Logo

‘लकडाउन’ ४३ औ दिनमा : लकडाउन थपबारे आज निर्णय हुँदै, यस्तो छ सरकारी तयारी

‘लकडाउन’ ४३ औ दिनमा : लकडाउन थपबारे आज निर्णय हुँदै, यस्तो छ सरकारी तयारी



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ४३ औं दिन हो । ४३ औं दिनसम्मको यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ ।

छ हप्तायता घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ । यसैबीच सरकारले आज लकडाउन थपबारे निर्णय गर्दैछ । अहिले जारी लकडाउनको अवधि बिहीबार सकिने भएकाले सरकारले लकडाउनबारे आजै निर्णय लिने बताइएको छ ।

सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्नेगरि रणनीति बनाउन गृहकार्य गरिररहेको छ । सरकारले लकडाउनलाई क्षेत्र हेरेर खुकुलो र खुला गर्ने उद्देश्यसहित कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । तर, सरकारी रणनीतिमा आजमात्रै ७ जना संक्रमित फेला परेसँगै असर पर्ने देखिएको छ । मंगलबार नेपालगञ्जमा ७ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ८२ पुगेको छ ।

कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले आज थप गृहकार्य गरेर लकडाउनबारे निर्णय गर्ने भएको छ । सोमबार बसेको समितिको बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँगको छलफलका आधारमा लकडाउनको मोडालिटी सचिव नारायणप्रसाद विडारीले जानकारी दिए । यसअघि सरकारले बैशाख २५ गतेसम्म लकडाउनको समयावधि थपेको थियो ।

‘जनजीवन सामान्य बनाउन र रोगलाई कावुमा राख्ने विषयमा छलफल र समिक्षा भएको छ । अझैपनि थप तथ्यांक प्रदेश र स्थानीय तहबाट लिने क्रम जारी छ । अझै वर्कआउट गर्नुपर्ने भएकाले आन्तरिक गृहकार्य जारी छ’,सचिव विडारीको भनाई छ । उनका अनुसार मंगलबार बस्ने समितिको बैठकले लकडाउनबारे मंगलबारको समितिको बैठकले मन्त्रिपरिषदलाई खाका पठाउने जानकारी दिए ।

सरकारले लकडाउनको नयाँ मोडालिटी बनाई लम्ब्याउने लगभग भएको छ । यसका लागि कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबारको बैठकले खाका तयार गरेको हो । प्रस्तावित खाका मन्त्रिपरिषदको बैठकबाट पारित गरिने भएको छ । खाकामा रेड जोन र ग्रीन जोन बनाएर लकडाउन खुकुलो र कडाई गर्ने नीति ल्याउन लागिएको छ ।

लकडाउनका कारण काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढेर ७५ पुगेको छ । संक्रमितको संख्या थपिएपछि जनमानसमा त्रास उत्पन्न भएको छ भने संक्रमित मध्ये १६ जना निको भएर घर फर्किएसँगै केही आशा पनि जागेको छ ।

लकडाउन लामो समयसम्म रहँदा कारणका सर्वसाधारणलाई समस्या भएको छ । दैनिक मजदूरी गरेर जीवन धानिरहेका मजदूर तथा जागिरसम्ममा पनि दैनिक गुजाराको चिन्ता बढेदै गएको छ । सरकारले राहत वितरण गरिरहेको बताएपनि कतिपय सर्वसाधारणले अहिलेसम्म राहतै नपाएको र कतिपयले भने अपर्याप्त भएको बताउँदै आएका छन् ।

लामो समय भएको लकडाउनका कारण उद्योग धन्दा तथा कलकारखाना पनि उपयुक्त ढंगले चल्न सकेका छैनन् । यस्तोमा कर्मचारी तथा मजदूरलाई लब खुवाउनुपर्ने चिन्ता व्यवसायीमा थपिएको छ । सबैभन्दा प्रभावित बनेको पर्यटन व्यवसाय नै के हुने हो भन्नेमा व्यवसायीहरु चिन्तित रहेका छन् ।

घरमै बसेर लकडाउनको पालना गर्दा संक्रमण नफैलिने नीति अनुसार सरकारले लकडाउन गरे पनि त्यसलाई उल्लंघन गर्नेहरु पनि उल्लेख्य छन् । सरकारले लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२० अनुसार थुनामा राख्नेसम्मको कारबाही गरिने निर्णय गरेको छ ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ ।

पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत पक्राउ गरेको छ । लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् । अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ ।

यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् ।

सरकारी राहत वितरण चुस्त, दुरुस्त र उपयुत्त, ढंगले नहुँदा हजारौं सर्वसाधारण भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेको भन्दै दिनहुँ पैदलै हिंडेर काठमाडौं छाडिरहेका छन् । धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL