Logo

लकडाउनमा फष्टाएको अनलाइन व्यापार : भविष्यलाई अवसरै-अवसर

लकडाउनमा फष्टाएको अनलाइन व्यापार : भविष्यलाई अवसरै-अवसर



काठमाडौं । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वका धेरै देशमा लकडाउन (बन्दाबन्दी) चलिरहेको छ । नेपालमा पनि लकडाउन ४९ औं दिनमा पुगेको छ । लकडाउनका कारण व्यपार–व्यवसाय पनि ठप्प छ । मानिसहरु लकडाउनका कारण घरभित्रै थुनिएका छन् । अहिले विश्वको एक तिहाई जनसंख्या घरभित्रै छ । तर, लकडाउन भने केही व्यवसायका लागि भने अवसर बनेको छ । विश्वका ठुला मानिएका अमेजन, अलिबाबालगायतका ठूला ईकमर्स व्यापार अहिले उचाईमा पुगेको छ । लकडाउनका कारण घरभित्रै रहन बाध्य विश्वभरका मानिसहरुलाई अत्यावश्यक सामग्रीहरु घरदैलोसम्मै पुर्याएर इकमर्शहरुले उच्च सेवा दिएका छन् ।

विश्वमै यो समयमा इ–कमर्श (अनलाइन व्यापार) का सुनौलो समय बनेको छ । नेपालमा पनि अनलाइन व्यपारले लकडाउनको समयमा छलाङ मारेको छ । अहिलेको विषम परिस्थितिमा अत्यावश्यक सामग्रीहरु घर–घरमै पुर्याएर विभिन्न ईकमर्स तथा अनलाईन दोकानहरुले ठूलो गुन लगाएका छन् । नेपालमा अनलाइन व्यापारको बढ्दो ट्रेन्डमा लकडाउन सहायक बनेको छ ।
इन्टरनेट सेवाको बढदो पहुँच, उपभोक्तालाई भनेकै ठाउँमा सुविधा उपलब्ध हुनु र विभिन्न छनौटका अवसर तथा सेवाका कारण पनि इ–कमर्श उपभोक्ताका लागि रोजाइमा पर्न थालेका छन् ।

यसैलाई दृष्टिगत गर्दै पछिल्लो समय विभिन्न नामका इ–कमर्श साइटहरु खुल्ने क्रम पनि बढेको छ । पहिले मुख्यत ग्याजेटस र रेडिमेड लुगाहरुको व्यपारमा सीमित रहेको नेपालको अनलाइन व्यापार अहिले निकै फराकिलो बनेको छ । लकडाउनपछि भने अनलाइन व्यापार उपभोक्ताका दैनिक अत्यावश्यक वस्तुदेखि तरकारी, मासु र फलफुलसम्मको व्यापारमा केन्द्रित भएका छन् ।
नेपालमा कोरोना भाईरसको महामारी अगावैदेखि सेवा प्रदान गरिरहेका मेरो किराना, दराज, स्मार्टडोको, ठूलोडटकम, रारामार्ट, फेवाबजार, सस्तोडिल, मुन्चा, दरबारमार्टलगायतका अनलाईन सपिङ प्लेटफर्महरुहरुले लकडाउनको अवधिमा भने उच्च व्यापार गरिरहेका छन् ।

विशेषगरी लकडाउनकै बेला शुरु गरेर दैनिक अत्यावश्यक बस्तुको व्यापारमा केन्द्रित रहेर व्यापार गरिरहेको ‘ग्यापु’ले लकडाउनलाई मध्यनजर गर्दै खाधान्नलगायतमा वस्तु डेलिभरी दिदै आएको छ । ग्यापु छोटो समयमै उपभोक्तामाझ लोकप्रिय बनेको छ । यस्तै लकडाउनको मौका पारेर आफ्नै पसल, खानपिन डटकमजस्ता अनलाइनल प्लेटफर्महरु पनि बजारमा आएका छन् । लकडाउन अघि पनि अनलाइन व्यापार गरेर नेपालमा स्थापित हुँदै गरेका दराज, स्मार्टडोको, सस्तो डिललगायतले लकडाउनमा आफ्नो व्यपारको स्वरुप परिवर्तन गरि दैनिक अत्यावश्यक बस्तुमा केन्द्रित भएका छन् ।

पछिल्लो समय विश्वभर नै इकमर्श व्यवसाय फस्टाएको र नेपालमा पनि यसको राम्रो भविष्य रहेको ग्यापु डटकमका निर्देशक विज्ञान श्रेष्ठले जानकारी दिए । ‘अबको भविश्य भनेकै इकमर्स वा अनलाईन व्यवसायमा छ, यसलाई प्रवद्र्धन गर्न राज्यले पनि सोही अनुरुपका नीति नियम बनाउनु पर्छ,’ उनले भने, ‘जसले उपभोक्तालाई सहज र सरल मूल्यमा घरघरमै बस्तु तथा सेवा डेलिभरी गरिदिनेछ ।’ साथै इकमर्शबाट बस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताको समय बचत हुनुका साथै अनावश्यक बार्गेनिङ गर्नेपर्ने झण्झबाट समेत मुक्त भईने उनले जानकारी दिए ।

विशेषगरी ग्यापुले नेपालमा मात्र अनलाईन व्यवसाय गर्ने नभई विश्वभर नै यसको बजारिकरण गर्ने गरी प्लेटफर्म तयार गरेको उनले जानकारी दिए । ‘हाम्रो उद्देश्य भनेको नेपालका टिपिखल र उच्च भ्यालु एड हुने बस्तु तथा सेवालाई विश्व बजारमा बिक्री गर्ने हो,’ उनले भने, ‘जसका लागि हामीले विभिन्न खालको प्लेटफर्म तयार गरिरहेका छौं तत्कालै अब अन्तरराष्ट्रिय स्तरमा बजारिकरण गर्ने छौं ।’

दराजले विगमार्टका सबै सामान आफ्नो प्लेटफर्ममार्फत बेचिरहेको छ । यस्तै अरु अनलाइन प्लेटफर्महरुले पनि विभिन्न ढंगले व्यापार गरिरहेका छन् । इन्टरनेटको सुविधा भएकाले कम्प्युटर तथा मोबाइलबाट सहजै अर्डर गर्न सक्ने, मूल्य त्यही हुने र सहजै घरमै पाइने भएकाले अहिले दैनिक अत्यावश्यक वस्तुके व्यपार पनि अनलाइनबाट निकै बढेको छ । इन्टरनेट सुविधा नभएको अवस्थामा फोनबाट पनि सामान अर्डर गर्न सकिने सुविधा प्रायः सबैले दिएका छन् ।

नेपालमा अनलाईन अर्डरका माध्यमबाट मानिसको घरदैलोमै आवश्यक वस्तु पुर्याईरहेका यस्ता अनलाइन सपिङ प्लेटफर्महरुले भविष्य पनि उज्वल देखेका छन् । मानिसहरुलाई जथाभावी घरबाहिर निस्कन निषेध गरिएको गरिएको अवस्थामा मानिसहरुले आफुले चाहेको मालबस्तु आफै रोजेर खरिद गर्न पाएका छैनन । यस्तो अवस्थामा आफुले चाहेको सामान अनलाईनमा अर्डर गर्ने र सोही अनुसारको भुक्तानी गरेर सामान अपनाउनेहरुको संख्या बढ्दो छ ।

लकडाउन हुनु अगाडि पनि आफै रोजेर सामान किन्नेहरुजस्तै अनलाईन अर्डर गरेर खरिद गर्नेहरुको संख्या बढ्दो थियो । लकडाउन जारी भइसकेपछि यसको प्रभाव बढ्यो । यसका साथै अनलाईनमा सपिङ गर्नेहरुको संख्या झन बढेको अनलाईन सपिङकर्ताहरुको भनाई छ । सामाजिक दुरी कायम गरेर संक्रमणबाट बच्न होस या सरकारले जारी गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न होस अनलाईन सपिङ प्लेटफर्मले ठूलो सहयोग पुर्याएका छन् ।

अनलाईन व्यपारमा राम्रो स्थान बनाएको मेरोसपिङ डटकमले यो बन्दाबन्दीमा दैनिक अत्यावश्यक वस्तको विक्री नगरेपनि पिपिई र ह्यान्ड स्यानिटाइजरको राम्रो व्यापार गरेको मेरोसपिङ डटकमका निर्देशक उज्जवल भण्डारीले बताए । दैनिक अत्यावश्यक वस्तु विक्रि गर्ने योजना भएपनि पास तथा विविध कारणले अहिले नगरेको पनि भण्डारीले बताए । ‘तर, यो लकडाउनको अधिमा पनि हामीले पिपिई, ह्याण्ड स्यानिटाइजर, मास्कलगायतको राम्रो व्यपार गर्यौ’, भण्डारीले बताए ।

नेपालमा भारत र चीनजस्ता छिमेकी देशकहरुको जस्तो ठूलो बजार नभएपनि नेपाली बजारमा ठूलो सम्भावना भएको भण्डारी बताउँछन् । ‘हाम्रो बजारमा अर्बौ रुपैयाँको दैनिक कारोबार हुने गरेको छ र यस्तो कारोबार धेरैजसो पसलबाटै हुने गर्छ । त्यसैले अहिलेको इ–कमर्श क्षेत्रको चुनौती त्यो अर्बौको कारोबारलाई इ–कमर्शतिर ल्याउनु हो । नेपालमा भारत र चीनजस्तो ठूलो बजार र त्यहाँ जस्तो इ–कमर्शमा ठूलो प्रतिस्पर्धा पनि छैन । अहिले चलिरहेका नेपाली इ–कमर्शहरुलाई नेपाली बजारमा अवसर नै अवसर छ । मुख्य कुरा भनेको ग्राहकलाई इ–कमर्श्तिर आकर्षण गर्नु हो । ग्राहकको आकर्षण इ–कमर्शतिर भए नेपालमा इ–कमर्शको भविष्य निकै उज्जवल छ’, भण्डारी बताउँछन् ।

अनलाइन व्यापारले सहजता मात्रै पुर्याएको छैन यसले दैनिक जीवनयापनमा समेत ठुलो भूमिका निभाएको छ । सरकारले पनि यस्ता अनलाईन सपिङ प्लेटफर्मलाई ग्राहकको घरघरसम्म वस्तु पुर्याउनका लागि विभिन्न किसिमका छुट पनि दिएको छ । लकडाउनका ग्राहकको घरसम्म अत्यावश्यक बस्तुहरु पुर्याउनलाई यस्तो प्लेटफर्मलाई सरकारले छुट दिएकै कारण यस्तो व्यवसाय हाल फस्टाउँदो छ । अर्कोतर्फ अहिले अनलाइन व्यापारका लागि बंैक तथा वित्तिय संस्थाले पेमेन्ट गेट वेका लागि सहकार्य गरेपछि अनलाईन भुत्तलानी प्रणाली पनि स्थापित बन्दै गएको छ । जसले भविष्यमा सरकारले भनेजस्तो क्यासलेस नेपालको सपना पनि पूरा हुने देखिएको छ ।

सरकारले अनलाइन व्यापारलाई प्रोत्साहन गर्ने नीति लिएको छ । अत्यावश्यक वस्तुको व्यापार व्यवसाय गर्नेका लागि ५ दिनभित्रै ऋण दिने गरि नेपाल राष्ट्र बैंकले हालै जारी गरेको सूचनामा लकडाउनका बेला संचालन हुने र सरकारले तोकेको अत्यावश्यक वस्तु संचालनका लागि ऋण लिन चाहेमा पाँच दिनभित्रै पाइने जानकारी दिइएको छ ।

राष्ट्र बैंकको सर्कुलरमा भनिएको छ–‘कोेभिड १९ को रोकथाम नियन्त्रण तथा उपचारमा प्रयोग हुने स्वास्थ्य सेवा विभागले सूचीकृत एवं सिफारिस गरेका स्वास्थ्योपचार सम्बन्धी वस्तु तथा उपकरणहरु, औषधी, खाद्यान्नलगायत अत्यावश्यक माल वस्तु पैठारी एवं बिक्रीक्रि वितरण सहज बनाउने प्रयोजनको लागि कर्जाको माग भएमा संक्षिप्त प्रक्रिया पुरा गरि पाँच दिनभित्र कर्जा प्रदान गर्नुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL