Logo

६ चरणमा लकडाउन खुलाउने सरकारको तयारी : असार १५ बाट निजी सवारी चल्ने, पूर्ण रुपमा लकडाउन भने दशैं अघिमात्र हट्ने

६ चरणमा लकडाउन खुलाउने सरकारको तयारी : असार १५ बाट निजी सवारी चल्ने, पूर्ण रुपमा लकडाउन भने दशैं अघिमात्र हट्ने



काठमाडौं । सरकारले विभिन्न ६ चरणमा लकडाउन खुलाउने भएको छ । सरकारले लकडाउन चरण–चरणमा लकडाउन खुकुलो बनाउँदै जाने र अन्तमा सबै सामान्य बनाउने रणनीति तयार पारेको हो । यसका लागि मिति तोकेरै छ चरणमा गर्ने गरी स्वरुप तयार भइसकेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले उक्त प्रस्ताव तयार पारेको हो । संभवत आइतबार बस्ने मन्त्रिपरिषदबाट उक्त प्रस्ताव पारित भएपछि लकडाउन नयाँ मोडालिटीमा अघि बढनेछ । ।

असार १ बाट पहिलो चरणमा लागु हुने उक्त योजना अनुसार लकडाउन पूर्ण रुपमा दशैं अगाडि मात्र खोलिने गरी तयारी भएको छ । तर, खुकुलो भने पारिदैं लगिनेछ । लकडाउनले दैनिक जनजीवन प्रभावित भएको र विरोध बढेपछि सरकारले विज्ञसँगको सुझावका आधारमा पछिल्लो तयारी गरेका हो ।

पहिलो चरणमा अत्यावश्यक सेवाप्रदायक संस्था खोल्न दिइनेछ । त्यसमा अत्यावश्यक वस्तु उत्पादन र विक्रीवितरण गर्ने उद्दोग व्यवसाय पर्नेछन् । दोस्रो चरण अर्थात् असारको दोस्रो हप्तामा पहिलो चरणको अनुभव हेरेर आर्थिक गतिविधि बढाइनेछ । निर्माणको काम गर्ने वातावरण बनाइनेछ । सबै किसिमका सामान विक्रीवितरण गर्ने पसलहरुलाई निश्चित नियममा रहेर खोल्न अनुमति दिइनेछ ।

तेस्रो चरण अर्थात् असारको १५ पछि कृषिलगायत दैनिक उपभोग्य सामाग्रीको विक्रीवितरण सहज बनाउन दिनुका अलावा निजी सवारी साधन निश्चित मापदण्ड तोकेर सञ्चालन गर्न दिइनेछ । शुरुमा जोर बिजोर प्रणाली लागु गरिनेछ । बैंक तथा वित्तिय संस्था पूर्ण रुपमा खोल्न दिइनेछ भने कपाल काट्ने सैलुन, ब्युटीपार्लर, खेलकुद सम्बन्धि संस्था खुल्नेछन् ।

चौंथो चरण अर्थात असारको तेस्रो साता धार्मिक स्थलहरु खुला हुनेछन् । जसमा सामान्य जमघट हुने स्थलहरु पनि संचालन गर्न दिइनेछ । पाँचौं चरण अर्थात् साउनको १ गते विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण सम्बन्धित सेवाहरु संचालन गर्न अनुमति दिइनेछ । पूर्वाधार निर्माणका कार्य हुनेछन् । पार्क, स्विमिङ पुल, खेल मैदान, सिनेमा हल पनि यही चरणमा खुल्नेछन् ।

छैंठौ चरणमा सबै क्षेत्रलाई पूर्ण सुचारु हुन दिइनेछ । तर, त्यसका लागि निश्चित नियमको पालना गर्नुपर्नेछ । कोभिड–१९ को जोखिमलाई दृष्टिगत गरी महामारी फैलिएमा उक्त क्षेत्रलाई सिल गर्ने गरि प्रस्ताव तयार भएको छ । समितिले यो प्रस्ताव आइतबार मन्त्रिपरिषदमा लैजानुअघि आज र भोलिपनि विभिन्न क्षेत्रसँगको छलफललाई भने निरन्तरता दिने र थप परिमार्जन आवश्यक परे परिमार्जन गर्ने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL