Logo

लकडाउन १ सय ५ औं दिनमा : लकडाउनको समीक्षा गर्दै सरकार, बन्द रहेका क्षेत्र खुलाउन गृहकार्य

लकडाउन १ सय ५ औं दिनमा : लकडाउनको समीक्षा गर्दै सरकार, बन्द रहेका क्षेत्र खुलाउन गृहकार्य



बिजखबर संवाददाता
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) अनौपचारिक रुपमा अझै कायम रहेको छ । सरकारले लकडाउन घोषणा गरेको आज १०५ औं दिनमा आइपुगेको छ । हाल जारी खुकुलो लकडाउनको मोडालिटीलाई नै सरकारले आगामी साउन ७ सम्म निरन्तरता दिने घोषणा गरिसकेको छ । साउन ७ सम्म हवाई उडान र अन्तराष्ट्रिय सीमा नाका बन्द रहने सरकारले घोषणा गरेको छ ।

सरकारले गत चैत्र ११ गते पहिलोपटक लकडाउन घोषणा गरेको थियो भने असार १ देखिनै नयाँ मोडालिटी अनुसार लकडाउन खुकुलो बनाएको थियो । लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढेको छ । सरकारले लकडाउन खुकुलो बनाएपछि नेपालले संक्रमणको गति तीब्र भएका बेला अब कसरी लकडाउन ह्याण्डल गर्छ भन्नेमा धेरैको चासो रहेको छ । स्वास्थ्य विज्ञहरुले भने संक्रमण उचाईमा पुग्न लागेकाले थप सर्तक हुनुपर्ने बताइरहेका छन् । अहिले प्रायः बजार खुलेपनि बजारमा उपयुक्त सुरक्षा मापदण्ड र पैदल यात्रीले पनि आवश्यक सुरक्षा नअपनाउँदा संक्रमण थप भयावह हुन सक्ने भन्दै चिन्ता पनि बढेको छ ।

हालसम्म नेपालमा कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा ३४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या बढेर १५ हजार ५ सय नाघेको छ । लकडाउन खुलेसँगै बजारमा बढ्दो चहलपहल र आवश्यक सुरक्षा मापदण्ड पालना नहुँदा थप भयावह अवस्था आउन सक्ने त्रासमा सर्वसाधारण रहेका छन् । सरकारले लकडाउन जारी राख्न चाहेपनि लकडाउनले जनताको दैनिक जीवन नै संकटतर्फ उन्मुख भएको भन्दै विरोध बढेपछि सरकार लकडाउन खुकुलो बनाउन बाध्य भएको थियो । लकडाउनमात्र सरकारले विकल्पका रुपमा लिएकोमा धेरैले आलोचना पनि गरिरहेका थिए ।

दिनहुँ संक्रमित थपिने क्रममा तीब्रता आएको छ । यस्तै काठमाडौं बाहिर रहेकाहरु धमाधम काठमाडौं भित्रिन थालेपछि सरकारलाई थप समस्या परेको छ । काठमाडौंमा बाक्लो जनसंख्या रहेकाले पनि सरकारको चिन्ता बढाएको हो । सरकारले नै संक्रमण उचाईमा पुग्न सक्ने भन्दै सुरक्षा मापदण्ड पालना, समाजिक दूरी कायम र अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन आग्रह गरिहरेको छ ।

पछिल्लो समय आर्थिक विश्लेषकहरुले देशको अर्थतन्त्र बचाउन पनि लकडाउन खुकुलो बनाउँदै खोल्नुपर्ने बताए पनि स्वास्थ्य विज्ञहरुले भने लकडाउन हटाए थप भयावह अवस्था आउन सक्ने सुझाव दिइरहेका थिए । सरकारले लकडाउन खुकुलो बनाएसँगै देशैभर बजार खुलिसकेको छ ।

तर, पछिल्लो अवस्थामा सरकार सञ्चालन गरिरहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा भने एमसिसीलगायतका विभिन्न मुद्दामा खिचातानी चलिरहेको छ । जसका कारण प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा रहने या नरहने भन्ने बहसमा पुग्ने अवस्था बनेको छ । नेकपाको शीर्ष तहमा देखिएको विवादका कारण सरकारले उपयुक्त ढंगले काम गर्न नसकेको अवस्था छ । हाल जारी सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा देखिएको चरम विवादका कारण सरकार संकटमा पुगेको र केही दिनमै राजनीतिक उथलपुथ आउन सक्ने आँकलन राजनीतिक वृत्तमा भइरहेको छ ।

एकातिर जनमानसमा कोरोनाको त्रास र सर्वसाधारण समस्यामा रहेको अवस्थामा सरकार राजनीतिमा रुमलिनुलाई दुर्भाग्यको रुपमा हेरिएको छ । अर्कोतिर लकडाउन खुकुलो भएपनि संक्रमणको त्रास तथा सार्वजनिक यातायात सुचारु नहुँदा उद्योग–व्यवसाय सञ्चालनमा आएपनि गति लिन नसकेको अवस्था छ । यसले उद्योगी व्यवासयीलाई चिन्तामा पारेको छ । लामो समय लकडाउनमा बन्द रहेर उद्योग व्यवसया खुलेपनि बजार पहिलेझै सहज र सुचारु हुन लामो समय लाग्नसकने चिन्तामा व्यवसायीहरु छन् ।

सरकारले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेपनि व्यवसायीहरुले भने सरकारले भनेजस्तो सुरक्षा मापदण्ड पालनामा भने रुचि नदेखाएको देखिन्छ । धेरैजसोले मास्क, स्यानिटाइजर, पन्जाजस्ता सामान्य सुरक्षा मापदण्डसमेत पालना गरेका छैनन् । यस्तै सर्वसाधारण पनि विना कुनै सुरक्षा सडक तथा बजारमा हिडिरहेको देख्न सकिन्छ ।

काठमाडौं, पोखरालगायत देशका प्रमुख शहरमा लकडाउन अघिकै झल्को दिने भीडभाड देखिएको छ । देशैभर संक्रमितको संख्या उच्च रुपमा बढ्दैं गएपनि सरकारी तयारीमा चुस्तता देखिएको छैन् । सरकार राजनितीक खिचातानीमै व्यस्त देखिइरहेको छ । देशभरका प्राय क्वारेन्टिनमा अवस्था नाजुक रहेको छ । यस्तोमा सरकारले आँकलन गरेअनुसार नै भदौंसम्म ५० हजार संक्रमित कसरी व्यवस्थापन हुन्छन र सही व्यवस्थापन नहुँदा समुदायस्तरमा कोरोना महामारी फैलियो भने कसरी सामना गर्न सकिन्छ भनेर अहिलेसम्म उपयुक्त रणनीति तय नभएको जानकार बताउँछन् ।

पछिल्लो समयमा सरकारी अनुगमन हुन नसक्दा र सर्वसाधारणले वेवास्ता गर्दा संक्रमणको गम्भीर जोखिम बढेको छ । तर, पछिल्लो समय संक्रमितको बढ्दो संख्या र सर्वसाधारण तथा व्यवसायीले समेत लापरवाही गरेका कारण संक्रमण समुदाय स्तरमा फैलन सक्ने सम्भावना बढेको भन्दै पुनः लकडाउन कडा हुन सक्ने चर्चा पनि चलिरहेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेर सवारी साधन, हवाई सेवा, अन्तर्राष्ट्रिय सिमाना बन्द र अत्यावश्यक कामबाहेकमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको थियो । लगभग ८० दिन लकडाउन गरेपछि सरकारले पुनः लकडाउन खुकुलो बनाएको थियो ।

हाल सरकारले बिदेशमा रहेका नेपालीलाई उद्धारको क्रम तीब्र बनाएको तथालकडाउन खुकुलो भएसँगै सर्वसाधारण तथा व्यवसायीलेसमेत सुरक्षा मापदण्ड पालना नगर्दा खतरा बढेको भएपनि सरकार थप सुरक्षा मापदण्ड अपनाएर हाल बन्द रहेका क्षेत्र खुला गर्ने तयारीमा जुटेको छ । सरकारले यसका लागि असार १ यताको लकडाउन खुकुलो भएपछिको अवस्थाको समीक्षा गरिरहेको कोराना क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) का एक सदस्यले जानकारी दिए ।

उनका अनुसार सरकार अहिले सार्वजनिक यातायात र आन्तरिक उडान सञ्चालन गर्ने दबाबमा रहेको छ र त्यसका लागि गृहकार्य गरिरहेको छ । यस्तै रेष्टुराँ तथा सार्वजनिक सेवाका हाल बन्द रहेका क्षेत्रहरु पनि कसरी खुलाउन सकिन्छ भनेर परामर्श भइरहेको छ । लकडाउनका कारण सबैभन्दा प्रभावित बनेको पर्यटन क्षेत्र सुचारु गर्न पनि गृहकार्य भइरहेको छ ।

सरकारले असार १ मा विभिन्न तीन चरणमा लकडाउन खुकुलो गर्दै जाने गरी विभिन्न सेवा सञ्चालनको अनुमति दिएको थियो । पहिलो चरणमा असार १ देखि २१ दिनमा २१ सेवा खुल्ने उल्लेख थियो । आइतबारे खुकुलो लकडाउनको पहिलो चरण सकिएसँगै अब कसरी अघि बढने भन्नेमा सरकारले विज्ञहरुसँग परामर्श थालेको पनि उनले जानकारी दिए ।

जसमा अत्यावश्यक सेवासहित निजी सवारी, पसल, व्यवसाय समेत छन् । तर, जोरबिजोर प्रणालीमा सवारी निश्चित नाकाभित्र मात्र सञ्चालन गर्न अनुमति हुनेछ । लामो दुरीको यात्रामा रोक लगाइएको छ । लकडाउनको २१ दिन अनुगमन गरी अर्को ३० दिनभित्र अन्य सेवा पनि सञ्चालनमा आउने सरकारले बताएको छ । २१ दिनपछि अर्को १५ दिनमा थप सेवा सञ्चालन गर्न दिइने, त्यसपछि तेस्रो चरणमा शैक्षिक संस्था र मनोरञ्जन र खेलस्थलबाहेक बाँकी सेवा सञ्चालनमा आउनेछन् ।

सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL