Logo

लकडाउन ९५ औं दिनमा : राजनीतिक खिचातानीमा सरकार, व्यवसायले गति नलिदा उद्योगी व्यवसायी चिन्तामा

लकडाउन ९५ औं दिनमा : राजनीतिक खिचातानीमा सरकार, व्यवसायले गति नलिदा उद्योगी व्यवसायी चिन्तामा



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) अनौपचारिक रुपमा अझै कायम रहेको छ । सरकारले लकडाउन घोषणा गरेको आज ९५ औं दिनमा आइपुग्दा लकडाउन अन्त्यबारे सरकारले औपचारिक रुपमा कुनै जानकारी गराएको छैन ।
सरकारले गत चैत्र ११ गते पहिलोपटक लकडाउन घोषणा गरेको थियो भने जेठ २१ बाट जारी गरेको आठौं चरणको लकडाउन जेठ मसान्तसम्म मात्र रहेको थियो । तर, सरकारले असार १ देखिनै नयाँ मोडालिटी अनुसार लकडाउन खुकुलो बनाइसकेकाले आगामी दिनमा पनि लकडाउन यही मोडालिटीमा जारी रहने देखिन्छ ।
लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढेको छ । सरकारले लकडाउनको नयाँ मोडालिटी तय गरेसँगै नेपालले संक्रमणको गति तीब्र भएका बेला अब कसरी लकडाउन ह्याण्डल गर्छ भन्नेमा धेरैको चासो रहेको छ । स्वास्थ्य विज्ञहरुले भने संक्रमण उचाईमा पुग्न लागेकाले थप सर्तक हुनुपर्ने बताइरहेका छन् । अहिले प्रायः बजार खुलेपनि बजारमा उपयुक्त सुरक्षा मापदण्ड र पैदल यात्रीले पनि आवश्यक सुरक्षा नअपनाउँदा संक्रमण थप भयावह हुन सक्ने भन्दै चिन्ता पनि बढेको छ ।

हालसम्म नेपालमा कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा २५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या बढेर ११ हजार नजिक पुगेको छ । लकडाउन खोल्दा थप भयावह अवस्था आउने आँकलनसमेत गरेर सरकारले लकडाउन जारी राखेको बताइएपनि लकडाउनले जनताको दैनिक जीवन नै संकटतर्फ उन्मुख भएको भन्द्यै विरोध बढेपछि सरकार लकडाउन खुकुलो बनाउन बाध्य भएको हो । लकडाउनमात्र सरकारले विकल्पका रुपमा लिएकोमा धेरैले आलोचना पनि गरिरहेका थिए ।

संक्रमितको संख्या बढेर ११ हजार नाघेपछि सरकारसमेत तनावमा छ । यस्तै काठमाडौं बाहिर रहेकाहरु धमाधम काठमाडौं भित्रिन थालेपछि सरकारलाई थप समस्या परेको हो । पछिल्लो समय घरधनीले पीसीआर विधिबााट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् ।

पछिल्लो समय आर्थिक विश्लेषकहरुले देशको अर्थतन्त्र बचाउन पनि लकडाउन खुकुलो बनाउँदै खोल्नुपर्ने बताए पनि स्वास्थ्य विज्ञहरुले भने लकडाउन हटाए थप भयावह अवस्था आउन सक्ने सुझाव दिइरहेका थिए । सरकारले गत बिहीबारदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै देशैभर बजार खुलिसकेको छ । मन्त्रिपरिषद्को बैठकले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेसँगै लामोसमय लकडाउनका कारण बन्द व्यवसाय क्रमश खुलेका छन् ।

तर, पछिल्लो अवस्थामा सरकार सञ्चालन गरिरहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा भने एमसिसीलगायतका विभिन्न मुद्दामा खिचातानी चलिरहेको छ । जसका कारण प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा रहने या नरहने भन्ने बहसमा पुग्ने अवस्था बनेको छ । नेकपाको शीर्ष तहमा देखिएको विवादका कारण सरकारले उपयुक्र ढंगले काम गर्न नसकेको अवस्था छ ।

अर्कोतिर लकडाउन खुकुलो भएपनि संक्रमणको त्रास तथा सार्वजनिक यातायात सुचारु नहुँदा उद्योग–व्यवसाय सञ्चालनमा आएपनि गति लिन नसकेको अवस्था छ । यसले उद्योगी व्यवासयीलाई चिन्तामा पारेको छ । लामो समय लकडाउनमा बन्द रहेर उद्योग व्यवसया खुलेपनि बजार पहिलेझै सहज र सुचारु हुन लामो समय लाग्नसकने चिन्तामा व्यवसायीहरु छन् । ।

सरकारले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेपनि व्यवसायीहरुले भने सरकारले भनेजस्तो सुरक्षा मापदण्ड पालनामा भने रुचि नदेखाएको देखिन्छ । धेरैजसोले मास्क, स्यानिटाइजर, पन्जाजस्ता सामान्य सुरक्षा मापदण्डसमेत पालना गरेका छैनन् । यस्तै सर्वसाधारण पनि विना कुनै सुरक्षा सडक तथा बजारमा हिडिरहेको देख्न सकिन्छ । काठमाडौं, पोखरालगायत देशका प्रमुख शहरमा लकडाउन अघिकै झल्को दिने भीडभाड देखिएको छ ।
देशैभर संक्रमितको संख्या उच्च रुपमा बढ्दैं गएपनि सरकारी तयारीमा चुस्तता देखिएको छैन् । सरकार राजनितीक खिचातानीमै व्यस्त देखिइरहेको छ । देशभरका प्राय क्वारेन्टिनमा अवस्था नाजुक रहेको छ । यस्तोमा सरकारले आँकलन गरेअनुसार नै भदौंसम्म ५० हजार संक्रमित कसरी व्यवस्थापन हुन्छन र सही व्यवस्थापन नहुँदा समुदायस्तरमा कोरोना महामारी फैलियो भने कसरी सामना गर्न सकिन्छ भनेर अहिलेसम्म उपयुक्त रणनीति तय नभएको जानकार बताउँछन् ।

पछिल्लो समयमा सरकारी अनुगमन हुन नसक्दा र सर्वसाधारणले वेवास्ता गर्दा संक्रमणको गम्भीर जोखिम बढेको छ । तर, पछिल्लो समय संक्रमितको बढ्दो संख्या र सर्वसाधारण तथा व्यवसायीले समेत लापरवाही गरेका कारण संक्रमण समुदाय स्तरमा फैलन सक्ने सम्भावना बढेको भन्दै पुनः लकडाउन कडा हुन सक्ने चर्चा पनि चलिरहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार बढी पुग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेर सवारी साधन, हवाई सेवा, अन्तर्राष्ट्रिय सिमाना बन्द र अत्यावश्यक कामबाहेकमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको थियो । लगभग ८० दिन लकडाउन गरेपछि सरकारले पुनः लकडाउन खुकुलो बनाएको थियो ।

सरकारले लकडाउन खुकुलो बनाउँदा कोरोना संक्रमितको ग्राफ भने बढेर जाँदा पुनः लकडाउन हुने सम्भावनाका अड्कलबाजी हुन थालेका छन् । सरकारी अधिकारी भने अब पहिले जस्तो लकडाउन नहुने बताउँछन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अब पहिले जस्तो सोलोडोलो लकडाउन नहुने जनाउँछन् । कतै कोरोना फैलिएर गए त्यो ठाउँ सिल गर्ने गरी अहिले काम भइरहेको उनी बताउँछन् । सरकारले कोरानासँग लड्न लकडाउनको रणनीति परिवर्तन गरेकोसमेत पाइएको छ ।

त्यसका लागि सर्वसाधारणको जनजीवन सहज बनाउने, भौतिक दूरी कायम गर्न सचेतना पैदा गर्ने, औषधीजन्य आहार, व्यायाम आदिमा जोड गराउने नीति अघि सारेको पाइएको छ । कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) का एक सदस्यका अनुसार अहिले लकडाउनबारे गम्भीर समीक्षा भइरहेको छ । यदि यही रफ्तारमा संक्रमित वृद्धि भइरहे सरकारले पुनः लकडाउनको मोडालिटी भने परिवर्तन पनि हुन सक्छ ।

हाल सरकारले बिदेशमा रहेका नेपालीलाई उद्धारको क्रम तीब्र बनाएको तथालकडाृन खुकुलो भएसँगै सर्वसाधारण तथा व्यवसायीलेसमेत सुरक्षा मापदण्ड पालना नगर्दा खतरा बढेकोले अब पुनः पहिलेभन्दा कडा लकडाउन गर्नुपर्ने सुझाव स्वास्थ्यविज्ञहरुले सरकारलाई दिएको पनि उनले बताए । सरकारले विभिन्न तीन चरणमा लकडाउन खुकुलो गर्दै जाने गरी विभिन्न सेवा सञ्चालनको अनुमति दिएको छ । पहिलो चरणमा आज असार १ देखि २१ दिनमा २१ सेवा खुल्नेछन् ।

जसमा अत्यावश्यक सेवासहित निजी सवारी, ट्याक्सी, पसल, व्यवसाय समेत छन् । तर, जोरबिजोर प्रणालीमा सवारी निश्चित नाकाभित्र मात्र सञ्चालन गर्न अनुमति हुनेछ । लामो दुरीको यात्रामा रोक लगाइएको छ । लकडाउनको २१ दिन अनुगमन गरी अर्को ३० दिनभित्र अन्य सेवा पनि सञ्चालनमा आउने सरकारले बताएको छ । २१ दिनपछि अर्को १५ दिनमा थप सेवा सञ्चालन गर्न दिइने, त्यसपछि तेस्रो चरणमा शैक्षिक संस्था र मनोरञ्जन र खेलस्थलबाहेक बाँकी सेवा सञ्चालनमा आउनेछन् ।

सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो । सरकारले राष्ट्रिय– अन्तरराष्ट्रिय असार २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL