Logo

लकडाउनको ५८ औं दिन : काठमाडौंमा संक्रमणको उच्च जोखिम, सबै नाका सिल गर्न माग

लकडाउनको ५८ औं दिन : काठमाडौंमा संक्रमणको उच्च जोखिम, सबै नाका सिल गर्न माग



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ५८ औं दिन हो । मंगलबारदेखि सरकारले जारी गरेको सातौं चरणको लकडाउन शुरु भएको छ ।

आइतबार सरकारले आगामी जेठ २० सम्मका लागि सातौ चरणको लकडाउनको अवधि थपेको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो ।

यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो ।

कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा मानिसको मृत्यु समेत भएपछि सरकार थप सतर्क बनेको छ । लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने भएको छ । यस्तै सरकारले अत्यावश्यक सेवा भने सञ्चालन गर्न दिइने बताए । त्यसरी पास विना रोकथामको उपायसहित कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न दिइने पुरानै मोडालिटी कायम रहेको बताइएको छ । नयाँ मोडालिटीका बारे छलफल भइरहेको र सुरक्षित तरिकाले श्रम गर्न दिने तयारी भएको सरकारले बताएको छ ।

५८औं दिनसम्म आइपुग्दा यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ । ८ हप्ता बढी घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ ।

अर्कोतर्फ लकडाउनका कारण मुलुकका मुख्य शहर सुनसान छन् । पछिल्लो समय १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको र संख्या बढेर ४ सय नाघेसँगै त्रास बढेको छ । संक्रमण थप जिल्लाहरुमा बिस्तार भएसँगै जनमानसमा त्रास उत्पन्न भएको छ । मंगलबार काठमाडौंमा थप ३ जनामा संक्रमण देखिएसँगै काठमाडौं महानगरले काठमाडौंमा उच्च जोखिम बढेको भन्दै काठमाडौं प्रवेशका सै नाका सिल गर्न माग गरेको छ । धनकुटा, खोटाङ, गुल्मी, दैलेखजस्ता जिल्लामासमेत संक्रमित भेटिएसँगै आधा नेपालमा संक्रमण फैलिएको छ । संक्रमित मध्ये ३७ जना निको भएर फर्किएसँगै केही आशा पनि जागेको छ ।

मंगलबार काठमाडौं उपत्यका प्रवेशमा कडाइ गर्न नाका सिल गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखी पठाउने निर्णय गर्दै काठमाडौं महानगरपालिकाको ४६ औं बिशेष कार्यपालिका बैठक सम्पन्न भएको छ । जेठ ४ गते आइतबार राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख एवं कार्यपालिका बैठकका अध्यक्ष बिद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न बैठकले उपत्यकामा सम्भावित कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न यसप्रकार निर्णय गरेको हो ।

हामीले उपत्यकाबाहिर भएका मानिसलाई महामारी नियन्त्रण नहुञ्जेल उपत्यका नआउन र भित्र भएकालाई बाहिर नजान आग्रह गरेका थियौं । केही मानिसहरु अनावश्यक रुपमा आवतजावत गरेकाले उपत्यका पनि जोखिममा पर्यो ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत दिनहुँ पक्राउ गरि कारवाही गरिरहेको छ ।

अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ । यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् । धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL