Logo

लकडाउन ८९ औं दिनमा : काठमाडौंमा जोर विजोर प्रणालीमा थप कडाई, दैनिक हजारौं सवारी कारवाहीमा

लकडाउन ८९ औं दिनमा : काठमाडौंमा जोर विजोर प्रणालीमा थप कडाई, दैनिक हजारौं सवारी कारवाहीमा



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) अनौपचारिक रुपमा अझै कायम रहेको छ । सरकारले लकडाउन घोषणा गरेको आज ८९ दिनमा आइपुग्दा लकडाउनबारे सरकारले औपचारिक रुपमा कुनै जानकारी गराएको छैन ।

सरकारले गत चैत्र ११ गते पहिलोपटक लकडाउन घोषणा गरेको थियो भने जेठ २१ बाट जारी गरेको आठौं चरणको लकडाउन जेठ मसान्तसम्म मात्र रहेको थियो । तर, सरकारले असार १ देखिनै नयाँ मोडालिटी अनुसार लकडाउन खुकुलो बनाइसकेकाले आगामी दिनमा पनि लकडाउन यही मोडालिटीमा जारी रहने देखिन्छ ।

लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढेको छ । सरकारले लकडाउनको नयाँ मोडालिटी तय गरेसँगै नेपालले संक्रमणको गति तीब्र भएका बेला अब कसरी लकडाउन ह्याण्डल गर्छ चन्नेमा धेरैको चासो रहेको छ । स्वास्थ्य विज्ञहरुले भने संक्रमण उचाईमा पुग्न लागेकाले थप सर्तक हुनुपर्ने बताइरहेका छन् । अघिल्लो बिहीबारदेखि बजार खुलेपनि बजारमा उपयुक्त सुरक्षा मापदण्ड र पैदल यात्रीले पनि आवश्यक सुरक्षा नअपनाउँदा संक्रमण थप भयावह हुन सक्ने भन्दै चिन्ता पनि बढेको छ ।

हालसम्म नेपालमा कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा २२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या बढेर ८ हजार नाघेको छ । लकडाउन खोल्दा थप भयावह अवस्था आउने आँकलनसमेत गरेर सरकारले लकडाउन जारी राखेको बताइएपनि लकडाउनले जनताको दैनिक जीवन नै संकटतर्फ उन्मुख भएको भन्द्यै विरोध बढेपछि सरकार लकडाउन खुकुलो बनाउन बाध्य भएको हो ।

लकडाउनमात्र सरकारले विकल्पका रुपमा लिएकोमा धेरैले आलोचना पनि गरिरहेका थिए । पछिल्लो समय आर्थिक विश्लेषकहरुले देशको अर्थतन्त्र बचाउन पनि लकडाउन खुकुलो बनाउँदै खोल्नुपर्ने बताए पनि स्वास्थ्य विज्ञहरुले भने लकडाउन हटाए थप भयावह अवस्था आउन सक्ने सुझाव दिइरहेका थिए ।

सरकारले गत बिहीबारदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै देशैभर बजार खुलिसकेको छ । मन्त्रिपरिषद्को बैठकले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेसँगै लामोसमय लकडाउनका कारण बन्द व्यवसाय क्रमश खुलेका छन् । सरकारले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेपनि व्यवसायीहरुले भने सरकारले भनेजस्तो सुरक्षा मापदण्ड पालनामा भने रुचि नदेखाएको देखिन्छ ।

धेरैजसोले मास्क, स्यानिटाइजर, पन्जाजस्ता सामान्य सुरक्षा मापदण्डसमेत पालना गरेका छैनन् । यस्तै सर्वसाधारण पनि विना कुनै सुरक्षा सडक तथा बजारमा हिडिरहेको देख्न सकिन्छ । काठमाडौं, पोखरालगायत देशका प्रमुख शहरमा लकडाउन अघिकै झल्को दिने भीडभाड देखिएको छ । यसले संक्रमणको गम्भीर जोखिम बढाएको छ ।

तर, जनजीवन भने क्रमशः सहजतातर्फ जान थालेको छ । तर, सार्वजनिक सवारी नचल्दा भने निजी सवारी नहुने सर्वसाधारणहरु कार्यालय जान र फर्किन समस्यामा परेका छन् । निजी सवारी पनि जोर र बिजोरमा मात्र सञ्चालनमा आएकाले कतिपय निजी सवारी हुनेहरु पनि सार्वजनिक सवारी नहुँदा मर्कामा परेका छन् ।

अर्कोतर्फ करीब ३ महिनायता सवारी यत्तिकै थन्काउनुपरेको भन्दै सार्वजनिक सवारी सञ्चालकहरु सरकारसँग समस्या परेको भन्दै गुनासो गरिरहेका छन् । सरकारले लकडाउन असार १देखि नै खुकुलो पारोका भएपनि सार्वजनिक सवारी सञ्चालनका लागि सरकारी मापदण्ड व्यवसायीले मान्न नसकिने बताएपछि सार्वजनिक सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ । लकडाउन खुकुलो बनाएर जोर बिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै गृह मन्त्रालयले सबै पास खारेज गरेको हो । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सवारी पासका कारण जोर बिजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले असार २ गतेदेखि लागू हुने गरी खारेज गरिएको थियो ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा थप कडाई गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले कडाई गरेको हो ।

महाशाखाले एकातर्फ आम नागरिकहरूलाई सचेतना जगाउन, सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउनका लागि सजगता र सचेतनाका लागि उपत्यकाको मुख्य मुख्य चोकहरूमा प्लेकार्डमार्फत सचेतना दिईरहेको छ भने अर्कातर्फ जोर विजोर प्रणालीको पूर्णपालना गराउन चेकप्वाईन्टहरू राखि थप कडाई गरिरहेको छ ।

शुक्रबारमात्रै अटेर गरी जोर विजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका ९४८ वटा दुई पाङ्ग्रे, २४७ भाडाका र (ट्याक्सी) र १६३ वटा साना तथा ठूला सवारी गरी जम्मा १,३५८ वटा सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिएका छन् ।

एसएसपी ढकालले विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको सख्या बढेको कारण थप चेकजाँज गरी कडाई गरेको बताए । हालसम्म लकडाउन कार्यान्वयनमा आमनागरिकले पु¥याएको सहयोग प्रति आभार व्यक्त गर्दै अत्यावश्यक सेवा र कामबाहेक सवारी साधन नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन समेत महाशाखाले आग्रह गरेको छ । काठमाडौं उपत्यकामा जेठ ३० गतेदेखि शुक्रबारसम्म जोर विजोर प्रणाली उल्लङ्घन गर्ने १२,५८२ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ ।

सरकारले विभिन्न तीन चरणमा लकडाउन खुकुलो गर्दै जाने गरी विभिन्न सेवा सञ्चालनको अनुमति दिएको छ । पहिलो चरणमा आज असार १ देखि २१ दिनमा २१ सेवा खुल्नेछन् । जसमा अत्यावश्यक सेवासहित निजी सवारी, ट्याक्सी, पसल, व्यवसाय समेत छन् । तर, जोरबिजोर प्रणालीमा सवारी निश्चित नाकाभित्र मात्र सञ्चालन गर्न अनुमति हुनेछ । लामो दुरीको यात्रामा रोक लगाइएको छ ।

लकडाउनको २१ दिन अनुगमन गरी अर्को ३० दिनभित्र अन्य सेवा पनि सञ्चालनमा आउने सरकारले बताएको छ । २१ दिनपछि अर्को १५ दिनमा थप सेवा सञ्चालन गर्न दिइने, त्यसपछि तेस्रो चरणमा शैक्षिक संस्था र मनोरञ्जन र खेलस्थलबाहेक बाँकी सेवा सञ्चालनमा आउनेछन् । यसरी हेर्दा शैक्षिक संघसंस्था र मनोरञ्जनस्थल भदौयता सञ्चालनमा आउने सम्भावना कम छ । साढे २ महिनाभित्र लकडाउन पूर्ण रुपमा खोल्ने गरी पाँच तह र चरणको योजना बनाएको छ । जसअनुसार पहिलो चरण असार १ बाट शुरु भएको हो ।

तहगत रुपमा क्रमशः हरेक क्षेत्रहरु खोल्दै जाने र आम नागरिकको दैनिकी सहज बनाउने गरी कार्ययोजना बनाइएको छ । आम नागरिकको दैनिकी सहज हुने गरी लकडाउन खोल्दै जाने कार्ययोजना तयार पारिएको हो । सरकारले नयाँ मोडालिटी तय गर्नुभन्दा पहिले नै उद्योगधन्दा सञ्चालन गर्न दिएको भएपनि मजदूर तथा कर्मचारी अभावमा सञ्चालनमा नआएका उद्योग पनि क्रमशः सञ्चालनमा आएका छन् ।

यस्तै धेरै उद्योगीले कम क्षमतामा मात्र सञ्चालन गरिरहेका उद्योगहरु पनि पूरा क्षमतामा सञ्चालन शुरु गरेका छन् । धेरै उद्योगले सार्वजनिक सवारी सञ्चालन नहुँदा मजदूर उद्योगसम्म आउन र फर्किन समस्या रहेकोमा वैकल्पिक व्यवस्था गरेर पनि उद्योग सञ्चालन गर्न थालेका हुन् ।

यस्तै सोमबारबाट सरकारी कार्यालय भने खुलेका छन् । पहिलो चरणमा आधा कर्मचारी र दोस्रो चरणमा ७५ प्रतिशत र तेस्रो चरणमा सबै कर्मचारी राखी कार्यालय खुलेका हुन् । सरकारले जेठ २० सम्मका लागि सातौ चरणको लकडाउन लागू गरेकोमा जेठ ३२ सम्म थप १२ दिन लकडाउन लम्ब्याउने घोषणा गरेको थियो । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो ।

यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो । सरकारले राष्ट्रिय– अन्तरराष्ट्रिय असार २१ गतेसम्म बन्द गर्ने निर्णय आइतबार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL