Logo

‘लकडाउन’ ५० औ दिनमा : काठमाडौंमा सवारी चाप, लकडाउन उल्लंघन गर्ने १५ सय सवारी नियन्त्रणमा

‘लकडाउन’ ५० औ दिनमा : काठमाडौंमा सवारी चाप, लकडाउन उल्लंघन गर्ने १५ सय सवारी नियन्त्रणमा



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ५० औं दिन हो । हालसरकारले जारी गरेको छैटौं चरणको लकडाउन चलिरहेको छ ।

सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो ।

यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले बुधबार छैटौंपटक शुक्रबारदेखि देखि जेठ ५ मध्यरातसम्मका लागि लकडानको अवधि थप गरेको छ ।

५० औं दिनसम्म आइपुग्दा यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ । छ हप्ता बढी घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ ।

सरकारले आगामी जेठ ५ गतेसम्मका लागि लकडाउन लम्ब्याए पनि केही क्षेत्रलाई भने खुकुलो पारेको छ । मन्त्रिपरिषद् बैठकले लक डाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको हो । लकडाउनका खुकुलो भएसँगै काठमाडौंमा चहलपहल बढेको छ । आइतबार सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ ।

लकडाउन उल्लंघन गर्नेविरुद्ध भने प्रहरीले कारबाही जारी राखेको छ । सोमबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाटे १ हजार ४३८ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो । महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये १ हजार ३०२ दुई पांग्रे र १३६ चार पांग्रे रहेका छन् ।

यसैगरी पुराना तथा म्याद सकिएका ७ वटा सवारी साधनका पास पनि ट्राफिक प्रहरीले होल्ड गरेको महाशाखाले जनाएको छ । लकडाउन उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । अति आवश्यक काम बाहेक सवारी साधन नचलाउन महाशाखाले आग्रह गरेको छ ।

अर्कोतर्फ लकडाउनका कारण मुलुकका मुख्य शहर सुनसान छन् । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढेर १३४ पुगेको छ । संक्रमितको संख्या थपिएपछि जनमानसमा त्रास उत्पन्न भएको छ भने संक्रमित मध्ये ३३ जना निको भएर फर्किएसँगै केही आशा पनि जागेको छ । जसमध्ये निको भइसकेका ३ जना संक्रमितमा पुनः कोरोना पोजेटिभ देखिएपछि पुनः अस्पताल भर्ना गरिएको छ ।

घरमै बसेर लकडाउनको पालना गर्दा संक्रमण नफैलिने नीति अनुसार सरकारले लकडाउन गरेको सरकारले लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२० अनुसार थुनामा राख्नेसम्मको कारबाही गरिने निर्णय गरेको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ ।

प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ । यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् । धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL