अमेरिकी सोसल मिडिया स्टार्टअप कम्पनी सगुनले फेरी एकपटक आफ्नो सेयरको निष्काशन गरेको छ। सगुनलाई अमेरिकामा रहेका नेपालीहरुको समूहले स्थापना गरेको भनेर प्रचार गरिएको छ। तर यसका संस्थापकमा अन्य देशका नागरिक पनि छन् । नेपाल र इन्डियामा गरेर यसका दुइ पूर्ण सहायक कम्पनी पनि छन्।
अमेरिकी सेक्युरिटिज एक्ट (धितोपत्र ऐन) १९३३ अनुसार स-साना कम्पनीले रेगुलेशन ए प्लस (रेग ए+) अन्तर्गत मिनी आइपिओको रुपमा आफ्नो सेयर बिक्री गर्नसक्छन। रेग ए+ ले साना कम्पनीहरुको लागि सेक्युरिटिज एक्सचेन्ज कमिसनमा नियमित आइपिओको रुपमा दर्ता गर्नु नपर्ने र दर्ता गर्नुपर्ने धेरै कागजातहरु पेस गर्नबाट छुट दिएको छ। २०१५ मा आएको अमेरिकी जब्स एक्टले दिएको क्राउड फन्डिङ्गको सुबिधाले नन-एक्रिडियेट इन्भेस्टर्स (स-साना लगानीकर्ता) बाट पनि लगानी जुटाउन सकिने ब्यबस्था छ। यिनै ब्यबस्था अन्तर्गत यो निष्काशन आएको छ।
नियमित भन्दा यो निष्कासन फरक प्रकारको भएको हुँदा मानिसहरुमा यसबारे केहि जिज्ञाशा उब्जेको छ। धेरैको प्रश्न छ: सगुन कस्तो कम्पनि हो? के यो मिनी आईपिओ लगानीयोग्य छ? कसले लगानी गर्न सक्नेछन् यो मिनी आईपिओमा? अमेरिकी कम्पनी भएर पनि सगुनले किन नेपालीलाइ नै यो मिनी आईपिओ बेच्न चाहेको छ? यस आलेखमा यस्तै केहि प्रश्नहरुको जवाफ खोज्ने कोशिस हुनेछ।
१. कम्पनी : सन् २००६ मा अमेरिकाको डेलावेएर राज्यमा स्थापना भएको सगुनलाई स्टार्ट-अप टेक (इ-कमर्स) कम्पनी भनिएको छ। स्टार्ट-अप भनेको भर्खरै सुरुभएको कम्पनीलाइ भन्ने हो तर १४ पुरानो सगुनलाइ स्टार्ट-अप भन्न मिल्दैन। सन् २००६ मा सुरुभएको कम्पनी २०२० सम्म स्टार्ट-अप नै रहन्छ भने यो कहिले ठुलो हुन्छ र आम्दानी गर्छ? कहिले प्रतिफल दिन्छ?
कुनैपनि कम्पनी स्थापना भएको २-३ बर्ष स्टार्ट-अप रहन सक्ला तर संधै रहदैन। त्यसपछि कि बिस्तार भएर जान्छ कि बन्द हुन्छ। त्यसैले सगुन स्टार्ट-अप नभई “नेभर स्टार्ट-अप” कम्पनी हो।
२. निष्काशन : सगुनले “सि” क्लासको ३३३,३३३ कित्ता सेयरको बिक्रीबाट १० मिलियन अमेरिकी डलर उठाउने लक्ष्य राखेको छ। यो खरिद गर्न प्रति कित्ता ३० अमेरिकी डलरका दरले न्युनतम ३० सेयरको लागि ९०० अमेरिकी डलर बुझाउनुपर्ने हुन्छ।
सन् २०१७ मा पनि सगुनले “सि” क्लासको ८६९,५६४ कित्ता सेयर निष्काशन गरेर २० मिलियन अमेरिकी डलर उठाउन चाहेको थियो, जसमा उसले ४.६ मिलियन अमेरिकी डलर उठाउन सफल भएको थियो। यसमा न्युनतम खरिद प्रति कित्ता २३ अमेरिकी डलरका दरले ४३.४७ सेयरका लागी १,००० अमेरिकी डलर थियो।
यसपटक सगुनले बिक्री मूल्य तोक्दा चलाखी गरेको छ। अघिल्लो पटक $२३ प्रति सेयरका दरले बिक्री यसपटक सो बढाएर $३० पुर्याएको छ। लगानीकर्ताहरुलाई मनोबैज्ञानिक सेयरको मूल्य बढेको छाप दिन यस्तो गरेको बुझ्नसकिन्छ। तर यो मूल्य कुनै प्रक्षेपण वा मुल्यांकन विधिको आधारमा निकालिएको नभई सगुनले आँफुखुसी तोकेको हो । कुनै आम्दानी नभएको र नोक्सानीमा चुर्लुम्म डुबेको सगुनको सेयरको बित्तिय मुल्यांकन गर्ने हो भने यो ऋणात्मक हुनेछ।
३. कसले लगानी गर्नसक्छ: बिद्यमान कानुन बमोजिम कुनैपनि बिदेशी कम्पनीको सेयर नेपालमा बिक्री गर्न पाइदैन। अमेरिकी कम्पनी सगुनले पनि यो मिनी आइपीओ नेपालमा बिक्री गर्न पाउदैन। कुनै नेपालीले यो मिनी आइपीओमा नेपालबाट लगानी गर्नसक्दैनन। बिदेशी नागरिक र बिदेशमा रहेका नेपालीले सगुनको यो सेयर निष्कासन किन्न सक्नेछन तर कुनै विदेशीले सगुनको यो सेयर किन्ने सम्भाबना छैन । त्यसैले उसको लक्ष्य नेपाल बाहिर रहेका नेपालीलाइ आफ्नो सेयर बेचाउनु रहेको छ।
बिद्यमान नेपालको कानुन बमोजिम कुनैपनि बिदेशी कम्पनीको सेयर नेपालमा बिक्री गर्न र सो गर्ने उदेश्यले कुनै बिज्ञापन वा प्रचार-प्रसार गर्न पनि पाइदैन। तर यस बिपरित सगुन नेपालमा आफ्नो निष्कासनको तिब्र प्रचार र प्रसार गरिरहेको छ। सगुनका यी गतिबिधी नेपालको कानुन बिपरित हुँदाहुँदै पनि कुनै नियमन निकायले यसको रोकथामको लागी पहल गरेको छैन। यसमा धितोपत्र बोर्डले पहल गरेर कडा कदम लिन आबश्यक छ।
४. के यो मिनी आईपिओ लगानीयोग्य छ: सबैभन्दा महत्वपूर्ण प्रश्न नै यहि हो र यसको सिधा र सरल उत्तर यो मिनी आईपिओ लगानीयोग्य छैन। स्थापना भएको १४ बर्षमा सगुनले एक पेनी (पैसा) आम्दानी गरेको छैन। यो कम्पनी सुरुदेखि लगातार घाटामा छ। यसले कहिले आम्दानी गर्छ कुनै टुंगो छैन र यसको कुनै बित्तिय प्रक्षेपण उपलब्ध छैन। यस्तो अवस्थाको सगुनमा लगानी बिल्कुलै जायज छैन।
यहाँ २०१७ र २०१८ का लागि सगुनको लेखापरिक्षकले आफ्नो अडिट रिपोर्टमा दिएको भनाई उद्धृत गर्नु ज्यादा सान्दर्भिक हुन्छ: “सगुनले स्थापना भएदेखि आजसम्म नाफा गरको छैन। आर्थिक बर्ष २०१७ र २०१८ मा क्रमस $४,६८४,२९९ र $२,१४२,८३६ खुद नोक्सानी बेहोरेको छ। २०१८ को डिसेम्बर ३१ मा सगुनको कुल संचिति नोक्सानी $८५२८,८५८ र नेटवर्थ $७२४,५०८ ले ऋणात्मक (सम्पत्तीभन्दा दायित्व बढी) छ। यी सबै तथ्यलाई मध्येनजर गर्दा कम्पनीको निरन्तर चलिरहन सक्ने उसको क्षमतामा प्रसस्त शंका गर्ने ठाउ छ। तरलता अभाबका कारण अब चल्न नसक्ने र बन्दको संघारमा पुगेको छ।”
लेखापरिक्षकको भनाईको अर्थ हो सगुन टाट उल्टिसकेको र घोषणा गर्न बॉकि रहेको अवस्थामा छ। यस्तो अवस्थाको कम्पनीमा लगानी गर्नु कतैबाट पनि जायज हुँदैन।
५. जोखिम : मिनी आईपिओबाट सेयर निष्कासन गर्ने कम्पनि धेरै जोखिमपूर्ण हुन्छ। यस्तो कम्पनीको धेरै आधिकारिक कागजात र बित्तिय बिबरणहरु उपलब्ध हुँदैन। यसको क्रेडिट रेटिंग पनि भएको छैन र भएपनि धेरै निम्नस्तरको हुन्छ। यस्तो अवस्थामा सगुनलाई कुनै बैंकले ऋणको लागि पत्याउदैन। कुनै अन्य कर्जा प्रदान गर्ने कम्पनी वा सुरुवाती अवस्थामा लगानी गर्ने भेन्चर क्यापिटल जस्ता फर्मले पनि पत्याउदैन्नन। कुनै बुद्धिमानी लगानीकर्ता यस्तो कम्पनीमा जोखिम मोल्न चाहदैन। यस्ता बिबिध कारणले सगुनको यो मिनी आईपिओमा जोखिमको मात्र अत्यधिक रहेको छ। कम्पनीको रुपमा सगुनका अन्य जोखिमबारे बुझ्न यो मिनी आईपिओको अफरिंग सर्कुलर हेर्न आबश्यक छ।
६. नेपाली नै किन : अमेरिकी लगानीकर्ताले यस्तो जोखिम धेरै भएको कम्पनीमा लगानी गर्न चाहदैनन। अमेरिकीहरु तथ्य र अंकमा जानेहुँदा हुनसक्छ उनीहरुलाई सगुनको तथ्य र अंक भरोसायोग्य र लगानीयोग्य लागेन। उनीहरु भावनामा नबग्ने र हत्तपत्त कसैलाई व्यक्तिगत तवरमा विश्वास गरिहाल्दैनन। उनीहरुलाई सगुनले आफ्नो योजनामा सहमत गराउन सकेन। कम्पनी राम्रो हुँदो हो वा उसका प्रडक्ट वा सर्भिसहरु काम लाग्ने हुन्थे त सगुनले अमेरिकी लगानीकर्ता वा ऋणदाता वा भेन्चर क्यापिटल फर्म भेट्टाउथ्यो। तेत्रो अमेरिकामा किन कुनै लगानीकर्ता, ऋणदाता वा भेन्चर क्यापिटल फर्मले सगुनलाइ पत्याएन? यसको सपाट उत्तर हो : सगुन भरोसायोग्य, बिस्वसिलो र लगानीयोग्य संस्था होइन।
तर यसको बिपरित नेपालीहरु तथ्य र अंकमा भन्दा भावनामा बग्ने, व्यक्तिलाइ छिट्टै विश्वास गरिहाल्ने हुँदा सगुनले अन्तिम आशाको रुपमा आफ्नो निष्कासनको सम्भावित खरिदकर्ताको रुपमा बिदेशमा रहेका नेपालीलाई लिएको छ। उसले यस्तो जोखिमपूर्ण र डुब्नै लागेको कम्पनीको सेयर पनि व्यक्तिका कथा सुनाएर बिकाउन सकिन्छ कि भनेर नेपालीलाई रोजेको हुनसक्छ।
७. अघिल्लो निष्कासन : सगुनले २०१७ मा अघिल्लो मिनी आइपिओद्वारा २० मिलियन अमेरिकी डलर उठाउन खोजेकोमा ४.६ मिलियन अमेरिकी डलरमात्र उठाउन सकेको थियो। यो रकम सगुनले कर्मचारीलाइ तलब र ज्याला र संस्थापकहरुको महँगो ऋणमा ब्याज तिरेर सकिसकेको छ।
त्यति मात्र होइन सगुनले यो मिनी आईपिओको पैसा समेत पहिल्यै खर्च गरिसकेको छ। २०१९ को अन्तमा सगुनसंग $११७,०२४ मात्र नगद मौजाद बाँकी छ। सगुनको २०१७, २०१८, २०१९ र २०२० को अहिलेसम्मको आम्दानी शुन्य छ। कम्पनी संचालन गर्न सगुनले अर्को बर्ष अर्को मिनी आईपिओ जारी गर्नुपर्ने हुन्छ। यसरी हरेक बर्ष नेपाली लगानीकर्ताबाट पैसा उठाएर कति धानिन्छ सगुन?
आफ्नो कुनै आम्दानी नभएको सगुन चल्न नसक्ने र बिघटनको संघारमा पुगिसकेको छ। अर्थात् सगुन टाट पल्टिसकेको छ। जति नै पैसा खन्याए पनि सगुनका प्रडक्ट वा सर्भिसहरु बजारमा आउने, तिनले काम गर्ने र ग्राहक बढाउने सम्भाबना छैन। पुँजी आबश्यक परेमा कि बारम्बार मिनी आइपिओ जारी गर्ने कि कम्पनी बन्द गर्ने बाहेको सगुनसंग अर्को कुनै बिकल्प छैन।
८. मिडियाबाजी : सगुनको सिइओ लगायत सम्पूर्ण टिम मिडिया प्रचारमा लागेका छन्। पुँजीको रुपमा नगद रकम प्राप्त गर्ने सगुनको यो अन्तिम अवसर हो। यस पश्चात सगुन टाट उल्टेको घोसणा गरेर बन्द हुनेछ। जतिसक्यो धेरै पुँजी संकलन गर्न उनीहरु हर-तरहका मिडियाबाजीमा लागेका छन्। सम्भब भएसम्म सबै नेपाली मिडियामा छाउने सगुनको रणनीति छ।
उनीहरु सोसल मेडियामा आएका स-साना टिप्पणीमा पनि जवाफ र प्रस्टीकरण दिंदै हिडेका छन् ताकि कुनै टिप्पणीले यो निष्कासनलाई नकारात्मक असर नगरोस। यसमा सिइओ गोबिन्द गिरी आँफै लागेका छन्। सिईओ तहको मान्छे सगुनको प्रडक्ट डेभलपमेन्ट र लन्च गर्न छाडेर सोसल मिडियामा आएका सानातिना टिप्पणीको पछि लाग्नुले उनीहरुको मानसिकता र दृस्टीकोण देखाउछ। गिरीको टिममा सोंच र दृस्टीकोण हुन्थ्यो त पत्रकार सम्मेलन गरेर वा प्रेस बक्तब्य निकालेर यस्तो बिषयलाई सम्बोधन गर्न सक्थे। तर उनीहरु यो अन्तिम अवसरमा जतिसक्यो पैसा उठाउने र कम्पनी बन्द गर्ने ध्येय बोकेर हिडेझैँ देखिन्छन।
९. अन्य: सगुनको सेयरको चुक्ता पुंजी, अंकित मूल्य, सेयर प्रिमियम, बुक भ्यालु, भोटिंगस् राइट्स, सगुनको बर्ल्ड र्याङ्किग, वेबपेज भिजिटर संख्या, एप प्रयोगकर्ता सदस्य संख्या, एपको डेभलपमेन्ट र टेस्ट लगायत थुप्रै बिषयहरु यस लेखमा समाबेश छैनन। सगुन डुब्नै लागेको रिपोर्ट उसको लेखापरिक्षकले दिएको हुँदा संभावित लगानीकर्ताको लागि यी तमाम बिषयभन्दा सगुन बित्तिय रुपमा डुब्न लागेको बिषय सम्भावित लगानीकर्ताको लागि ज्यादा महत्वपूर्ण हुने हुँदा यो आलेख त्यसैमा बढी केन्द्रित रहेको छ।
१०. निष्कर्ष: सारंसमा सगुन लगानी गर्न लायक कम्पनी होइन। यो डुब्ने संघारमा रहेको प्रस्ट छ। उसले यो मिनी आइपिओबाट उठाउने ९ मिलियन अमरिकी डलर पुँजी पहिल्यै कर्मचारीको तलब र अन्य शिर्षकमा खर्च गरिसकेको छ। कम्पनी चलाउनका लागी सगुनसंग कुनै नगद पैसा छैन भने उसका प्रडक्ट र सर्भिस डेभलपमेन्ट अलपत्र छन्। सगुनले जे भनेपनि यो कम्पनी छिट्टै बन्द हुने अवस्थामा रहेको बुझ्न सकिन्छ।
अमेरिकी सेक्युरिटिज एक्सचेन्ज कमिसनले गरेको ठगिको व्याख्यालाइ हेर्ने हो भने सगुन ठगि गरिरहेको प्रतित हुन्छ। उसको ब्याख्या अनुसार यदि कुनै कम्पनीको कुनै ठोस ब्यबसायिक संचालन (नाम मात्रको सम्पत्ति र आम्दानी) छैन र उसले बारम्बार सेयर निष्कासन गरिरहन्छ तर त्यस अनुपातमा सम्पत्ति बढ्दैन भने त्यो ठगि हुन्छ। सगुनको हकमा यी दुई अवस्था हुबहु मिल्छन।
माथिका तथ्य र अंकका बाबजुद पनि यदि कसैलाई लगानी गर्ने मन छ भने सगुनका सार्बजनिक कागजातहरु अध्ययन गर्न जरुरी हुन्छ। अमेरिकी सेक्युरिटिज एक्सचेन्ज कमिसनको वेबपेजमा यो नम्बर (CIK #0001639953) हालेर सगुनका सबै सार्बजनिक कागजात हेर्न पाइन्छ।
सगुनमा एकपटक लगानी गरिसकेपछि फिर्ता आउने कुनै सम्भाबना छैन। भोलि आबश्यक परेमा सगुनको स्टक बेच्ने कुनै ब्यबस्था छैन। आज हतार गरेर भोलि पछुताउनु भन्दा आजै अलिकति मेहनत गरेर बास्तबिकता बुझ्नु बुद्धिमानि हुन्छ। नबुझी लगानी नगर्नु लगानीको पहिलो शर्त हो।
(अर्याल पूँजी बजार बिश्लेषक हुन् )