Logo

३६ औ दिनमा ‘लकडाउन’ : आजदेखि थप कडाई गर्न गृहको निर्देशन, बिहानै काठमाडौंमा हजारौ पक्राउ

३६ औ दिनमा ‘लकडाउन’ : आजदेखि थप कडाई गर्न गृहको निर्देशन, बिहानै काठमाडौंमा हजारौ पक्राउ



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज ३६ औं दिन हो । ३६ औं दिनसम्मको यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा साथ दिएको देखिन्छ । एक महिना बढी घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेपनि आइतबार सरकारले बैशाख २५ सम्मका लागि लकडाउन कायमै राख्ने निर्णय गरिसकेको छ ।

सोमबार ‘लकडाउन’लाई थप कडा पार्न गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएसँगै आजदेखि देशैभर लकडाउनमा कडाई गरिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सोमबार परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको थियो । बीचबाटोमा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृह मन्त्रालयको ठहर छ ।

त्यसैले मन्त्रालयले सोमबारदेखि पासविनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन भनेको थियो । हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड– १९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखेर उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । लकडाउनलाई सरकारले वैशाख २५ गतेसम्म लम्ब्याएको छ । अहिलेसम्म मुलुकमा ५२ जनामा कोभिड– १९ सङ्क्रमण पुष्टि भइसकेको छ ।

लकडाउनमा कडाईसँगै मंगलबार बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ११ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार २ सय ८० जना महिला र ८ सय ३१ जना पुरुषलाई नियन्त्रणमा लिइएको हो । सबैभन्दा धेरै काठमाडौंबाट नियन्त्रणमा लिएको प्रहरी जानकारीमा छ । त्यस्तै सम्वन्धित निकायले लकडाउनको समयमा जारी परेको सवारी पास नलिइ कुदाइएका ९८ वटा सवारी साधन सहित मानिस पनि नियन्त्रणमा लिएको छ । उनीहरुलाई सडका तीन घण्टासम्म राखेर घर पठाउने गरेको छ ।

विगत एक महिनादेखि लकडाउनका कारण काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या थप बढिरहेको छ । पछिल्लो समय संक्रमितको संख्या थपिएपछि जनमानसमा त्रास उत्पन्न भएको छ भने संक्रमित मध्ये १६ जना निको भएर घर फर्किएसँगै केही आशा पनि जागेको छ ।

लकडाउन लामो समयसम्म रहँदा कारणका सर्वसाधारणलाई समस्या भएको छ । दैनिक मजदूरी गरेर जीवन धानिरहेका मजदूर तथा जागिरसम्ममा पनि दैनिक गुजाराको चिन्ता बढेदै गएको छ । सरकारले राहत वितरण गरिरहेको बताएपनि कतिपय सर्वसाधारणले अहिलेसम्म राहतै नपाएको र कतिपयले भने अपर्याप्त भएको बताउँदै आएका छन् ।

लामो समय भएको लकडाउनका कारण उद्योग धन्दा तथा कलकारखाना पनि उपयुक्त ढंगले चल्न सकेका छैनन् । यस्तोमा कर्मचारी तथा मजदूरलाई लब खुवाउनुपर्ने चिन्ता व्यवसायीमा थपिएको छ । सबैभन्दा प्रभावित बनेको पर्यटन व्यवसाय नै के हुने हो भन्नेमा व्यवसायीहरु चिन्तित रहेका छन् ।
घरमै बसेर लकडाउनको पालना गर्दा संक्रमण नफैलिने नीति अनुसार सरकारले लकडाउन गरे पनि त्यसलाई उल्लंघन गर्नेहरु पनि उल्लेख्य छन् । कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धमा उच्चस्तरीय समितिसँग छलफल गर्दै प्रधानमन्त्रीले लकडाउनमा थप कडाई गर्न र जो जहाँ समस्यामा परेको छ त्यही राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।

यसअघि नै समितिले यसअघि नै संक्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२० अनुसार थुनामा राख्नेसम्मको कारबाही गरिने निर्णय गरेको छ । यससँगै अहिले प्रहरी देशैभर एक्सनमा आएको छ । काठमाडौंलगायतका केही शहरमा लकडाउन पालना गराउने निहुँमा प्रहरी दमनमा उत्रेको भन्दै आलोचना पनि भइरहेको छ । संक्रमितको संख्या बढदैं गइरहेको अवस्थामा धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन् । गत चैत ११ गतेदेखि लकडाउन निरन्तर चलिरहेको छ ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत पक्राउ गरेको छ । लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् ।

अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ । लकडाउन तोड्दै सवारी चलाउने भने बढेका छन् । त्यतिमात्र होइन बिना काम घरबाहिर निस्केर पक्राउ पर्ने पनि धेरै छन् । प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्डु गरेर पठाउने गरेको छ । यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ ।

औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् ।

सरकारी राहत वितरण चुस्त, दुरुस्त र उपयुत्त, ढंगले नहुँदा हजारौं सर्वसाधारण भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेको भन्दै दिनहुँ पैदलै हिंडेर काठमाडौं छाडिरहेका छन् । धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । उल्लंघन बढ्दै गएपछि सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा लकडाउनलाई थप कडा रूपमा लागू गर्दै घरमै बस्न सरकारले अपिलसमेत गरेको छ । तर, पछिल्ला केही दिनयता काठमाडौंमा अलपत्र परेका नागरिकका लागि स्थानीय निकायले बसको व्यवस्था गरेपछि दैनिक हजारौं सर्वसाधारण काठमाडौं छाडेर आफ्नो गाउँ गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL