Logo

जनताको आँशुले पग्लिएला सरकारको मन, आजको मन्त्रिपरिषद बैठकले बनाउला त लकडाउन खुुकुलो ?

जनताको आँशुले पग्लिएला सरकारको मन, आजको मन्त्रिपरिषद बैठकले बनाउला त लकडाउन खुुकुलो ?



काठमाडौं, २७ जेठ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) ले ११ साता पार गरिसकेको छ । गत चैत्र ११ बाट जारी लकडाउन लगातार उस्तै प्रकृतिको सरकारी आदेशमा निरन्तर छ ।

कोारेना भाइरस संक्रमण नियन्त्रण्मा भन्दै सरकारले दश अर्ब रुपैयाँ खर्च भएको हिसाब प्रस्तुत गरिरहदा भने जनता लामो लकडाृनका कारण दैनिक जीवनयापको कष्टपूर्ण अवस्थामा आइपुगेका छन् । निम्नवर्गीय जनताको जीवन त लकडाउन घोषणा भएकै दिनदेखि आधापेट वा भोकभोकै ग्रुजिएको छ । सरकारले राहत बाँडेको प्रचार गरिरहेपनि लकडाउनका कारण लाखौं नेपाली आधापेटमा जीवन गुजारिहेका छन् ।

सरकारको निर्दयता त हप्तौदिन पैदल हिंडेर गन्तब्यमा पुग्न सडकमै सघर्ष गरिरहेका नेपालीहरुको पीडामा पहिल्यै झल्किइसकेको हो । तर, अहिले परिस्थिति थप भयावह बन्दै गएको छ । जनतासँग अब व्यवसाय बन्द गरेर बस्न वा काम नगरी खाएर बस्नका लागि अर्को विकल्प छैन् । तर, सरकार भने हरेकपटक लोडसेडिङको समयमा जस्तो लकडाउनको नयाँ तालिका झिकेर मात्र बसेको छ ।

सरकारलाई विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिदैं कोरोना संक्रमणकाबीच कसरी अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने विषयमा सुझाव दिइसकेको पनि हप्तौं भइसक्यो । तर, सरकार भने हरेक दिन नयाँ मोडालिटी लागू गर्ने भन्दै यत्तिकै रुमलिएको छ ।

यसै सन्दर्भमा लकडाउनको नयाँ स्वरूप (मोडालिटी) बारे निर्णय गर्न आज (मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। एक मन्त्रीका अनुसार आजको बैठकले लकडाउनको नयाँ मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्नेछ। बैठक दिउँसो २ बजे बस्नेछ।

सरकारले पछिल्लोपटक थपेको अवधि यही जेठ ३२ गते सकिँदै छ। लकडाउन लम्बिँदै गएपछि व्यवसायी तथा सर्वसाधारणले उल्लंघन गर्ने क्रम बढिरहेको छ। काठमाडौं उपत्यकामा पसल खोल्ने विषयमा दैनिकजसो व्यापारी र प्रहरीबीच विवाद हुने गरेको छ। आजको मन्त्रिपरिषद् बैठकले अब लकडाउन कस्तो बनाउने, कहिलेसम्म लम्ब्याउने भन्ने विषयमा समेत निर्णय गर्ने ती मन्त्रीले जानकारी दिएका छन्।

सीसीएमसीले लकडाउन खोल्ने पाँच चरणको योजना अघि सारेको छ । असार १ गतेदेखि उद्योगधन्दा, कलकारखाना, अस्पताल, चिकित्सा, राहतका क्षेत्र आंशिक सञ्चालनमा ल्याउने गरी मोडालिटी बनेको भनिएको छ । त्यस्तै आंशिकरूपमा आन्तरिक उडान पनि सुरु गर्ने कार्ययोजना तय भएको छ । आज बस्ने मन्त्रिपरिषद्ले यसैमा आधारित भएर निर्णय गर्ने बताइएको छ ।

लामो लकडाउनका कारण अफ्ठ्यारोमा परेका व्यवसायीहरुले कोरोना संक्रमणको त्रासबीच सरकारको लकडाउन लम्बयाउने निर्णयको अवज्ञा गर्न थालेका छन् । जनता स्वस्फूर्त रुपमा व्यवसाय सञ्चालन गर्न निस्केका छन् । व्यवसायीले आफ्नो व्यवसाय खोलेर सरकारी निर्णयको अवज्ञा गर्दै व्यवसाय बन्द गर्न खटिएका प्रहरीविरुद्ध व्यवसायी तथा सर्वसाधारणले समेत प्रतिकार गर्न थालेका छन् । यसले आन्दोलनको मुडमा जनता पुगेको देखिएको छ । सरकारले लकडाउनको मोडालिटी तय नगरेको भन्दै आक्रोशित भएका व्यवसायीहरुले व्यवसाय सञ्चालनबाट पछि नहटने बताइरहेका छन् भने सर्वसाधारणसमेत सडकमा निस्किरहेका छन् ।

अब सरकारले निर्णय गरोस वा नगरोस जनता भने सरकारी निर्णय नकुर्ने मुडमा पुगिसकेका छन् । ‘भोकले मर्नुभन्दा रोगले मर्नु ठीक’ भन्दै धेरै साना व्यवसायीले सरकारी निर्णय अवज्ञा गर्दै व्यवसाय सञ्चालन गर्न थालेका छन् भने मजदूरले काम खोजरहेका छन् । आशा गरौं सरकारको मन जनताको आशुँले पग्लिएला र सरकारले लकडाउन खुकुलो बनाउँदै जनतालाई काम गरिखाने अवसर देला ।

प्रतिक्रिया दिनुहोस्
MBL