Logo

आज लकडाउनको ७३ औं दिन : व्यवसायीले देशैभर खोल्न थाले व्यवसाय, जनताले काम गर्न देउ भनेपछि सरकार दबाबमा

आज लकडाउनको ७३ औं दिन : व्यवसायीले देशैभर खोल्न थाले व्यवसाय, जनताले काम गर्न देउ भनेपछि सरकार दबाबमा



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)को आज ७३ औं दिन हो । आज सरकारले जारी गरेको आठौं चरणको लकडाउनको दोश्रो दिन हो ।

सरकारले जेठ २० सम्मका लागि सातौ चरणको लकडाउन लागू गरेकोमा गत शनिबारमात्र जेठ ३२ सम्म थप १२ दिन लकडाउन लम्ब्याउने घोषणा गरेको थियो । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो ।

यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो ।

सरकारले अहिले आठौं चरणमा जेठ ३२ सम्म लकडाउन गर्ने घोषणा गर्दै अन्तरराष्ट्रिय सीमानाका र विमानस्थल आगामी असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ । बन्दाबन्दी अवधिमा यसको ढाँचाबारे कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने बताइरहँदा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग परामर्श गरेका छन् ।

छलफलमा विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् । बालुवाटारमा भएको छलफलमा विज्ञहरुले लकडाउन खुकुलो बनाउन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । ‘छलफलमा सहभागी अर्थविद्हरुले कोरोना संक्रमणकाबीच कसरी अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने विषयमा सुझाव दिनुभयो,’ प्रेस सल्लाहकार थापाले भने, ‘विभिन्न क्षेत्रका २५ जना विषयगत विज्ञहरूले कोरोना नियन्त्रण तथा रोकथाम र लकडाउन खोल्ने विषयमा आ–आफ्ना धारणा राखे ।’

त्यसपछि आफ्नो विचार राख्दै प्रधानमन्त्रीले विज्ञ समूहको सुझावलाई ध्यानमा राख्दै लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे सरकारले आवश्यक निर्णय लिने जानकारी दिएको प्रेस सल्लाहकार थापाले बताए । बैठकमा अर्थशास्त्री, योजनविद्, जेण्डरविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविदलगायतको सहभागिता रहेको थियो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग पहिलो पटक छलफल गरेका हुन् ।

तर, सरकारले २१ गतेदेखि हुने लकडाउनको मोडालिटीबारे सरकारले स्पष्ट नपार्दा थप अन्यौलता बढेको छ । विभिन्न सञ्चारमाध्यममा प्रेषित फरक–फरक समाचारका कारण पनि जनतामा उकुसमुकुस पैदा भएको छ । सरकारले उच्चस्तरीय समितिको सिफारिसका आधारमा लकडाउनको मोडालिटी तय गर्ने भनेसँगै लकडाउन खुकुलो होला कि थप कडा होला भन्नेमा धेरैको जिज्ञासा रहेको छ । छिमेकी भारतले लकडाउन कायम राखेपनि आजदेखि धेरै क्षेत्र र व्यवसायमा लकडाृन खुकुलो बनाएको छ र जनजीवन सहज बनाउने प्रयास गरेको छ । यस्तोमा नेपालले संक्रमणको गति तीब्र भएका बेला अब कसरी लकडाउन ह्याण्डल गर्छ चन्नेमा धेरैको चासो रहेको छ ।

लामो लकडाउनका कारण अफ्ठ्यारोमा परेका व्यवसायीहरुले सररकारको लकडाउन लम्बयाउने निर्णयको अवज्ञा गर्न थालेका छन् । मंगलबारमात्र जोरपाटी र पुल्चोकका व्यवसायीले आफ्नो व्यवसाय खोलेर सरकारी निर्णयको अवज्ञा गरेका थिए । त्यहाँ व्यवसाय बन्द गर्न खटिएका प्रहरीविरुद्ध व्यवसायी तथा सर्वसाधारणले समेत प्रतिकार गरेका थिए ।

यस्तै देशका विभिन्न स्थानमा व्यवसायीहरुले बजार खोल्न थालेका छन् । बुधबारदेखि काठमाडौंका विभिन्न स्थानमा व्यवसायीले लकडाउन अवज्ञा गर्दै बजार खोलेका थिए । सरकारले लकडाउनको मोडालिटी तय नगरेको भन्दै आक्रोशित भएका व्यवसायीहरुले आजबाट व्यवसाय सुरु गर्ने बताएका छन् ।

कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा ९ जनाको मृत्युसमेत भएपछि सरकार थप सतर्क बनेको छ । लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने व्यवस्था गरिएको छ । यस्तै सरकारले अत्यावश्यक सेवा भने सञ्चालन गर्न दिइने गरि कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न दिइने पुरानै मोडालिटीमा लकडाउन गरिरहेको छ । तर, आगामी जेठ २१ पछि कुन मोडालिटीमा लकडाउन गर्ने भन्नेबारे उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन निर्णय गर्ने भनिएको छ । ७१औं दिनसम्म आइपुग्दा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ ।

करीब १० हप्तायता घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ । यसैक्रममा जारी लकडाउन थप गर्ने सरकारको निर्णयसँगै सर्वसाधारण लकडाउन कहिलेसम्म चल्ने हो भन्ने चिन्तामा देखिएका छन् । सरकारले उद्योगधन्दा सञ्चालन गर्नका लागि लकडाउन खुकुलो बनाउन लागिएको बताएपनि उद्योगी व्यवसायी मजदूर, कच्चापदार्थ तथा बजारका कारण दबाबमा रहेका छन् । तर, अहिलेसम्म सरकारले लकडाउन कहिलेसम्म यहि मोडालिटीमा चलिरहने हो र आगामी दिनमा कसरी अगाडि बढने योजना छ भन्ने जानकारी नगराएकाले पनि सबैमा लकडाउनबबारे अन्यौलता देखिएको छ । यस्तै धेरै संक्रमित थपिएसँगै थप त्रास र चिन्ता बढेको छ ।

अर्कोतर्फ संक्रमितको संख्या बढेर २४ सय नजिक पुगेको छ । पछिल्लो दिनमा संक्रमितको बढ्दो तीब्रताले आगामी जेठ ३२ पछि पनि लकडाउन खुल्ने आशा कमै रहेको जानकार बताउँछन् । जेठ २० पछि लकडाउन खुल्ने धेरैको अपेक्षा रहेपनि सरकारले संक्रमितको व्यवस्थापन र बिदेशबाट भित्रिएका नेपालीका लागि नै उपयुक्त व्यवस्था गर्न नसकेको अवस्थामा लकडाउन खोल्दा थप भयावह अवस्था आउने आँकलनसमेत गरेर सरकारले लकडाउन जारी राखेको सम्बन्धितहरुको भनाई छ । देशमा कोरोना भाइरसको संक्रमण निकै बढ्न थालेपनि लकडाउनले जनताको दैनिक जीवन नै संकटतर्फ उन्मुख भएको छ ।

कतिपय सर्वसाधारण दैनिक गुजाराको चिन्ताले छटपटिएका छन् । यस्तोमा लकडाउनमात्र सरकारले विकल्पका रुपमा लिएकोमा धेरैले आलोचना पनि गरिरहेका छन् । पछिल्लो समय आर्थिक विश्लेषकहरुले देशको अर्थतन्त्र बचाउन पनि लकडाउन खुकुलो बनाउँदै खोल्नुपर्ने बताए पनि स्वास्थ्य विज्ञहरुले भने लकडाउन हटाए थप भयावह अवस्था आउन सक्ने सुझाव दिइरहेका छन् । अर्कोतर्फ लकडाउनका कारण मुलुकका मुख्य शहर सुनसान छन् । बन्दाबन्दीका कारण बन्द रहेको आर्थिक गतिविधि सुचारु गर्ने भनिए पनि अहिलेसम्म उपयुक्त ढंगले सञ्चालनमा भने आउन सकेको छैन् ।

लामो लकडाउनका कारण सर्वसाधारणदेखि सबै वर्ग क्रमश समस्यामा पर्दै गएका छन् । सर्वसाधारणलाई दैनिक गुजाराको चिन्ता छ भने व्यवसायी, उद्योगी तथा अन्य क्षेत्रमा समेत बैंक ऋण, कर्मचारीको तलबजस्ता समस्या बढ्दै गएका छन् । यता सर्वसाधारण तथा व्यवसायीले सरकारले लकडाउनको उचित विकल्प नखोजेको, उपयुक्त राहत प्याकेज नल्याएको र आफ्नै पारामा अघि बढेको बताउँदै आएका छन् ।

यता लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । अति आवश्यक काम बाहेक सवारी साधन नचलाउन ट्राफिक महाशाखाले आग्रह गरेको छ । ट्राफिक प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । पछिल्लो समय लकडाउन अवज्ञा गर्नेहरु बढ्दैंै जाँदा प्रहरीलाई सकस परेको छ ।

यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL