Logo

‘लकडाउन’ आजदेखि २० औं दिनमा : लकडाउन लम्ब्याउने तयारीमा सरकार, सकसमा सर्वसाधारण

‘लकडाउन’ आजदेखि २० औं दिनमा : लकडाउन लम्ब्याउने तयारीमा सरकार, सकसमा सर्वसाधारण



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज २० औं दिन हो । आज पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । सरकारले आगामी बैशाख ३ सम्मका लागि लकडाउनको समय थपेको छ ।

संक्रमितको संख्या बढदैं गइरहेको अवस्थामा धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन् । गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । यसैबीच सरकारले हाल जारी लकडाउनलाई थप लम्ब्याउने निश्चित देखिएको छ ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स गर्दै लकडाउन तत्काल नहट्ने र नेपाल–भारत सीमानाकामा अझै कडाइ गरिने बताएका हुन् । उनले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नरहेको स्पष्ट पारेका थिए ।

‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । भावुक कुरा गरेर लापरबाही गर्न कसैलाई छुट छैन’, प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग भने । उनले जनतालाई दुख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गरेका छन् ।

सरकारका एक मन्त्रीका अनुसार जारी लकडाउनलाई तुरुन्तै एक साता लम्ब्याउने गरि निर्णय एक दुई दिनमै हुनेछ भने लकडाउनको अवधि थप अवस्थाको समीक्षा गर्दै बढाउने सरकारी तयारी छ । सरकारले यसअघि नै आगामी बैशाख १८ सम्मको लागि अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइसकेको छ ।

लकडाउनको समय बढेसँगै उल्ङ्नलंघ गर्नेको सङख्या बढदै गएको देखिएको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम उल्लंघन गर्नेहरु पनि रहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ ।

पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत पक्राउ गरेको छ । लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् । अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ । लकडाउन तोड्दै सवारी चलाउने भने बढेका छन् । त्यतिमात्र होइन बिना काम घरबाहिर निस्केर पक्राउ पर्ने पनि धेरै छन् ।

प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ । यसअवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाईस थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

सरकारले गरेको लकडाउनलाई व्यवस्थित गराउने क्रममा ट्राफिक प्रहरीले मानिससंगै सवारी नियन्त्रणमा लिँदै आएको छ । अत्यावश्यक बाहेकका सवारीलाई कार्वाही गरिएको हो । मानिसका हकमा तीन घण्टा जहाँ नियन्त्रणमा लिइयो त्यहीं रोकेर राख्ने गरिएको छ । ट्राफिक प्रहरीले गाडी अत्यावश्यक बाहेकमा कामका लागि चलाएको पाइए दिनभरि होल्ड गरेर बेलुकीमात्रै फिर्ता गर्ने गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् । सरकारी राहत वितरण चुस्त, दुरुस्त र उपयुत्त, ढंगले नहुँदा हजारौं सर्वसाधारण भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेको भन्दै दिनहुँ पैदलै हिंडेर काठमाडौं छाडिरहेका छन् ।

धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । उल्लंख बढ्दै गएपछि सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा लकडाउनलाई थप कडा रूपमा लागू गर्दै घरमै बस्न सरकारले अपिलसमेत गरेको छ ।

सरकारले पछिल्लो पटक उएक प्रदेशबाट अर्को प्रदेशमा, एक जिल्लाबाट अर्को जिल्लामा र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनमा पनि रोक लगाएको थियो ।
यस्तै, सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङमा र्यापिड टेस्ट किट प्रयोग गरेर कोरोनाको परीक्षण पनि थालेको छ । र्यापिड टेस्ट कीटको परीक्षणबाट रिपोर्ट पोजेटिभ देखिए पुनः पीसीआर टेस्ट गर्ने निर्णय भएको छ ।

गत शनिबार नै कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये कैलालीमा संक्रमित महिला नेपालभित्रै संक्रमण भएकी पहिलो व्यक्ति हुन् । यसअघिका सबै जना संक्रमित विदेशबाट आएका थिए । यसले कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकाल्दै सरकारले मास स्केलमा परीक्षण सुरु गर्ने निर्णय गरेको हो । चैत २५ तेश्रो पटक थपिएको एक साताको लकडाउन आगामी बैशाख ३ गते सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL