा नाका बन्द रहने सरकारले घोषणा गरेको छ ।
सरकारले गत चैत्र ११ गते पहिलोपटक लकडाउन घोषणा गरेको थियो भने असार १ देखिनै नयाँ मोडालिटी अनुसार लकडाउन खुकुलो बनाएको थियो । लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढेको छ । सरकारले लकडाउन खुकुलो बनाएपछि नेपालले संक्रमणको गति तीब्र भएका बेला अब कसरी लकडाउन ह्याण्डल गर्छ भन्नेमा धेरैको चासो रहेको छ । स्वास्थ्य विज्ञहरुले भने संक्रमण उचाईमा पुग्न लागेकाले थप सर्तक हुनुपर्ने बताइरहेका छन् । अहिले प्रायः बजार खुलेपनि बजारमा उपयुक्त सुरक्षा मापदण्ड र पैदल यात्रीले पनि आवश्यक सुरक्षा नअपनाउँदा संक्रमण थप भयावह हुन सक्ने भन्दै चिन्ता पनि बढेको छ ।
हालसम्म नेपालमा कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा ३४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या बढेर १५ हजार ५ सय नाघेको छ । लकडाउन खुलेसँगै बजारमा बढ्दो चहलपहल र आवश्यक सुरक्षा मापदण्ड पालना नहुँदा थप भयावह अवस्था आउन सक्ने त्रासमा सर्वसाधारण रहेका छन् । सरकारले लकडाउन जारी राख्न चाहेपनि लकडाउनले जनताको दैनिक जीवन नै संकटतर्फ उन्मुख भएको भन्दै विरोध बढेपछि सरकार लकडाउन खुकुलो बनाउन बाध्य भएको थियो । लकडाउनमात्र सरकारले विकल्पका रुपमा लिएकोमा धेरैले आलोचना पनि गरिरहेका थिए ।
दिनहुँ संक्रमित थपिने क्रममा तीब्रता आएको छ । यस्तै काठमाडौं बाहिर रहेकाहरु धमाधम काठमाडौं भित्रिन थालेपछि सरकारलाई थप समस्या परेको छ । काठमाडौंमा बाक्लो जनसंख्या रहेकाले पनि सरकारको चिन्ता बढाएको हो । सरकारले नै संक्रमण उचाईमा पुग्न सक्ने भन्दै सुरक्षा मापदण्ड पालना, समाजिक दूरी कायम र अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन आग्रह गरिरहेको छ ।
गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राऊ गर्ने निर्देशन दिएको छ । घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । सोमबार जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई परिपत्र गर्दै गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
गृहमन्त्रालयले मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने गरी परिपत्र गरेको जानकारी दिएको छ । सरकारले लकडाउन केही खुकुलो बनाएको पछि सार्बजनिक ठाउमा निस्किदा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, बिनाकाम बाहिर ननिस्कन भनेकोमा मानिसहरु बिना काममा बाहिर निस्कने, भिडभाड भएर जम्मा हुने मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने देखिए पछि यस्तो कदम चालेको गृह मन्त्रालयले बताएको छ ।
पछिल्लो समयम नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा थप कडाई गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले विशेष कडाई गरेको हो ।
महाशाखाले जोर विजोर प्रणालीको पूर्णपालना गराउन ५६ वटा चेकप्वाईन्टहरू राखि थप कडाई गरिरहेको छ । सोमबार मात्रै जोर विजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका १६११ वटा दुई पाङ्ग्रे, ४१५ भाडाकार (ट्याक्सी) र ३१९ वटा साना तथा ठूला सवारी गरी २३४५ वटा सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार सोमबार दुई जना सवार २०८३ वटा मोटरसाईकललाई पनि नियन्त्रणमा लिई सम्झाईबुझाई गरी छाडिएको छ । विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको संख्या बढेको कारण थप चेकजाँज गरी कडाई गरेको एसएसपी ढकालको भनाई छ ।
नेपाल सरकारबाट भएका निर्णयहरू पूर्ण रूपमा पालन गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, भिडभाड नगर्न, अत्यावश्यक सेवा र कामबाहेक सवारी साधन नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत महाशाखाले आग्रह गरेको छ । काठमाडौँ उपत्यकामा जेठ ३० गतेदेखि सोमबारसम्म जोर विजोर प्रणाली उल्लङ्घन गर्ने ४१,५०८ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ ।
पछिल्लो समय आर्थिक विश्लेषकहरुले देशको अर्थतन्त्र बचाउन पनि लकडाउन खुकुलो बनाउँदै खोल्नुपर्ने बताए पनि स्वास्थ्य विज्ञहरुले भने लकडाउन हटाए थप भयावह अवस्था आउन सक्ने सुझाव दिइरहेका थिए । सरकारले लकडाउन खुकुलो बनाएसँगै देशैभर बजार खुलिसकेको छ । एकातिर जनमानसमा कोरोनाको त्रास र सर्वसाधारण समस्यामा रहेको अवस्थामा सरकार राजनीतिमा रुमलिनुलाई दुर्भाग्यको रुपमा हेरिएको छ । अर्कोतिर लकडाउन खुकुलो भएपनि संक्रमणको त्रास तथा सार्वजनिक यातायात सुचारु नहुँदा उद्योग–व्यवसाय सञ्चालनमा आएपनि गति लिन नसकेको अवस्था छ । यसले उद्योगी व्यवासयीलाई चिन्तामा पारेको छ । लामो समय लकडाउनमा बन्द रहेर उद्योग व्यवसया खुलेपनि बजार पहिलेझै सहज र सुचारु हुन लामो समय लाग्नसकने चिन्तामा व्यवसायीहरु छन् ।
सरकारले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेपनि व्यवसायीहरुले भने सरकारले भनेजस्तो सुरक्षा मापदण्ड पालनामा भने रुचि नदेखाएको देखिन्छ । धेरैजसोले मास्क, स्यानिटाइजर, पन्जाजस्ता सामान्य सुरक्षा मापदण्डसमेत पालना गरेका छैनन् । यस्तै सर्वसाधारण पनि विना कुनै सुरक्षा सडक तथा बजारमा हिडिरहेको देख्न सकिन्छ ।
काठमाडौं, पोखरालगायत देशका प्रमुख शहरमा लकडाउन अघिकै झल्को दिने भीडभाड देखिएको छ । देशैभर संक्रमितको संख्या उच्च रुपमा बढ्दैं गएपनि सरकारी तयारीमा चुस्तता देखिएको छैन् । सरकार राजनितीक खिचातानीमै व्यस्त देखिइरहेको छ । देशभरका प्राय क्वारेन्टिनमा अवस्था नाजुक रहेको छ । यस्तोमा सरकारले आँकलन गरेअनुसार नै भदौंसम्म ५० हजार संक्रमित कसरी व्यवस्थापन हुन्छन र सही व्यवस्थापन नहुँदा समुदायस्तरमा कोरोना महामारी फैलियो भने कसरी सामना गर्न सकिन्छ भनेर अहिलेसम्म उपयुक्त रणनीति तय नभएको जानकार बताउँछन् ।
पछिल्लो समयमा सरकारी अनुगमन हुन नसक्दा र सर्वसाधारणले वेवास्ता गर्दा संक्रमणको गम्भीर जोखिम बढेको छ । तर, पछिल्लो समय संक्रमितको बढ्दो संख्या र सर्वसाधारण तथा व्यवसायीले समेत लापरवाही गरेका कारण संक्रमण समुदाय स्तरमा फैलन सक्ने सम्भावना बढेको भन्दै पुनः लकडाउन कडा हुन सक्ने चर्चा पनि चलिरहेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेर सवारी साधन, हवाई सेवा, अन्तर्राष्ट्रिय सिमाना बन्द र अत्यावश्यक कामबाहेकमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको थियो । लगभग ८० दिन लकडाउन गरेपछि सरकारले पुनः लकडाउन खुकुलो बनाएको थियो ।
हाल सरकारले बिदेशमा रहेका नेपालीलाई उद्धारको क्रम तीब्र बनाएको तथालकडाउन खुकुलो भएसँगै सर्वसाधारण तथा व्यवसायीलेसमेत सुरक्षा मापदण्ड पालना नगर्दा खतरा बढेको भएपनि सरकार थप सुरक्षा मापदण्ड अपनाएर हाल बन्द रहेका क्षेत्र खुला गर्ने तयारीमा जुटेको छ । सरकारले यसका लागि असार १ यताको लकडाउन खुकुलो भएपछिको अवस्थाको समीक्षा गरिरहेको कोराना क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) का एक सदस्यले जानकारी दिए ।
उनका अनुसार सरकार अहिले सार्वजनिक यातायात र आन्तरिक उडान सञ्चालन गर्ने दबाबमा रहेको छ र त्यसका लागि गृहकार्य गरिरहेको छ । यस्तै रेष्टुराँ तथा सार्वजनिक सेवाका हाल बन्द रहेका क्षेत्रहरु पनि कसरी खुलाउन सकिन्छ भनेर परामर्श भइरहेको छ । लकडाउनका कारण सबैभन्दा प्रभावित बनेको पर्यटन क्षेत्र सुचारु गर्न पनि गृहकार्य भइरहेको छ ।
सरकारले असार १ मा विभिन्न तीन चरणमा लकडाउन खुकुलो गर्दै जाने गरी विभिन्न सेवा सञ्चालनको अनुमति दिएको थियो । पहिलो चरणमा असार १ देखि २१ दिनमा २१ सेवा खुल्ने उल्लेख थियो । आइतबारे खुकुलो लकडाउनको पहिलो चरण सकिएसँगै अब कसरी अघि बढने भन्नेमा सरकारले विज्ञहरुसँग परामर्श थालेको पनि उनले जानकारी दिए ।
जसमा अत्यावश्यक सेवासहित निजी सवारी, पसल, व्यवसाय समेत छन् । तर, जोरबिजोर प्रणालीमा सवारी निश्चित नाकाभित्र मात्र सञ्चालन गर्न अनुमति हुनेछ । लामो दुरीको यात्रामा रोक लगाइएको छ । लकडाउनको २१ दिन अनुगमन गरी अर्को ३० दिनभित्र अन्य सेवा पनि सञ्चालनमा आउने सरकारले बताएको छ । २१ दिनपछि अर्को १५ दिनमा थप सेवा सञ्चालन गर्न दिइने, त्यसपछि तेस्रो चरणमा शैक्षिक संस्था र मनोरञ्जन र खेलस्थलबाहेक बाँकी सेवा सञ्चालनमा आउनेछन् ।
सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो ।