Logo

‘लकडाउन’ ४७ औ दिनमा : यस्ता सवारी साधनलाई अब पास नचाहिने, आइतबारदेखि यी क्षेत्र पनि खुल्ने

‘लकडाउन’ ४७ औ दिनमा : यस्ता सवारी साधनलाई अब पास नचाहिने, आइतबारदेखि यी क्षेत्र पनि खुल्ने



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ४७ औं दिन हो । शुक्रबारदेखि सरकारले जारी गरेको छैटौं चरणको लकडाउन शुरु भएको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो ।

यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले बुधबार छैटौंपटक शुक्रबारदेखि देखि जेठ ५ मध्यरातसम्मका लागि लकडानको अवधि थप गरेको छ ।

४७ औं दिनसम्म आइपुग्दा यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ । छ हप्ता बढी घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ ।

सरकारले आगामी जेठ ५ गतेसम्मका लागि लकडाउन लम्ब्याए पनि केही क्षेत्रलाई भने खुकुलो पारेको छ । मन्त्रिपरिषद् बैठकले लक डाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको हो । सर्तसहित औषधिजन्य वस्तुको उत्पादन, विक्रि वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्रि वितरण, निर्माणजन्य सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रीवितरण गर्न पाउने निर्णय गरेको छ । सम्बन्धित स्थानीय तहमा गठन भएको समितिबाट अनुमति लिएर कृषि तथा पशुपक्षी सम्बन्धि, खाद्यवस्तु र अन्य बाली लगाउने भित्र्याउने काम गर्न पाउने निर्णय गरेको छ ।

यसैगरी फलफुल र दुग्धजन्य वस्तुको उत्पादन र विक्रि वितरण गर्न पाउने, स्वास्थ्य सेवाका क्षेत्रहरु, भेटेनरी सञ्चालन, र पाठ्यपुस्तक विक्रि वितरण गर्ने पसल तथा ढुवानी गर्ने सवारीहरु जनक शिक्षा सामग्रीबाट अनुमति लिएर गर्न पाउने निर्णय सरकारले गरेको हो । उद्योग प्रतिष्ठान, विकास निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न पाउने निर्णय पनि सरकारले गरेको छ ।

यस्तै राष्ट्रिय गौरबका आयोजनाहरु सञ्चालन गर्ने, जलविद्युत, खानेपानी, विमानस्थल निर्माणका काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ । त्यसका लागि सम्बन्धित निर्माण कम्पनीले दैनिक रुपमा श्रमिकरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने, एकै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने सर्त राखेको छ । बिहीबार सार्वजनिक बिदा रहेकाले बैंक तथा वित्तिय संस्थाहरुले आजदेखि थप सेवा प्रदान गर्ने बताइएको छ ।

यस्तै गिट्टी बालुवा उत्पादन गर्न पाइने निर्णय पनि सरकारले गरेको छ । बैंक तथा वित्तिय संस्थाहरुले बढीमा एक तिहाइ कर्मचारीबाट सेवा प्रदान गर्न सक्ने निर्णय पनि सरकारले गरेको छ । सार्वजनिक सेवाका क्षेत्रहरुमा एक चौथाई सवारीलाई मात्र पास उपलब्ध गराउने, सञ्चालनमा आउने विभिन्न उद्योग प्रतिष्ठानहरुले श्रमिकलाई छुट्टै स्थानमा बस्ने व्यवस्था मिलाएर काम गर्ने, स्थानीयसँग सम्पर्क नहुनेगरी खाजाको व्यवस्था गर्ने र त्यसको खर्च उद्योगहरुले व्यहोर्ने र कार्यस्थललाई नियमित स्यानिटाइजेसन गरी काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ । यस्तै इन्टरनेट, वर्कसप लगायतका क्षेत्रहरुमा बढीमा ५ जना कामदार रहनेगरी सञ्चालन गर्न पाउने निर्णय पनि सरकारले गरेको छ । अन्तर्राष्ट्रिय सीमानाकाहरु जेठ १८ गतेसम्म बन्द राख्ने निर्णय पनि सरकारले गरेको छ । सीमानाका खुला गरेपनि खाद्यान्न लगायत अत्यावश्यक सामग्री बोकेका सवारी भने सञ्चालन हुनेछन् ।

यस्ता सवारी साधनलाई पास नचाहिने

सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको हो । उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध आवागमनका लागि आवश्यक तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

उनका अनुसार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको बैठकले उपत्यकामा चल्ने सवारीका विषयमा आवश्यक कार्ययोजनासहित सहजीकरण गर्ने निष्कर्ष निकालिएको छ । लकडाउनलाई कायम राख्दै विकास निर्माण, उद्योग तथा कलकारखानाका लागि चाहिने सामग्री बोक्ने सवारीलाई सहज आवतजावत गर्न मिल्ने गरी व्यवस्थापन गर्ने र इँटा, ढुङ्गा, रड, सिमेन्टलगायत बोकेका सवारीलाई पास नचाहिने भन्ने बैठकको निष्कर्ष रहेको छ ।

उपत्यकामा चल्ने गाडीको हकमा सम्बन्धित मन्त्रालयका सचिव तथा संघसंस्थाको हकमा सम्बन्धित संस्थाका नियामक निकायले पास जारी गर्ने जिल्लाको हकमा सम्बन्धित कार्यालयको सिफारिसमा प्रमुख जिल्ला अधिकारीमार्फत पास जारी गर्ने निष्कर्षसमेत उक्त बैठकले गरेको छ ।

मान्छेको भिडभाड हुन नदिने र सरकारले तोकेका गतिविधि गर्न नदिने विषयमा भने थप कडाइ गर्ने निष्कर्षसमेत निकालिएको छ । विकास निर्माणसम्बन्धीका सामग्री बोकेका हेभी सवारी राति ८ः०० देखि बिहान ६ः०० बजेसम्म चल्न पाउने छन् । बैंक तथा वित्तीय संस्थाका गाडी बिहान ९ः०० देखि ९ः३० सम्म तथा बेलुका ३ः३० देखि ५ः०० बजेसम्म चल्न पाउने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमखु, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । उनका अनुसार सरकारले गरेको निर्णय र निर्देशन अनुसार विकास निर्माणका कामलाई सहजीकरण गर्दै अन्य गतिविधिलाई भने पूर्ण रोक्ने गरी प्रहरी परिचालन गरिएको छ ।

केही दिन अघिदेखि नेपाल प्रहरीले उपत्यकामा दैनिक उपभोग्य र स्वास्थ्य उपचारसम्बन्धीका सवारीबाहेकका सवारी पास भए पनि प्रवेश निशेध गरेको थियो । अब भने विकास निर्माणसँग सम्बन्धित गाडी भने स्वास्थ्य मापदण्ड पूरा गरेर आउन पाउने छन् । त्यस्ता सवारीमा अन्य यात्रु बोक्न भने पाइने छैन । सरकारको निर्णयसँग बिहीबारदेखि भने उपत्यकामा गाडीको चाप थप बढेको छ । साना गाडी बढी गुडिरहेका छन् । यात्रुबाहक गाडी भने चलेका छैनन् । उपत्यकाका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहीबारदेखि नै बैंक तथा वित्तीय संस्थासमेत खुलेकाले त्यस्ता संस्थामा मानिसको अत्यधिक भीड देखिएको छ । लामो लाइन बसेर सेवा लिइरहेको पाइएको छ ।

यस्तै सरकारले कृषि, रासायनिक मल, प्राङ्गारिक मल बोकेका ढुवानीका साधन, जनक शिक्षा सामग्री केन्द्रको सिफारिसमा शैक्षिक सामग्री बोकेका सवारी, विकास आयोजना सम्बन्धी, स्वास्थ्यसम्बन्धीका गाडी, भन्सारबाट जाँच पास भएर आएका मालबाहक सवारीलाई चल्न दिने निर्णय गरेको छ । यस्ता सबै सवारी चल्नका लागि आवश्यक स्वास्थ्य मापदण्ड भने अपनाउनुपर्ने हुन्छ ।

लकडाउनका कारण काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढेर १०२ पुगेको छ । संक्रमितको संख्या थपिएपछि जनमानसमा त्रास उत्पन्न भएको छ भने संक्रमित मध्ये ३० जना निको भएर फर्किएसँगै केही आशा पनि जागेको छ । जसमध्ये निको भइसकेका ३ जना संक्रमितमा पुनः कोरोना पोजेटिभ देखिएपछि पुनः अस्पताल भर्ना गरिएको छ ।

घरमै बसेर लकडाउनको पालना गर्दा संक्रमण नफैलिने नीति अनुसार सरकारले लकडाउन गरेको सरकारले लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२० अनुसार थुनामा राख्नेसम्मको कारबाही गरिने निर्णय गरेको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ ।

प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत पक्राउ गरेको छ । लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् ।

अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ । यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् । धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL