Logo

‘लकडाउन’ आजदेखि २५ औं दिनमा : कार्यान्वनमा कडाई, देशैभर प्रहरी एक्सनमा

‘लकडाउन’ आजदेखि २५ औं दिनमा : कार्यान्वनमा कडाई, देशैभर प्रहरी एक्सनमा



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज २५ औं दिन हो । लकडाउनका कारण काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । सरकारले घोषणा गरेको लकडाउनको अवधि मंगलबारमात्र मन्त्रिपरिषद बैठकले बैशाख १५ सम्मका लागि बढाएकोे छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढेर १६ पुगिसकेको छ । त्यसैगरी आशंका गरेर आइसोलेसनमा राखिएकाहरु १०० को हाराहरीमा भएकाले पनि लकडाउन बढाउनु पर्ने बताइएको छ । त्यस्तै भारतमा अझ बढी संक्रमित भएकाले पनि लकडाउन बढाउनुको विकल्प नभएको बताइन्छ । लकडाउनका कारणका सर्वसाधारणलाई समस्या भएको छ । घरमै बसेर लकडाउनको पालना गर्दा संक्रमण नफैलिने नीति अनुसार सरकारले लकडाउन गरे पनि त्यसलाई उल्लंघन गर्नेहरु पनि उल्लेख्य छन् ।

बुधबारमात्रै कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धमा उच्चस्तरीय समितिले संक्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२०’ अनुसार थुनामा राख्ने सम्मको कारबाही गरिने निर्णय गरेको छ । यससँगै अहिले प्रहरी देशैभर एकसनमा आएको छ । काठमाडौं लगायतका केही शहरमा लकडाउन पालना गराउने निहुँमा प्रहरी दमनामा उत्रेको भन्दै आलोचना पनि भइरहेको छ । बिहीबारैमात्र टिचिङ हस्पिटलका आवासीय चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको भन्दै आलोचना पछि महारगञ्ज वृत्तका डिएसपीसहितका प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।

संक्रमितको संख्या बढदैं गइरहेको अवस्थामा धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन् । गत चैत ११ गतेदेखि लकडाउन निरन्तर चलिरहेको छ । लकडाउनको समयलाई बढाएर बैसाख १५ गतेसम्म पुर्याएको सरकारले सीमा नाका पनि बन्द रहेको जनाएको छ । सीमा नाका कहिलेसम्म बन्द भन्ने विषयमा भने सरकारले निर्णय गरेको छैन, त्यसैले सीमा नाका अनिश्तिकालका लागि बन्द भएका छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले हवाई, र भू–मार्ग मार्ग हुने कुनै पनि आवतजावतलाई निशेष गरेको अर्थ एबंवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।

यस्तै विदेशबाट आएका जो कोहिलाई बास दिनेहरुलाई पनि कारबाही गरिने सरकारले जनाएको छ । स्थानीय प्रशासनको आँखा छलेर विदेशबाट आएकाहरुलाई लुकाएर राखेमा कानुनअनुसार कडा कारबाही हुने खतिवडाले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार लकडाउन वैशाख १८ गतेसम्म लम्ब्याउने निर्णय गरेका छन् । नेपाल र भारतबीच सीमामा आवागमन बन्द भए पनि अत्यावश्यक सामान ल्याउन दिने निर्णय यसअघि नै भएको छ । सीमाबाट सबै अत्यावश्यक सामानहरु आइरहेको दाबी सरकारले गरेको छ । भारतले पूर्णरूपमा लकडाउन नहटाउँदासम्म नेपालले नाका नखोल्ने अवस्था रहेको छ । ‘भारतमा महामारीको रूप लिँदैछ । हामीकहाँ पनि एकपछि अर्को केस थपिँदैछ । यस्तो अवस्थामा भारतसँगको सीमा खोल्ने कुरा सोच्न सकिँदैन, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीले भने ।

सरकारले यसअघि नै आगामी बैशाख १८ सम्मको लागि अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइसकेको थियो भने मंगलबारको मन्त्रीपरिषद बैठकले आन्तरिक उडानपनि सो समयसम्म नखोल्ने जनाएको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ ।

पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत पक्राउ गरेको छ । लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् । अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ । लकडाउन तोड्दै सवारी चलाउने भने बढेका छन् । त्यतिमात्र होइन बिना काम घरबाहिर निस्केर पक्राउ पर्ने पनि धेरै छन् ।

प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ । यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाईस थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् । सरकारी राहत वितरण चुस्त, दुरुस्त र उपयुत्त, ढंगले नहुँदा हजारौं सर्वसाधारण भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेको भन्दै दिनहुँ पैदलै हिंडेर काठमाडौं छाडिरहेका छन् ।

धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । उल्लंख बढ्दै गएपछि सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा लकडाउनलाई थप कडा रूपमा लागू गर्दै घरमै बस्न सरकारले अपिलसमेत गरेको छ । सरकारले पछिल्लो पटक उएक प्रदेशबाट अर्को प्रदेशमा, एक जिल्लाबाट अर्को जिल्लामा र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनमा पनि रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL