Logo

आज लकडाउनको ७४ औं दिन : सरकार लकडाउनको नयाँ मोडालिटी तय गर्न असफल, सरकारलाई नकुर्ने मुडमा जनता

आज लकडाउनको ७४ औं दिन : सरकार लकडाउनको नयाँ मोडालिटी तय गर्न असफल, सरकारलाई नकुर्ने मुडमा जनता



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)को आज ७४ औं दिन हो । आज सरकारले जेठ २१ बाट जारी गरेको आठौं चरणको लकडाउनको तेश्रो दिन हो ।

सरकारले जेठ २० सम्मका लागि सातौ चरणको लकडाउन लागू गरेकोमा गत शनिबारमात्र जेठ ३२ सम्म थप १२ दिन लकडाउन लम्ब्याउने घोषणा गरेको थियो । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो ।

यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो ।

सरकारले अहिले आठौं चरणमा जेठ ३२ सम्म लकडाउन गर्ने घोषणा गर्दै अन्तरराष्ट्रिय सीमानाका र विमानस्थल आगामी असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ । बन्दाबन्दी अवधिमा यसको ढाँचाबारे कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने बताइरहँदा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग परामर्श गरेका थिए ।

छलफलमा विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिदैं कोरोना संक्रमणकाबीच कसरी अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने विषयमा सुझाव दिएका थिए । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग पहिलो पटक छलफल गरेका थिए । ।

तर, सरकारले २१ गतेदेखि हुने लकडाउनको मोडालिटीबारे सरकारले स्पष्ट नपार्दा थप अन्यौलता बढेको छ । विभिन्न सञ्चारमाध्यममा प्रेषित फरक–फरक समाचारका कारण पनि जनतामा उकुसमुकुस पैदा भएको छ । सरकारले उच्चस्तरीय समितिको सिफारिसका आधारमा लकडाउनको मोडालिटी तय गर्ने भनेसँगै लकडाउन खुकुलो होला कि थप कडा होला भन्नेमा धेरैको जिज्ञासा रहेको छ । यस्तोमा नेपालले संक्रमणको गति तीब्र भएका बेला अब कसरी लकडाउन ह्याण्डल गर्छ चन्नेमा धेरैको चासो रहेको छ ।

लामो लकडाउनका कारण अफ्ठ्यारोमा परेका व्यवसायीहरुले सररकारको लकडाउन लम्बयाउने निर्णयको अवज्ञा गर्न थालेका छन् । मंगलबारदेखि जनता स्वस्फूर्त रुपमा व्यवसाय सञ्चालन गर्न निस्केका छन् । व्यवसायीले आफ्नो व्यवसाय खोलेर सरकारी निर्णयको अवज्ञा गर्दै व्यवसाय बन्द गर्न खटिएका प्रहरीविरुद्ध व्यवसायी तथा सर्वसाधारणले समेत प्रतिकार गर्न थालेका छन् ।

यस्तै देशका विभिन्न स्थानमा व्यवसायीहरुले बजार खोल्न थालेका छन् । बुधबारदेखि काठमाडौंका विभिन्न स्थानमा व्यवसायीले लकडाउन अवज्ञा गर्दै बजार खोलेका थिए । सरकारले लकडाउनको मोडालिटी तय नगरेको भन्दै आक्रोशित भएका व्यवसायीहरुले बिहीबार व्यापक रुपमा व्यवसाय सञ्चालन गरेका थिए । यसैक्रममा बिहीबार लकडाउनको नयाँ मोडालिटी तय गर्न बसेको मन्त्रिपरिषदको बैठक लकडाउनको नयाँ मोडालिटी तय गर्न असफल भएको छ ।
बैठकले लकडाउनको मोडालिटी तयार पार्ने जिम्मा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई दिएको छ । मन्त्रिपरिषद बैठकले दुई दिनभित्र खुल्ने मोडालिटीसहितको कार्ययोजना पेश गर्न उच्च स्तरीय समितिलाई जिम्मा दिएको एक मन्त्रीले जानकारी दिए । समितिले तयार पारेको मोडालिटी अनुसार आइतबार पुनः बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनबारे निर्णय लिने ती मन्त्रीले जानकारी दिए ।

केही दिनयता व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि यस विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको हो । उच्चस्तरीय समन्वय समितिले विभिन्न क्षेत्रका सरोकारवालसँग छलफल जारी राखेको छ । तर, जनता भने सरकारी निर्णय नकुर्ने मुडमा पुगिसकेका छन् । ‘भोकले मर्नुभन्दा रोगले मर्नु ठीक’ भन्दै धेरै साना व्यवसायीले सरकारी निर्णय अवज्ञा गर्दै व्यवसाय सञ्चालन गर्न थालेका छन् ।

कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा १० जनाको मृत्युसमेत भएपछि सरकार थप सतर्क बनेको छ । लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने व्यवस्था गरिएको छ । यस्तै सरकारले अत्यावश्यक सेवा भने सञ्चालन गर्न दिइने गरि कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न दिइने पुरानै मोडालिटीमा लकडाउन गरिरहेको छ । तर, आगामी जेठ २१ पछि कुन मोडालिटीमा लकडाउन गर्ने भन्नेबारे उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन निर्णय गर्ने भनिएको छ । ७१औं दिनसम्म आइपुग्दा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ ।

करीब १० हप्तायता घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ । यसैक्रममा जारी लकडाउन थप गर्ने सरकारको निर्णयसँगै सर्वसाधारण लकडाउन कहिलेसम्म चल्ने हो भन्ने चिन्तामा देखिएका छन् । सरकारले उद्योगधन्दा सञ्चालन गर्नका लागि लकडाउन खुकुलो बनाउन लागिएको बताएपनि उद्योगी व्यवसायी मजदूर, कच्चापदार्थ तथा बजारका कारण दबाबमा रहेका छन् । तर, अहिलेसम्म सरकारले लकडाउन कहिलेसम्म यहि मोडालिटीमा चलिरहने हो र आगामी दिनमा कसरी अगाडि बढने योजना छ भन्ने जानकारी नगराएकाले पनि सबैमा लकडाउनबबारे अन्यौलता देखिएको छ । यस्तै धेरै संक्रमित थपिएसँगै थप त्रास र चिन्ता बढेको छ ।

अर्कोतर्फ संक्रमितको संख्या बढेर २६ सय पुगेको छ । पछिल्लो दिनमा संक्रमितको बढ्दो तीब्रताले आगामी जेठ ३२ पछि पनि लकडाउन खुल्ने आशा कमै रहेको जानकार बताउँछन् । जेठ २० पछि लकडाउन खुल्ने धेरैको अपेक्षा रहेपनि सरकारले संक्रमितको व्यवस्थापन र बिदेशबाट भित्रिएका नेपालीका लागि नै उपयुक्त व्यवस्था गर्न नसकेको अवस्थामा लकडाउन खोल्दा थप भयावह अवस्था आउने आँकलनसमेत गरेर सरकारले लकडाउन जारी राखेको सम्बन्धितहरुको भनाई छ । देशमा कोरोना भाइरसको संक्रमण निकै बढ्न थालेपनि लकडाउनले जनताको दैनिक जीवन नै संकटतर्फ उन्मुख भएको छ ।

कतिपय सर्वसाधारण दैनिक गुजाराको चिन्ताले छटपटिएका छन् । यस्तोमा लकडाउनमात्र सरकारले विकल्पका रुपमा लिएकोमा धेरैले आलोचना पनि गरिरहेका छन् । पछिल्लो समय आर्थिक विश्लेषकहरुले देशको अर्थतन्त्र बचाउन पनि लकडाउन खुकुलो बनाउँदै खोल्नुपर्ने बताए पनि स्वास्थ्य विज्ञहरुले भने लकडाउन हटाए थप भयावह अवस्था आउन सक्ने सुझाव दिइरहेका छन् । अर्कोतर्फ लकडाउनका कारण मुलुकका मुख्य शहर सुनसान छन् । बन्दाबन्दीका कारण बन्द रहेको आर्थिक गतिविधि सुचारु गर्ने भनिए पनि अहिलेसम्म उपयुक्त ढंगले सञ्चालनमा भने आउन सकेको छैन् ।

लामो लकडाउनका कारण सर्वसाधारणदेखि सबै वर्ग क्रमश समस्यामा पर्दै गएका छन् । सर्वसाधारणलाई दैनिक गुजाराको चिन्ता छ भने व्यवसायी, उद्योगी तथा अन्य क्षेत्रमा समेत बैंक ऋण, कर्मचारीको तलबजस्ता समस्या बढ्दै गएका छन् । यता सर्वसाधारण तथा व्यवसायीले सरकारले लकडाउनको उचित विकल्प नखोजेको, उपयुक्त राहत प्याकेज नल्याएको र आफ्नै पारामा अघि बढेको बताउँदै आएका छन् ।

यता लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । अति आवश्यक काम बाहेक सवारी साधन नचलाउन ट्राफिक महाशाखाले आग्रह गरेको छ । ट्राफिक प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । पछिल्लो समय लकडाउन अवज्ञा गर्नेहरु बढ्दैंै जाँदा प्रहरीलाई सकस परेको छ ।

यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL