Logo

लकडाउनको ५७ औं दिन : आधा नेपालमा कोरोना फैलिएसँगै जनमानसमा त्रास, यस्तो छ सरकारको थप तयारी !

लकडाउनको ५७ औं दिन : आधा नेपालमा कोरोना फैलिएसँगै जनमानसमा त्रास, यस्तो छ सरकारको थप तयारी !



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ५७ औं दिन हो । आजदेखि सरकारले जारी गरेको सातौं चरणको लकडाउन शुरु भएको छ । आइतबार सरकारले आगामी जेठ २० सम्मका लागि सातौ चरणको लकडाउनको अवधि थपेको छ ।

सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो ।

यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो ।

कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा मानिसको मृत्यु समेत भएपछि सरकार थप सतर्क बनेको छ । लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने भएको छ । यस्तै सरकारले अत्यावश्यक सेवा भने सञ्चालन गर्न दिइने बताए ।

त्यसरी पास विना रोकथामको उपायसहित कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न दिइने पुरानै मोडालिटी कायम रहेको बताइएको छ । नयाँ मोडालिटीका बारे छलफल भइरहेको र सुरक्षित तरिकाले श्रम गर्न दिने तयारी भएको सरकारले बताएको छ ।

५६औं दिनसम्म आइपुग्दा यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ । ८ हप्ता बढी घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ ।

अर्कोतर्फ लकडाउनका कारण मुलुकका मुख्य शहर सुनसान छन् । पछिल्लो समय १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको र संख्या बढेर ३७५ पुगेसँगै थप त्रास बढेको छ । सोमबार एकैदिन ८० जना संक्रमितको संख्या थपिएको थियो भने संक्रमण थप जिल्लामा बिस्तार भएसँगै जनमानसमा त्रास उत्पन्न भएको छ ।

सोमबार खोटाङ, गुल्मी, दैलेखजस्ता जिल्लामासमेत संक्रमित भेटिएसँगै आधा नेपालमा संक्रमण फैलिएको छ । संक्रमित मध्ये ३६ जना निको भएर फर्किएसँगै केही आशा पनि जागेको छ ।

सरकारले भने कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउनमा कडाई गर्दै देशैभर परीक्षणलाई व्यापक बनाएको दाबी गर्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म करिब एक लाख नमुना परीक्षण सम्पन्न भएको जनाएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा सोमबार प्रवक्ता डा. विकास देवकोटाले र्यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) र पीसीआर परीक्षणबाट एक लाख २ सय ८३ नमुना परीक्षण भएको जानकारी गराएका हुन् ।

उनका अनुसार आरडिटी विधिबाट ६९ हजार ५६० र पीसीआर विधिबाट ३० हजार ७३० गरी कुल एक लाख २८३ वटा नमुना परीक्षणहरु सम्पन्न भएका छन् । पछिल्लो २४ घण्टामा पिसिआर २ हजार ५५८ र र्यापिड टेस्टमार्फत १७ सय ९१ नमुना परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । हाल २० हजार ९० जना क्वारेन्टाइनमा रहेका छन् भने उपत्यका भित्र २६ जना र उपत्यका बाहिर ३८६ जना गरी ४१२ जना आईसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै अहिलेसम्म ३६ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत दिनहुँ पक्राउ गरि कारवाही गरिरहेको छ ।

अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ । यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् । धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL