Logo

‘लकडाउन’ आजदेखि १८ औं दिनमा : उल्लंघन गर्ने क्रम बढ्दै, सडकमा खटिएका प्रहरीलाई सकस

‘लकडाउन’ आजदेखि १८ औं दिनमा : उल्लंघन गर्ने क्रम बढ्दै, सडकमा खटिएका प्रहरीलाई सकस



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज १८ औं दिन हो । आज पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । सरकारले आगामी बैशाख ३ सम्मका लागि लकडाउनको समय थपेको छ ।

संक्रमितको संख्या बढदैं गइरहेको अवस्थामा धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन् । गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । लकडाउनको समय बढेसँगै उल्ङ्नलंघ गर्नेको सङख्या बढदै गएको देखिएको छ ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम उल्लंघन गर्नेहरु पनि रहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ ।

पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । शुक्रबार बिहानै काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ३ सय ६५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शुक्रबार बिहान ८ बजेसम्म २ सय ६७ महिलासहित १ हजार ३ सय ६५ जनालाई नियन्त्रणमा लिएको र नियन्त्रणमा लिएकालाई ३ घण्टा सडकमा होल्ड गरेर कोरोनाको बारेमा शिक्षा दिएर छाडिदिने प्रहरीले बताएको छ ।

प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत पक्राउ गरेको छ । लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् । अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ । लकडाउन तोड्दै सवारी चलाउने भने बढेका छन् । त्यतिमात्र होइन बिना काम घरबाहिर निस्केर पक्राउ पर्ने पनि धेरै छन् ।

प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ । यसअवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

सरकारले गरेको लकडाउनलाई व्यवस्थित गराउने क्रममा ट्राफिक प्रहरीले मानिससंगै सवारी नियन्त्रणमा लिँदै आएको छ । अत्यावश्यक बाहेकका सवारीलाई कार्वाही गरिएको हो । मानिसका हकमा तीन घण्टा जहाँ नियन्त्रणमा लिइयो त्यहीं रोकेर राख्ने गरिएको छ । ट्राफिक प्रहरीले गाडी अत्यावश्यक बाहेकमा कामका लागि चलाएको पाइए दिनभरि होल्ड गरेर बेलुकीमात्रै फिर्ता गर्ने गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

लकडाउनका कारण धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । उल्ल्ंघन बढ्दै गएपछि सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा लकडाउनलाई थप कडा रूपमा लागू गर्दै घरमै बस्न सरकारले पुनः अपिलसमेत गरेको छ । उच्च सतर्कता अपनाउँदै लकडाउनलाई कडाइँ गरिने सरकारका प्रवक्तासमेत रहेको मन्त्री डा खतिवडाले बताए । एक प्रदेशबाट अर्को प्रदेशमा, एक जिल्लाबाट अर्को जिल्लामा र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमन पनि गत आइतबारदेखि रोकिएको सरकारले बताएको छ ।

यस्तै, सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङमा र्या्पिड टेस्ट किट प्रयोग गरेर कोरोनाको परीक्षण पनि थालेको छ । र्या्पिड टेस्ट कीटको परीक्षणबाट रिपोर्ट पोजेटिभ देखिए पुनः पीसीआर टेस्ट गर्ने निर्णय भएको छ । गत शनिबार नै कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

त्यसमध्ये कैलालीमा संक्रमित महिला नेपालभित्रै संक्रमण भएकी पहिलो व्यक्ति हुन् । यसअघिका सबै जना संक्रमित विदेशबाट आएका थिए । यसले कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकाल्दै सरकारले मास स्केलमा परीक्षण सुरु गर्ने निर्णय गरेको हो । चैत २५ तेश्रो पटक थपिएको एक साताको लकडाउन आगामी बैशाख ३ गते सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL