Logo

लकडाउन ९२ औं दिनमा : संक्रमित बढेपनि अब पहिलेजस्तै कडा लकडाउन नहुने, संक्रमित धेरै भेटिएको क्षेत्र भने सिल गरिने

लकडाउन ९२ औं दिनमा : संक्रमित बढेपनि अब पहिलेजस्तै कडा लकडाउन नहुने, संक्रमित धेरै भेटिएको क्षेत्र भने सिल गरिने



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) अनौपचारिक रुपमा अझै कायम रहेको छ ।

सरकारले लकडाउन घोषणा गरेको आज ९२ दिनमा आइपुग्दा लकडाउन अन्त्यबारे सरकारले औपचारिक रुपमा कुनै जानकारी गराएको छैन । सरकारले गत चैत्र ११ गते पहिलोपटक लकडाउन घोषणा गरेको थियो भने जेठ २१ बाट जारी गरेको आठौं चरणको लकडाउन जेठ मसान्तसम्म मात्र रहेको थियो । तर, सरकारले असार १ देखिनै नयाँ मोडालिटी अनुसार लकडाउन खुकुलो बनाइसकेकाले आगामी दिनमा पनि लकडाउन यही मोडालिटीमा जारी रहने देखिन्छ ।

लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढेको छ । सरकारले लकडाउनको नयाँ मोडालिटी तय गरेसँगै नेपालले संक्रमणको गति तीब्र भएका बेला अब कसरी लकडाउन ह्याण्डल गर्छ भन्नेमा धेरैको चासो रहेको छ । स्वास्थ्य विज्ञहरुले भने संक्रमण उचाईमा पुग्न लागेकाले थप सर्तक हुनुपर्ने बताइरहेका छन् । अहिले प्रायः बजार खुलेपनि बजारमा उपयुक्त सुरक्षा मापदण्ड र पैदल यात्रीले पनि आवश्यक सुरक्षा नअपनाउँदा संक्रमण थप भयावह हुन सक्ने भन्दै चिन्ता पनि बढेको छ ।

हालसम्म नेपालमा कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा २३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या बढेर ९ हजार नाघेको छ । लकडाउन खोल्दा थप भयावह अवस्था आउने आँकलनसमेत गरेर सरकारले लकडाउन जारी राखेको बताइएपनि लकडाउनले जनताको दैनिक जीवन नै संकटतर्फ उन्मुख भएको भन्द्यै विरोध बढेपछि सरकार लकडाउन खुकुलो बनाउन बाध्य भएको हो ।

लकडाउनमात्र सरकारले विकल्पका रुपमा लिएकोमा धेरैले आलोचना पनि गरिरहेका थिए । पछिल्लो समय आर्थिक विश्लेषकहरुले देशको अर्थतन्त्र बचाउन पनि लकडाउन खुकुलो बनाउँदै खोल्नुपर्ने बताए पनि स्वास्थ्य विज्ञहरुले भने लकडाउन हटाए थप भयावह अवस्था आउन सक्ने सुझाव दिइरहेका थिए । सरकारले गत बिहीबारदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै देशैभर बजार खुलिसकेको छ । मन्त्रिपरिषद्को बैठकले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेसँगै लामोसमय लकडाउनका कारण बन्द व्यवसाय क्रमश खुलेका छन् ।

सरकारले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेपनि व्यवसायीहरुले भने सरकारले भनेजस्तो सुरक्षा मापदण्ड पालनामा भने रुचि नदेखाएको देखिन्छ । धेरैजसोले मास्क, स्यानिटाइजर, पन्जाजस्ता सामान्य सुरक्षा मापदण्डसमेत पालना गरेका छैनन् । यस्तै सर्वसाधारण पनि विना कुनै सुरक्षा सडक तथा बजारमा हिडिरहेको देख्न सकिन्छ । काठमाडौं, पोखरालगायत देशका प्रमुख शहरमा लकडाउन अघिकै झल्को दिने भीडभाड देखिएको छ । यसले संक्रमणको गम्भीर जोखिम बढाएको छ ।

तर, जनजीवन भने क्रमशः सहजतातर्फ जान थालेको छ । सार्वजनिक सवारी नचल्दा भने निजी सवारी नहुने सर्वसाधारणहरु कार्यालय जान र फर्किन समस्यामा परेका छन् । निजी सवारी पनि जोर र बिजोरमा मात्र सञ्चालनमा आएकाले कतिपय निजी सवारी हुनेहरु पनि सार्वजनिक सवारी नहुँदा मर्कामा परेका छन् । गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ । लकडाउन खुकुलो बनाएर जोर बिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै गृह मन्त्रालयले सबै पास खारेज गरेको हो ।

सवारी पासका कारण जोर बिजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले असार २ गतेदेखि लागू हुने गरी खारेज गरिएको थियो । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा थप कडाई गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले कडाई गरेको हो । तर, पछिल्लो समय संक्रमितको बढ्दो संख्या र सर्वसाधारण तथा व्यवसायीले समेत लापरवाही गरेका कारण संक्रमण समुदाय स्तरमा फैलन सकने सम्भावना बढेको भन्दै पुनः लकडाउन कडा हुन सक्ने चर्चा पनि चलिरहेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेर सवारी साधन, हवाई सेवा, अन्तर्राष्ट्रिय सिमाना बन्द र अत्यावश्यक कामबाहेकमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको थियो ।

लगभग ८० दिन लकडाउन गरेपछि सरकारले पुनः लकडाउन खुकुलो बनाएको छ । सरकारले लकडाउन खुकुलो बनाउँदा कोरोना संक्रमितको ग्राफ भने बढेर जाँदा पुनः लकडाउन हुने सम्भावनाका अड्कल बाजी हुन थालेका छन् ।

सरकारी अधिकारी भने अब पहिले जस्तो लकडाउन नहुने बताउँछन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अब पहिले जस्तो सोलोडोलो लकडाउन नहुने जनाउँछन् । कतै कोरोना फैलिएर गए त्यो ठाउँ सिल गर्ने गरी अहिले काम भइरहेको उनी बताउँछन् । सरकारले कोरानासँग लड्न लकडाउनको रणनीति परिवर्तन गरेकोसमेत पाइएको छ । त्यसका लागि सर्वसाधारणको जनजीवन सहज बनाउने, भौतिक दूरी कायम गर्न सचेतना पैदा गर्ने, औषधीजन्य आहार, व्यायाम आदिमा जोड गराउने नीति अघि सारेको पाइएको छ ।

कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) का एक सदस्यका अनुसार अहिले लकडाउनबारे गम्भीर समीक्षा भइरहेको छ । यदि यही रफ्तारमा संक्रमित वृद्धि भइरहे सरकारले पुनः लकडाउनको मोढालिटी भने परिवर्तन पनि हुन सक्छ । हाल सरकारले बिदेशमा रहेका नेपालीलाई उद्धारको क्रम तीब्र बनाएको तथालकडाृन खुकुलो भएसँगै सर्वसाधारण तथा व्यवसायीलेसमेत सुरक्षा मापदण्ड पालना नगर्दा खतरा बढेकोले अब पुनः पहिलेभन्दा कडा लकडाउन गर्नुपर्ने सुझाव स्वास्थ्यविज्ञहरुले सरकारलाई दिएको पनि उनले बताए । सरकारले विभिन्न तीन चरणमा लकडाउन खुकुलो गर्दै जाने गरी विभिन्न सेवा सञ्चालनको अनुमति दिएको छ । पहिलो चरणमा आज असार १ देखि २१ दिनमा २१ सेवा खुल्नेछन् ।

जसमा अत्यावश्यक सेवासहित निजी सवारी, ट्याक्सी, पसल, व्यवसाय समेत छन् । तर, जोरबिजोर प्रणालीमा सवारी निश्चित नाकाभित्र मात्र सञ्चालन गर्न अनुमति हुनेछ । लामो दुरीको यात्रामा रोक लगाइएको छ । लकडाउनको २१ दिन अनुगमन गरी अर्को ३० दिनभित्र अन्य सेवा पनि सञ्चालनमा आउने सरकारले बताएको छ । २१ दिनपछि अर्को १५ दिनमा थप सेवा सञ्चालन गर्न दिइने, त्यसपछि तेस्रो चरणमा शैक्षिक संस्था र मनोरञ्जन र खेलस्थलबाहेक बाँकी सेवा सञ्चालनमा आउनेछन् ।

यसरी हेर्दा शैक्षिक संघसंस्था र मनोरञ्जनस्थल भदौयता सञ्चालनमा आउने सम्भावना कम छ । साढे २ महिनाभित्र लकडाउन पूर्ण रुपमा खोल्ने गरी पाँच तह र चरणको योजना बनाएको छ । जसअनुसार पहिलो चरण असार १ बाट शुरु भएको हो । तहगत रुपमा क्रमशः हरेक क्षेत्रहरु खोल्दै जाने र आम नागरिकको दैनिकी सहज बनाउने गरी कार्ययोजना बनाइएको छ । आम नागरिकको दैनिकी सहज हुने गरी लकडाउन खोल्दै जाने कार्ययोजना तयार पारिएको हो । सरकारले नयाँ मोडालिटी तय गर्नुभन्दा पहिले नै उद्योगधन्दा सञ्चालन गर्न दिएको भएपनि मजदूर तथा कर्मचारी अभावमा सञ्चालनमा नआएका उद्योग पनि क्रमशः सञ्चालनमा आएका छन् ।

यस्तै धेरै उद्योगीले कम क्षमतामा मात्र सञ्चालन गरिरहेका उद्योगहरु पनि पूरा क्षमतामा सञ्चालन शुरु गरेका छन् । धेरै उद्योगले सार्वजनिक सवारी सञ्चालन नहुँदा मजदूर उद्योगसम्म आउन र फर्किन समस्या रहेकोमा वैकल्पिक व्यवस्था गरेर पनि उद्योग सञ्चालन गर्न थालेका हुन् । यस्तै असार १ बाट सरकारी कार्यालय भने खुलेका छन् । पहिलो चरणमा आधा कर्मचारी र दोस्रो चरणमा ७५ प्रतिशत र तेस्रो चरणमा सबै कर्मचारी राखी कार्यालय खुलेका हुन् ।

सरकारले जेठ २० सम्मका लागि सातौ चरणको लकडाउन लागू गरेकोमा जेठ ३२ सम्म थप १२ दिन लकडाउन लम्ब्याउने घोषणा गरेको थियो । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो ।

यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो । सरकारले राष्ट्रिय– अन्तरराष्ट्रिय असार २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL