Logo

आज लकडाउनको ८० औं दिन : आजदेखि पहिलो चरणमा लकडाउन खुकुलो, २१ दिनमा २१ सेवा खुल्ने (सूचीसहित)

आज लकडाउनको ८० औं दिन : आजदेखि पहिलो चरणमा लकडाउन खुकुलो, २१ दिनमा २१ सेवा खुल्ने (सूचीसहित)



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)को आज ८० औं दिन हो । आज सरकारले जेठ २१ बाट जारी गरेको आठौं चरणको लकडाउनको नवौं दिन हो ।

सरकारले जेठ २० सम्मका लागि सातौ चरणको लकडाउन लागू गरेकोमा जेठ ३२ सम्म थप १२ दिन लकडाउन लम्ब्याउने घोषणा गरेको थियो । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो ।

यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो ।

सरकारले अहिले आठौं चरणमा जेठ ३२ सम्म लकडाउन गर्ने घोषणा गर्दै अन्तरराष्ट्रिय सीमानाका र विमानस्थल आगामी असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ ।

यसैक्रममा सरकारले आजदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । यो निर्णय बिहीबारदेखि नै लागू हुने मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए ।

सरकारले आजबाट लकडाउन खुकुलो गरेको छ । मन्त्रिपरिषदको साँझ बसेको बैठकले विभिन्न तीन चरणमा लकडाउन खुकुलो गर्दै जाने गरी आजबाट विभिन्न सेवा सञ्चालनको अनुमति दिएको छ ।

तीन चरणमा लकडाउन खोलिने निर्णय भएको सरकारका एक मन्त्रीले जानकारी दिए । यसको औपचारिक जानकारी आज सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दिनेछन् ।

पहिलो चरणमा २१ दिनमा २१ सेवा खुल्नेछन् । जसमा अत्यावश्यक सेवासहित निजी सवारी, ट्याक्सी, पसल, व्यवसाय समेत छन् । तर, जोरबिजोर प्रणालीमा सवारी निश्चित नाकाभित्र मात्र सञ्चालन गर्न अनुमति हुनेछ । लामो दुरीको यात्रामा रोक लगाइएको छ ।

लकडाउनको २१ दिन अनुगमन गरी अर्को ३० दिनभित्र अन्य सेवा पनि सञ्चालनमा आउनेछन् । अबको २१ दिनपछि अर्को १५ दिनमा थप सेवा सञ्चालन गर्न दिइनेछ । त्यसपछि तेस्रो चरणमा शैक्षिक संस्था र मनोरञ्जन र खेलस्थलबाहेक बाँकी सेवा सञ्चालनमा आउनेछन् । यसरी हेर्दा शैक्षिक संघसंस्था र मनोरञ्जनस्थल भदौयता सञ्चालनमा आउने सम्भावना कम छ ।
१ असारबाट सरकारी कार्यालय खुल्नेछन् । पहिलो चरणमा आधा कर्मचारी र दोस्रो चराण्मा ७५ प्रतिशत र तेस्रो चरणमा सबै कर्मचारी राखी कार्यालय खुल्नेछन् । ११ चैत्रबाट लकडाउन ८० दिनपछि खुकुलो भएको हो । योसँगै सर्वसाधारणले केही राहतको महशुश गर्ने अपेक्षा गरिएको छ ।

गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो ।
सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो । विज्ञहरुले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउनेबारेको समग्र मोडालिटी स्वीकृत गरेको ती मन्त्रीको भनाइ छ । लकडाउनको मोडालिटीबारे बिहीबार ३ बजे सरकारले पत्रकार सम्मेलन गरेर सरकारले पूरा जानकारी दिने भएको छ ।

सरकारले २१ गतेदेखि लकडाउनको नयाँ चरण जारी रहने घोषणा गर्दा लकडाउनको नयाँ मोडालिटीबारे स्पष्ट नपार्दा थप अन्यौलता बढेको थियो । विभिन्न सञ्चारमाध्यममा प्रेषित फरक–फरक समाचारका कारण पनि जनतामा उकुसमुकुस पैदा भएको थियो ।

सरकारले लकडाउनको मोडालिटी तय गर्ने भनेसँगै लकडाउन खुकुलो होला कि भन्ने धेरैको आशा रहेको थियो । यस्तोमा नेपालले संक्रमणको गति तीब्र भएका बेला अब कसरी लकडाउन ह्याण्डल गर्छ चन्नेमा धेरैको चासो रहेको छ ।

लामो लकडाउनका कारण अफ्ठ्यारोमा परेका व्यवसायीहरुले कोरोना संक्रमणको त्रासबीच सरकारको लकडाउन लम्बयाउने निर्णयको अवज्ञा गर्न थालेका थिए । जनता स्वस्फूर्त रुपमा व्यवसाय सञ्चालन गर्न निस्केका थिए ।

व्यवसायीले आफ्नो व्यवसाय खोलेर सरकारी निर्णयको अवज्ञा गर्दै व्यवसाय बन्द गर्न खटिएका प्रहरीविरुद्ध व्यवसायी तथा सर्वसाधारणले समेत प्रतिकार गर्न थालेका थिए । यसले आन्दोलनको मुडमा जनता पुगेको देखिएको थियो । यस्तै देशका विभिन्न स्थानमा व्यवसायीहरुले बजार खोल्न थालेका थिए ।

एक सरकारले लकडाउनको मोडालिटी तय नगरेको भन्दै आक्रोशित भएका व्यवसायीहरुले लकडाउन अवज्ञा गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि र सर्वसाधारणसमेत सडकमा निस्किएपछि सरकारसँग लकडाउन खुकुलो बनाउने बाहेक किल्प पनि थिएन । ‘भोकले मर्नुभन्दा रोगले मर्नु ठीक’ भन्दै धेरै साना व्यवसायीले सरकारी निर्णय अवज्ञा गर्दै व्यवसाय सञ्चालन गर्न थालेका थिए ।

हालसम्म नेपालमा कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा १४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या बढेर ४ हजार ३ सय नाघेको छ । लकडाउन खोल्दा थप भयावह अवस्था आउने आँकलनसमेत गरेर सरकारले लकडाउन जारी राखेको बताइएपनि कडाउनले जनताको दैनिक जीवन नै संकटतर्फ उन्मुख भएको अवस्था छ ।

कतिपय सर्वसाधारण दैनिक गुजाराको चिन्ताले छटपटिएका छन् । यस्तोमा लकडाउनमात्र सरकारले विकल्पका रुपमा लिएकोमा धेरैले आलोचना पनि गरिरहेका थिए । पछिल्लो समय आर्थिक विश्लेषकहरुले देशको अर्थतन्त्र बचाउन पनि लकडाउन खुकुलो बनाउँदै खोल्नुपर्ने बताए पनि स्वास्थ्य विज्ञहरुले भने लकडाउन हटाए थप भयावह अवस्था आउन सक्ने सुझाव दिइरहेका थिए ।

लामो लकडाउनका कारण सर्वसाधारणदेखि सबै वर्ग क्रमश समस्यामा पर्दै गएका छन् । सर्वसाधारणलाई दैनिक गुजाराको चिन्ता छ भने व्यवसायी, उद्योगी तथा अन्य क्षेत्रमा समेत बैंक ऋण, कर्मचारीको तलबजस्ता समस्या बढ्दै गएका छन् ।

यता सर्वसाधारण तथा व्यवसायीले सरकारले लकडाउनको उचित विकल्प नखोजेको, उपयुक्त राहत प्याकेज नल्याएको र आफ्नै पारामा अघि बढेको बताउँदै आएका थिए । लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ ।

पहिलो चरणमा आजबाट खुल्ने सेवा र कार्य:

१) स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत

२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी

३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण

४) फोहोरमैला व्यवस्थापन

५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य

९) उत्पादनशील उद्योग

१०) निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)

१२) निर्माण कार्य (निजीसमेत)

१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण

१४) रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा

१५) क्वारेन्टिनका लागि तोकिएका होटल

१६) बिजुलीका सामान बिक्री र मर्मत

१७) विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

१८) पुस्तक पसल तथा स्टेसनरी१९) सबै प्रकारका ढुवानी सेवा

२०) अत्यावश्यक सेवाका कार्यालय

२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)

प्रतिक्रिया दिनुहोस्
MBL