Logo

‘लकडाउन’ ५५ औ दिनमा : कोरोनाबाट पहिलो मृत्युपछि त्रास बढ्यो, लकडाउन थपबारे आजै निर्णय गर्ने तयारी

‘लकडाउन’ ५५ औ दिनमा : कोरोनाबाट पहिलो मृत्युपछि त्रास बढ्यो, लकडाउन थपबारे आजै निर्णय गर्ने तयारी



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ५५ औं दिन हो । हाल सरकारले जारी गरेको छैटौं चरणको लकडाउन चलिरहेको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो ।

यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले बुधबार छैटौंपटक शुक्रबारदेखि देखि जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको छ ।

कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा मानिसको मृत्यु समेत भएपछि सरकार थप सतर्क भएको छ । योसँगै कोभिड रोकथामसम्बन्धी संयन्त्रको बैठक बसेर लकडाउन थप्नेबारे संशोधित मोडालिटीसहितको सिफारिश हुने भएको छ । विश्वस्त स्रोतका अनुसार अब लकडाउन झन् कडा हुने भएको छ । कम्तीमा १० दिन लकडाउन थप्ने गरी तयारी भएको बताइएको े जानकारी दियो । जेठ महिना निकै जोखिमले भरिएको रिपोर्टहरु आएपछि सरकारले लकडाउन कडाईका साथ थप्न लागेको हो ।

लकडाउन लम्ब्याउने र मोडालिटीबारे संयन्त्रले सुझावहरु संकलन गरिसकेको छ । चारवटै सुरक्षा निकायका प्रमुख देखि स्वास्थ्य मन्त्रालय, आपूर्ति मन्त्रालयलगायतका अधिकारीहरुको राय संकलन गरेर अबको योजनाबारे थप निर्णय लिन लागिएको बुझिएको छ । कोरोना भाइरसको रोकथाममा सेना समेत परिचालन हुन थालेका छन् । हिजो कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाको शव दाहसंस्कार गर्न पशुपति आर्यघाट लगिदा सेना समेत सुरक्षाका लागि खटिएको थियो । अब आवश्यकता अनुसार सेना पनि परिचालन गर्ने तयारी भएको स्रोतले जानकारी दियो ।

विश्वस्त स्रोतका अनुसार अब काठमाडौं उपत्यका छिर्ने मुख्य नाकाहरुमा नेपाली सेनालाई समेत समावेश गरी कडाई गरिने तयारी भएको छ । चारवटै सुरक्षा निकायलाई स्वास्थ्यकर्मी र स्थानीय निकायका जनप्रतिनिधिसँग समन्वय गरी खटाइने योजना बनाइएको छ । कोरोना भाइरसको संक्रमित संख्या ह्वात्तै बढेपछि र एकजनाको मृत्यु पनि भइसकेको अवस्थामा सरकारले झन् कडा नीति लिन लागेको हो । यसपटक कम्तिमा १५ जेठसम्म लकडाउन थपिने तयारी भएको छ । संयन्त्रको बैठक बसेर सिफारिश गर्ने र मन्त्रिपरिषद बैठक बसेर सम्भवत आजै निर्णय लिने बुझिएको छ ।

सरकारले लकडाउन कडाई गर्न यसअघि वितरित सबै पास रद्द गरिसकेको छ । निश्चित क्षेत्र तोकी आधिकारिक परिचयपत्र विना सवारी साधन गुड्न निषेध गरिएको छ । उपत्यकाभित्र पैदलसमेत भित्रन निषेध गरिएको छ । संक्रमण समुदायसम्म फैलिएपछि गृह मन्त्रालय कडा रुपमा प्रस्तुत भइसकेको छ । अत्यावश्यक सेवाका सवारीलाई पास चाहिंदैन । तर, ती सवारीमा यात्रा गर्ने सबैले अनिवार्य आधिकारिक परिचयपत्र लिनुपर्नेछ । योसँगै सडक सुनसान हुन थालिसकेको छ ।

५५औं दिनसम्म आइपुग्दा यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ । ७ हप्ता बढी घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ ।

अर्कोतर्फ लकडाउनका कारण मुलुकका मुख्य शहर सुनसान छन् । पछिल्लो समय १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको र संख्या बढेर २९१ पुगेसँगै थप त्रास बढेको छ । संक्रमितको संख्या थपिएपछि जनमानसमा त्रास उत्पन्न भएको छ भने संक्रमित मध्ये ३६ जना निको भएर फर्किएसँगै केही आशा पनि जागेको छ ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत दिनहुँ पक्राउ गरि कारवाही गरिरहेको छ ।

अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ । यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् । धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL