काठमाडौं । ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको कसुरमा पक्राउ परेका शंकर समुहका सुलभ अग्रवाल विरुद्धको कालोबजारीको मुद्दामा आज थप थुनछेक बहस हुँदैछ । बुधबार थुनछेक बहस नसकिएपछि आज थप बहस हुने भएको हो । अग्रवाल पक्षका धेरै वकिलहरु भएपछि बुधबार पुरा बहस हुन नसकेको हो । अग्रवालको मुद्दामा आजै फैसला आउने बताइएको छ ।
अग्रवालको पक्षमा बहसका लागि करिब १ दर्जन वकिलहरु रहेको छन् । बुधबार उनीहरु सबैले वकालत गर्न नभ्याएका हुनाले बिहीबार थप बहस गरिने भएको हो । आजको बहसपछि अग्रवाललाई थुनामा राख्ने किन धरौटी वा तारिखमा छोड्ने भनेर आदेश जारी हुनेछ ।
जिल्ला वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध बिभिन्न ४ कसुरमा मंगलबार मात्रा अदालतमा मुद्दा दर्ता गरेको थियो । त्यसपछि बुधबार अदालतले उक्त मुद्दामा थुनसेक बहस भएको थियो । यो मुद्दा न्यायाधीस ब्रजेशकुमार प्याकुरेलको इजलाशमा रहेको छ । उक्त मुद्दामा अग्रवालको पक्षमा अधिवक्ता लव मैनाली, कृष्ण सापकोटा र पर्शुराम कोइरालाले बहस सकेका छन् । बिहीबार अधिवक्ताहरु रमणकुमार कर्ण, ओमकुमार दाहाल र कमलेश सुवेदीले बहस गर्ने बताइएको छ ।
सरकारको तर्फबाट सरकारी वकिल कार्यालयकी सिर्जना ढकालले वकालत गरेको बताइएको छ । अग्रवालविरुद्ध ३ बर्ष कैद र १५ लाख ७८ हजार बिगो मागदानी गरिएको छ । साथै, सार्वजनिक पद दुरुपयोग गरेको हुनाले थप डेढी सजाय पनि मागदावी गरिएको छ भने कसुरजन्य सम्पत्ति पनि रोक्का गर्नुपर्ने गरि मुद्दा अगाडि बढाइएको छ ।
उनीमाथि कालोबजारी, अवैध भण्डारण, कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोगमा अभियोग छ । ३ हजार पर्ने ल ज्वरो नाप्ने थर्मल गन १५ हजारमा विक्री गरिरहेको अवस्थामा विशेष सूचनाका आधारमा प्रहरीले उनलाई आफै ग्राहक बनेर रंगेहात पक्राउ गरेको हो ।