Logo

लकडाउन एकसाता थप्ने मन्त्रिपरिषद्को निर्णय, बैशाख ३ सम्म जारी रहने

लकडाउन एकसाता थप्ने मन्त्रिपरिषद्को निर्णय, बैशाख ३ सम्म जारी रहने



काठमाडौं । विगत १४ दिनदेखि जारी लकडाउन थप एक साता लम्बिने भएको छ । केहीबेरअघि बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउनको अवधि बैशाख ३ सम्म थप्ने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना भाइरसको संक्रमणका कारण जारी रहेको लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने सिफासिरस गरेको थियो । सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समितिको बैठकले २५ गतेसम्म कायम राख्न प्रस्ताव गरे बमोजिम मन्त्रिपरिषद्ले थप एकसाता लम्ब्याएको थियो ।

गत बिहीबार बसेको समितिको बैठकले पारिवारिकरूपमा खेतीबालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिने गरी केही खुकुलो पार्ने निर्णय गरेको थियो ।

तर, सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा संक्रमण देखिएपछि सरकारले थप कडाइका साथ वैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गरेको बताइएको छ ।सरकारले अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय यसअघि नै गरिसकेकाले सोही अवधीसम्म लकडाउन कायम राख्ने सरकारले निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL