Logo

आज लकडाउनको ८१ औं दिन : खुकुलो भएसँगै बजारमा चहलपहल, संक्रमणको खतरा भने थप बढ्यो

आज लकडाउनको ८१ औं दिन : खुकुलो भएसँगै बजारमा चहलपहल, संक्रमणको खतरा भने थप बढ्यो



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)को आज ८१ औं दिन हो । आज सरकारले जेठ २१ बाट जारी गरेको आठौं चरणको लकडाउनको १० औं दिन हो ।

सरकारले जेठ २० सम्मका लागि सातौ चरणको लकडाउन लागू गरेकोमा जेठ ३२ सम्म थप १२ दिन लकडाउन लम्ब्याउने घोषणा गरेको थियो । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो ।

यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो ।

सरकारले आठौं चरणमा जेठ ३२ सम्म लकडाउन गर्ने घोषणा गर्दै अन्तरराष्ट्रिय सीमानाका र विमानस्थल आगामी असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ ।

यसैक्रममा सरकारले बिहीबारदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।

मन्त्रिपरिषदको बैठकले विभिन्न तीन चरणमा लकडाउन खुकुलो गर्दै जाने गरी आजबाट विभिन्न सेवा सञ्चालनको अनुमति दिएको छ ।

पहिलो चरणमा २१ दिनमा २१ सेवा खुल्नेछन् । जसमा अत्यावश्यक सेवासहित निजी सवारी, ट्याक्सी, पसल, व्यवसाय समेत छन् । तर, जोरबिजोर प्रणालीमा सवारी निश्चित नाकाभित्र मात्र सञ्चालन गर्न अनुमति हुनेछ । लामो दुरीको यात्रामा रोक लगाइएको छ ।

लकडाउनको २१ दिन अनुगमन गरी अर्को ३० दिनभित्र अन्य सेवा पनि सञ्चालनमा आउनेछन् । अबको २१ दिनपछि अर्को १५ दिनमा थप सेवा सञ्चालन गर्न दिइनेछ । त्यसपछि तेस्रो चरणमा शैक्षिक संस्था र मनोरञ्जन र खेलस्थलबाहेक बाँकी सेवा सञ्चालनमा आउनेछन् । यसरी हेर्दा शैक्षिक संघसंस्था र मनोरञ्जनस्थल भदौयता सञ्चालनमा आउने सम्भावना कम छ ।

१ असारबाट सरकारी कार्यालय खुल्नेछन् । पहिलो चरणमा आधा कर्मचारी र दोस्रो चराण्मा ७५ प्रतिशत र तेस्रो चरणमा सबै कर्मचारी राखी कार्यालय खुल्नेछन् । ११ चैत्रबाट लकडाउन ८० दिनपछि खुकुलो भएको हो । योसँगै सर्वसाधारणले केही राहतको महशुश गर्ने अपेक्षा गरिएको छ ।

गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो । सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो । विज्ञहरुले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए ।

सरकारले २१ गतेदेखि लकडाउनको नयाँ चरण जारी रहने घोषणा गर्दा लकडाउनको नयाँ मोडालिटीबारे स्पष्ट नपार्दा थप अन्यौलता बढेको थियो । जनतामा उकुसमुकुस पैदा भएको थियो । तर, लकडाउन खुकुलो भएसँगै बिहीबारदेखि नै बजारमा चहलपहल बढेको छ ।

सरकारले लकडाउनको नयाँ मोडालिटी तय गरेसँगै नेपालले संक्रमणको गति तीब्र भएका बेला अब कसरी लकडाउन ह्याण्डल गर्छ चन्नेमा धेरैको चासो रहेको छ । स्वास्थ्य विज्ञहरुले भने संक्रमण उचाईमा पुग्न लागेकाले थप सर्तक हुनुपर्ने बताइरहेका छन् । बिहीबारदेखि बजार खुलेपनि बजारमा उपयुक्त सुरक्षा मापदण्ड र प्रदल यात्रीले पनि आवश्यक सुरक्षा नअपनाउादा संक्रमण थप भयावह हुन सक्ने भन्दै चिन्ता पनि बढेको छ ।

हालसम्म नेपालमा कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा १५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या बढेर ४ हजार ६ सय नाघेको छ । लकडाउन खोल्दा थप भयावह अवस्था आउने आँकलनसमेत गरेर सरकारले लकडाउन जारी राखेको बताइएपनि लकडाउनले जनताको दैनिक जीवन नै संकटतर्फ उन्मुख भएको भन्द्यै विरोध बढेपछि सरकार लकडाउन खुकुलो बनाउन बाध्य भएको हो ।

लकडाउनमात्र सरकारले विकल्पका रुपमा लिएकोमा धेरैले आलोचना पनि गरिरहेका थिए । पछिल्लो समय आर्थिक विश्लेषकहरुले देशको अर्थतन्त्र बचाउन पनि लकडाउन खुकुलो बनाउँदै खोल्नुपर्ने बताए पनि स्वास्थ्य विज्ञहरुले भने लकडाउन हटाए थप भयावह अवस्था आउन सक्ने सुझाव दिइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL