Logo

‘लकडाउन’ आजदेखि ४१ औ दिनमा : यी क्षेत्रमा लकडाउन खुकुलो बनाउँदै सरकार, तपाइँको ठाउँ कुन क्षेत्रमा पर्छ ?

‘लकडाउन’ आजदेखि ४१ औ दिनमा : यी क्षेत्रमा लकडाउन खुकुलो बनाउँदै सरकार, तपाइँको ठाउँ कुन क्षेत्रमा पर्छ ?



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज ४१ औं दिन हो । ४१ औं दिनसम्मको यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा साथ दिएको देखिन्छ ।

एक महिना बढी घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ । यसैबीच सरकारले लकडाउन खुकुलो बनाउने रणनीति बनाउन जुटेको छ । लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ ।

कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४१ दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो कार्ययोजना तयार पारेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सो रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो ।

जसअनुसार अब स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेँलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन मा विभाजन गरिनेछ । ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । यसैगरी, संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई एलो जोन र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला गरिने र संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ ।

सरकारले आह्वान गरेको लकडाउनको अवधि अहिलेका लागि २५ वैशाखमा सकिँदै छ । योसँगै त्यसपछि नेपालमा लकडाउन कुन अवस्थाको हुने भन्ने प्रश्नहरु पनि उठ्न थालेका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले २५ वैशाखदेखि लकडाउन खुकुलो बनाउने तयारी गरेको बताएसँगै जनताहरु लकडाउन खुकुलो होला या नहोला भन्ने अन्यौलमा रहेका छन् । यस्तोमा शुक्रबार भारतले दुई हप्ता लकडाउन थपेसँगै नेपालमा पनि लकडाउन लम्बिने अवस्था रहेको छ ।
यसबारे अहिलेसम्म कोरोनाभाइरस रोकथामका लागि बनेको उच्चस्तरीय समन्वय समितिमा चाहिँ छलफल भएको छैन ।

स्वास्थ्यमन्त्री ढकालले चाहिँ अब एम्बुलेन्सहरुलाई कसरी एकीकृत गरेर सेवा दिने भन्नेबारे गृहकार्य भएको बताएका छन् । उनले कृषि, उद्योगधन्दा तथा अरु विभिन्न महत्वपूर्ण कामहरुको विषयमा पनि कसरी अगाडि बढ्ने भन्ने सरकारले विचार गरिरहेको बताएका छन् । यसको अर्थ हो, २५ वैशाखपछि पनि सरकारले केही समयका लागि लकडाउन लम्ब्याउने छ । तर, सरकारले योबीचमा लकडाउनको मोडालिटीमा भने केही परिवर्तन ल्याउने तयारी गरेको छ ।

लकडाउनका कारण काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढेर ५९ पुगेको छ । संक्रमितको संख्या थपिएपछि जनमानसमा त्रास उत्पन्न भएको छ भने संक्रमित मध्ये १६ जना निको भएर घर फर्किएसँगै केही आशा पनि जागेको छ । लकडाउन लामो समयसम्म रहँदा कारणका सर्वसाधारणलाई समस्या भएको छ । दैनिक मजदूरी गरेर जीवन धानिरहेका मजदूर तथा जागिरसम्ममा पनि दैनिक गुजाराको चिन्ता बढेदै गएको छ ।

सरकारले राहत वितरण गरिरहेको बताएपनि कतिपय सर्वसाधारणले अहिलेसम्म राहतै नपाएको र कतिपयले भने अपर्याप्त भएको बताउँदै आएका छन् । लामो समय भएको लकडाउनका कारण उद्योग धन्दा तथा कलकारखाना पनि उपयुक्त ढंगले चल्न सकेका छैनन् । यस्तोमा कर्मचारी तथा मजदूरलाई लब खुवाउनुपर्ने चिन्ता व्यवसायीमा थपिएको छ । सबैभन्दा प्रभावित बनेको पर्यटन व्यवसाय नै के हुने हो भन्नेमा व्यवसायीहरु चिन्तित रहेका छन् ।

घरमै बसेर लकडाउनको पालना गर्दा संक्रमण नफैलिने नीति अनुसार सरकारले लकडाउन गरे पनि त्यसलाई उल्लंघन गर्नेहरु पनि उल्लेख्य छन् । सरकारले लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२० अनुसार थुनामा राख्नेसम्मको कारबाही गरिने निर्णय गरेको छ ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ ।

पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत पक्राउ गरेको छ । लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् । अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ ।

यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् । सरकारी राहत वितरण चुस्त, दुरुस्त र उपयुत्त, ढंगले नहुँदा हजारौं सर्वसाधारण भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेको भन्दै दिनहुँ पैदलै हिंडेर काठमाडौं छाडिरहेका छन् । धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL